
फाइल तस्बिर
भैरहवा । रुपन्देहीका ईट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । ईट्टाको माग घट्नुका साथै ईट्टा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण ईट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।
गत वर्ष २५ हजार मेट्रिक टनमा खरिद गरिने कोइलाको लागत एकाएक ४५ हजार मेट्रिक टन पुगेपछि र महंगो लागतमा ईट्टा उत्पादन गरी सोचेअनुसार उत्पादित ईट्टाको माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा ईट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव अजय कुमार गुप्ताले बताए । उनले प्राकृतिक प्रकोप, बेमौसमी वर्षात्, साथै भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावले ईट्टा उद्योगलाई प्रभाव पारेको बताए । उनले भने, ‘ईट्टा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली ईट्टा व्यवसायीहरुले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक सिजनमा ईट्टा उद्योगहरु बन्द गर्ने मनसायमा ईट्टा उद्योगीहरु पुगेका छन् ।’
रुपन्देही जिल्लामा करिब ४८ ईट्टा उद्योगहरु दर्ता भई वैधानिक रुपमा सञ्चालित छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नुका साथै सोचेअनुसार ईट्टाको माग नहुँदा सञ्चालित ईट्टा उद्योगहरु समेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताले बताए । त्यस्तै लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देही कार्यसमिति सदस्य दिपक पौडेलले ईट्टा व्यवसायीहरुको विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए । उनले कोइला आयतमा नेपाल सरकारले सहजीकरण गर्नुका साथै सरकारी निर्माण कार्यमा जिल्लामा उत्पादित ईट्टाको माग बढाउनुपर्ने बताए ।
रुपन्देहीमा उत्पादित ईट्टा पाल्पा, स्याङ्जा, कास्की, काठमाडौं, अर्घाखाँची, रोल्पा लगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ ।
छिमेकी राष्ट्र भारतमा पनि ईट्टा व्यवसायीहरुले ईट्टा उत्पादन लागत थेग्न नसकेर एक लाख ईट्टा उद्योगहरु बन्द गर्ने अखिल भारतीय ईट्टा एवं टायल व्यवसायी महासंघले घोषणा गरेको छ । जसको प्रभाव नेपालमा समेत पर्ने देखिन्छ ।