
मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ का १८ वर्षीय अमित यादवको शंकास्पद मृत्युबारे बुझ्न मर्चवार पुगेका मधेशी आयोगका प्रमुख आयुक्त डा. विजय दत्तले न्यायका लागि पहल गर्ने बताएका छन् ।
यादवको मृत्यु प्रति सम्बेदना ब्यक्त गर्दै प्रमुख आयुक्त डा. दत्तले सत्यतथ्य अनुशन्धानमा अनुशन्धान गर्ने निकायलाइ सघाउन आग्रह गर्दै अन्य प्रकृयाका लागि सहयोग गर्न आयोग तत्पर रहेको बताएका हुन् ।
यादव निवास देवनबक्सापुर पुगेका उनले पिडित परिवारका कुरा सुन्दै धेर्य धारण गर्न आग्रह गरे । उनले भने ‘१८ वर्षीय होनहारको अकल्पनीय मृत्युबाट हामी मर्माहित भएका छौ ।’ ‘मृतआत्मा प्रति हार्दिक श्रद्धान्जली छ,’ उनले भने ।
प्रमुख आयुक्त डा. दत्त, आयुक्त विजय गुप्त, मधेश मानव अधिकार गृह (माहुरी होम)का प्रतिनिधि र संचारकर्मी सम्मिलित टोलीले मृतका बुबा महेन्द्र यादव र घरपरिवार सित समेत कुराकानी गर्दै निश्पक्ष छानबिनको आश्वासन पनि दिएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित होटल सी प्रिन्सेस बाहिर भुइँमा लडेको अवस्थामा यादवको शव २०७९ जेठ २८ गते भेटिएको प्रहरीले बताएको छ भने पिडित परिवारले उनको मृत्यु कसरी भयो ? निष्पक्ष छानबिनको माग गरेका छन् ।
सुरक्षा कडा देखिने भैरहवाको होटलमा कसरी यस्तो घटना भयो ? घटना उजागर गर्न होटल व्यवस्थापन, सुरक्षा व्यवस्था र सीसीटिभी फुटेज र पोष्टमार्टम रिपोर्ट लगायतका विषयमा सत्यतथ्य पत्ता लगाउन आवश्यक रहेकोले उच्चस्तरिय छानबिन हुनुपर्ने पिडित परिवारको माग छ ।