logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    हेर्दा हेर्दै फोहोरी बन्यो धकधई बजार


    २६ असार २०७९ , आइतबार

    हेर्दा हेर्दै फोहोरी बन्यो धकधई बजार

    पशुपति यादव
    धकधई, २६ असार । धकधई भैरहवादेखि करिब ८ किलोमिटर पूर्वमा रहेको बजार हो । पछिल्लो समय धकधई अत्यन्त व्यस्त बजारको रुपमा स्थापित भएको छ । धकधई पहिला कस्तो थियो धेरैलाई थाहा छैन । पहिला जे जस्तो भएपनि अहिले धकधईको परिचय फेरिएको छ । अहिले चारैतिर सडक सञ्जाल बनेका छन् । यो क्षेत्र रुपन्देही जिल्लाको एक महत्वपूणर् व्यापारीक केन्द्रको रुपमा विकास भइरहेको छ ।

    धकधई सहर सहरको रुपमा विकास हुनेबेला यहाँका बासीहरु सहरलाई कसरी हुन्छ सुन्दर, सफासुग्घर बनाऔं भन्ने सकारात्मक सोचमा देखिन्थे । त्यतिबेला धकधई सफा थियो, सुग्घर थियो र शान्त पनि । तर पछिल्लो समय यहाँ मानिस र सवारी साधनहरुको अत्याधिक चाप बढ्दै गएपछि यो सहर फोहोरी बन्दै गएको छ । धकधईलाई सुन्दर बनाउने सपना रहेको अधिकांश मानिसहरुको सपना सपनामै सिमित भएको छ ।

    सहरभरि रुख विरुवा रोपेर हरियाली होस् । बाटोघाटो सफासुग्घर होस् । चोकमा सुन्दर पार्क होस् । धकधई बासीहरुको सपना थियो तर यो सपना पूरा हुने कुनै छाँटकाँट देखिएको छैन । धकधई बजारको हरेक घरछेउमा फोहोरको डङ्गुर थुप्रिएको छ । कयौं दिनदेखि सडकको फोहोर उठ्न सकेको छैन । जताततै फोहोरका डङ्गुर थुप्रिएको छ । कयौं दिनदेखि अव्यवस्थित रुपमा थुप्रिएका फोहोरबाट दुर्गन्ध निस्किन सुरु भएको छ । सडकपेटी भएर हिड्ने पैदलयात्रीहरु नाक थुनेर हिड्न बाँध्य भएका छन् ।

    अधिकांश पसलहरु अगाडि थुप्रिएको फोहोरका डङ्गुरले धकधई ग्रीन सिटीको अवधारणालाई गिज्याइरहेको छ । पसलहरुका अगाडि छरपस्ट रहेका फोहोरहरु हप्ताँैदेखि बाटोमै छन् तर उक्त विषयमा न त स्थानीय सरकारको ध्यान जान सकेको छ न त व्यापारीहरुको । बजार दिनप्रतिदिन दुर्गन्धित बन्दै गइरहेको एक जना व्यापारीले बताए । उनले सरसफाईमा स्थानीय सरकार र यहाँका व्यापारीहरुले चासो नदिँदा धकधई दुर्गन्धित सहरको रुपमा परिणत हुँदै गइरहेको बताए ।

    धकधई क्षेत्र पछिल्लो समय जिल्लाकै एक महत्वपूणर् व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएकोले यहाँ विभिन्न जिल्लाका मानिसहरुको आवगमन हुने गर्दछ । सहरको रुपमा परिणत हुने बेला धकधई सुन्दर र चिटिक्क थियो तर पछिल्लो समयमा यो सहर दुर्गन्धित बन्दै गएको ओमसतिया निवासी चन्द्रप्रकाश यादवले बताए । उनले धकधईलाई सुन्दर र सफा बनाउन सबैले महत्वपूणर् भूमिका खेल्नुपर्ने बताए ।

    हाम्रो रोहिणी, राम्रो रोहिणीको परिकल्पना गरेका नवनिर्वाचित रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव यो विषयप्रति गम्भीर देखिन्छन् । हालसम्म धकधई क्षेत्रको सडक मर्मत् संभार देखि लिएर सरसफाई सम्मका हरेक काम सडक विभागले गर्दै आएको थियो तर पछिल्लो समय सडक विभागले सरसफाईको कामलाई सुस्त बनाएको अध्यक्ष यादवले बताए । उनले अबको दिनमा सरसफाईको जिम्मा गाउँपालिकाले स्वयं लिई सरसफाईको कामलाई निरन्तरता दिने बताए । सरसफाईकै लागि आ. व. ०७९/०८० मा ट्याक्टर खरिदका लागि समेत बजेट विनियोजन गरिएको र फोहोर व्यवस्थापनका लागि डम्पिङको बारेमा समेत आवश्यक छलफल भइरहेको अध्यक्ष यादवले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.