भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरणका लागि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य बिमा सम्बन्धी प्रावधान, प्रक्रिया र दर्ताको वर्तमान अवस्थाबारे स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउने हेतुले उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, वडा अध्यक्षहरु बेल बहादुर बराल, सित्तल जिटी, प्रकाश सिंह थारु, अखिलेश्वर पाण्डे, मदन पोखरेल, कार्यपालिका सदस्यहरु र विभिन्न सरोकारवाला व्यक्तिहरुले वर्तमान स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको गुणस्तर सुधार गरी पालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन आफुहरु प्रतिवद्ध रहेको बताए । स्वास्थ्य बीमा नेपाल सरकारले ल्याएको नयाँ कार्यक्रम भएको हुँदा यसलाई सफल बनाउन गाउँपालिकाले आवश्यक पहल गर्ने उनीहरुको भनाई थियो ।

बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा ओमसतिया-४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य बीमा कार्यक्रमबाट राम प्रसाद ढकाल, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दिपक ज्ञवालीले गरेका थिए । ओमसतियामा हालसम्म ९ सय ७ परिवारका २ हजार ८ सय ८३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्राथमिकता दिन जोड :
ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचारका लागि पहिलो प्राथमिकतामा राख्न सरोकारवालाहरुले जोड दिएका छन् । आफ्नै पालिकामा रहेको स्रोत र साधनको सक्दो लाभ उठाउन सरोकारवालाहरुको भनाई थियो ।
२४ सै घण्टा सेवा प्रवाह हुने उक्त स्वास्थ्य केन्द्रको गुणस्तर बढाउन र आम नागरिकमा सचेतना फैलाउन सम्बन्धित निकायवालाहरुले सक्दो पहल गर्नुपर्ने स्वास्थ्य बिमा कार्यक्रम तथा सि.अ.हे.ब राम प्रसाद ढकालले बताए । उनले गाउँपालिकामा सञ्चालित एम्बुलेन्सलाई इमरजेन्सी सेवाका लागि उक्त स्वास्थ्य केन्द्रमा तैनाथ गर्न आवश्यक रहेको बताए ।