
भैरहवा । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीहरुको संख्या रुपन्देहीमा बढ्दै गएको छ । जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा २७ जना यो रोगको बिरामी रहेका छन् । जसमा महिला १८ र पुरुष ९ रहेका छन् । सबैभन्दा बढी तिलोत्तमामा पुरुष ४ र महिला ५ गरी ९ जना रहेका छन् । त्यसै गरी सियारीमा पुरुष १, महिला ३, शुद्धोधनमा पुरुष १, महिला ३, गैडहवामा पुरुष २, महिला २, बुटवलमा महिला ३, ओमसतियामा महिला पुरुष १/१ र सैनामैनामा १ महिला रहेका छन् ।
रुपन्देही सहित लुम्बिनी प्रदेशको ६ जिल्लामा यो रोगका विरामीहरुको संख्या बढ्दै गएको छ । बर्दियामा यो रोगको सबैभन्दा बढी बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । २ सय १९ जना महिला र १ सय ७५ पुरुष गरी ३ सय ९४ जना बिरामीहरु बर्दियामा मात्रै रहेका छन् । त्यस्तै बाँके जिल्ला यो रोगको धेरै बिरामीहरु रहेको आधारमा लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा पर्ने गर्दछ । बाँकेमा ६५ जना महिला र ५७ जना पुरुष गरी १ सय २२ जना यो रोगका बिरामीहरु रहेको तथ्याङ्कले देखाउँछ । त्यस्तै दाङमा १३ जना महिला १८ जना पुरुष सहित ३१ जना, कपिलवस्तुमा १ जना महिला र १ जना पुरुष गरि २ जना यो रोगका बिरामीहरु रहेका छन् ।
के हो सिकलसेल एनिमिया ?
झट्ट सुन्दा जो कोहीलाई पनि यो रोगबारे उति हेक्का नहुन सक्छ । सिकलसेल एनिमिया रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो । यो रोग बुबा आमाबाट बच्चामा सर्ने गर्दछ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरु गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जातिहरुमा बढी देखिने गरेको पाईन्छ ।
सिकलसेल रोगीको शरीरमा हँसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन । यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरुमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा खराबी हुन्छ र ती अंगको भित्री अंगहरुमा कडा खालको दुखाई हुन्छ । सामानयतया रातो रक्तकोषहरुको आयु १ सय २० दिन सम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरुको आयु १० देखि २० दिनसम्म हुने हुँदा बिरामीलाई रक्तअल्पता हुन्छ । यदि आमा र बुबा दुवैमा यो रोगको जीन भएमा वा दुई मध्ये एक जनामा भएता पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ । तर सर्ने तथा नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ । यस रोगको जीन भएका व्यक्तिहरुमा लक्षणहरु देखा पर्छ भन्ने छैन र उनीहरुले सामान्य जीवन बिताउन सक्दछन् ।
सिकलसेलका लक्षणहरु :
सिकलसेल एनिमिया भएका बिरामीहरुमा विभिन्न लक्षणहरु देखापर्ने गर्दछन् । सामान्यतया छिटो छिटो थकाई लाग्ने, सास फेर्न गाह्रो हुने, सहनै नसकिने गरी छाती दुख्ने, छाती, पेट, हात, खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने, कमलपित्त (ज्याण्डिस) हुने जस्ता लक्षणहरु देखा पर्दछन् । त्यस्तै आँखामा समस्याहरु देखिने, अन्धोपना हुन सक्ने, पक्षघात हुने सक्ने, संक्रमणहरु भइरहने, ज्वरो आउने, वाकवाक लाग्ने, वान्ता हुने, खोकी लाग्ने समेत हुन्छ ।
सिकलसेल पत्ता लगाउने परीक्षणहरु :
सिकलसेल रोगको परीक्षण सामान्य देखि विशेष खालको हुने गर्दछ । सामान्य परीक्षणमा नजिकैको प्रयोगशालामा गई रगत परीक्षण गराएमा पनि सिकलसेल रोग भए नभएको पत्ता लगाउन सकिन्छ भने विशेष किसिमको परीक्षण नेपालका ठूला प्रयोगशालाहरुमा हुने गरेको छ । अहिले यो रोगको विशेष परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भेरि अस्पताल बाँके, सेती अस्पताल धनगढीमा हुने गरेको छ । त्यस्तै रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका साथसाथै भैरहवा स्थित भिम अस्पतालमा समेत यो रोगको विशेष परीक्षण गराउन सकिने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
सिकलसेलको उपचार :
यो रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्यकर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु हो । नेपालका ठूला प्रयोगशाला तथा अस्पतालमा हुने गरेको यो रोगको परीक्षण बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा हुँदै आएको छ । यो सँगै भैरहवा स्थित भिम अस्पतालमा उपकरण ल्याई परीक्षण शुरु गरिएपछि केही सहजता हुने स्वास्थ्य कार्यालयले जनाएको छ । यो रोगको उपचार प्रादेशिक अस्पताल बुटवल र भिम अस्पताल भैरहवामा निःशुल्क गरिने छ ।
सिकलसेलको जटिलताबाट बच्ने उपाय :
रुपन्देही सहित पश्चिम तराईका जिल्लाहरुमा सिकलसेल एनिमिया देखिए पनि यसको उपचारमा भने कठिनाइ छ । यहाँका सबै अस्पतालमा उपचारको व्यवस्था छैन । सरकारले सिकलसेलका बिरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार निःशुल्क गर्ने घोषणा गरेतापनि उपचार प्रक्रिया झन्झटिलो भएकाले बिरामीहरु सेवाबाट वञ्चित हुँदै आएका छन् । सिकलसेल रोगको जटिलताबाट बच्न कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरु लगाउने गर्नुपर्दछ । त्यस्तै आँखाको नियमित परीक्षण गराउने, रक्तअल्पताको उपचार गराउने, स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधीहरु ीनयमित रुपमा सेवन गर्ने, पानी प्रशस्त मात्रामा पिउने, धेरै तनाव नलिने र मदिरापान, धुम्रपान, सुर्तीजन्य पदार्थहरु सेवन गर्नु हुँदैन ।
सिकलसेलको रोकथाम :
यो रोगको रोकथामका लागि सर्वप्रथम यसको अवस्थाबारे थाहा पाउन रगत परीक्षण गराउनु पर्दछ । रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिनुपर्दछ । यदि रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिहालेमा नाता पर्ने सबैले अनिवार्य रुपमा जाँच गराउनु पर्दछ । साथै तुरुन्त तालिम प्राप्त स्वास्थ्यकर्मीबाट उपचार गराउनु पर्दछ ।