
जितेन्द्र थारु
भैरहवा, २६ असार । बढ्दो सवारी चाप र तीव्र गतिका कारण रुपन्देहीमा वर्षेनी सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक सचेतनाका लागि निरन्तर अभियानहरु सञ्चालन हुँदै आएतापनि जिल्लामा सवारी दुर्घटना वर्षेनी बढ्दै गएको छ । दुर्घटना न्युनीकरण गर्नका लागि सवारी चेकजाँचमा कडाई र कारवाहीको प्रक्रिया अघि बढाएपनि दुर्घटना घट्नुको साटो वर्षेनी रुपमा झन् बढ्दै गइरहेको देखाउँछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष ०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लामा १ सय ५९ सवारी दुर्घटना हुँदा ८५ को मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन् भने ५६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । गत आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनाको संख्यामा केही कमी आएतापनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढी देखिन्छ ।
गत आर्थिक वर्ष ०७७/०७८ मा २ सय ४३ दुर्घटनामा ८२ को मृत्यु भएको थियो । त्यसअघि अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा १ सय ९४ दुर्घटना हुँदा ८० जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीका अनुसार अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा ४९ दुर्घटना बढेका छन् । मृतकको संख्या पनि २ ले बढेको छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्याङ्क हेर्ने हो भने सवारी दुर्घटनामा केही कमी आएपनि दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढी छ ।
पछिल्लो समय बढ्दो सवारी साधनको चाप, तीव्र गति, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लङ्घन र मादक पदार्थ खाएर सवारी चलाउनले सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा चालककै बढी गल्ती :
ट्राफिक प्रहरी कार्यालयले गरेको अनुसन्धान अनुसार जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्ती रहेको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, ओभरलोड र सडक चौपाया आदि कारणले सवारी दुर्घटना भइरहेको छ । यसरी चालकको लापरवाही लगायतका अन्य थुप्रै कारणले सवारी दुर्घटना हुँदा वर्षेनी धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।
६ करोड ४७ लाख ९३ हजार राजस्व संकलन :
ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को जेष्ठ महिनासम्म ६ करोड ४७ लाख ९३ हजार राजस्व संकलन गरेको छ । ट्राफिक नियम विपरीत चलेका कुल ६१ हजार ४ सय ५० सवारी साधनलाई कारवाही गर्दा सो राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी ५२ हजार ३ सय ७ ट्रक कारवाहीमा पर्दा ५ करोड ८२ लाख ३५ हजार राजस्व संकलन भएको छ ।
त्यसैगरी दोस्रो नम्बरमा बढी कारवाहीमा पर्ने सवारीमा मोटरसाइकल रहेको छ । कुल २ हजार ९ सय ७५ मोटरसाइकल कारवाहीमा पर्दा २० लाख १० हजार ५ सय राजस्व संकलन भएको छ । त्यस्तै २ हजार ९ सय ६४ जिप, कार, भ्यान कारवाहीमा पर्दा २१ लाख ३७ हजार, १ हजार ४ सय ५९ बस कारवाहीमा पर्दा १० लाख ७ हजार, ८ सय ७९ ट्रेक्टर कारवाहीमा पर्दा ६ लाख ५७ हजार र त्यस्तै ८ सय ५३ अन्य सवारी कारवाहीमा पर्दा ५ लाख ९३ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।