logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बालिका शिक्षा ओमसतियाको प्राथामिकतामा


    ७ साउन २०७९ , शनिबार

    बालिका शिक्षा ओमसतियाको प्राथामिकतामा

    छात्राका लागि सेनेटरी प्याड नि:शुल्क
    रुबिना थापा मगर
    भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले बालिका शिक्षालाई पहिलो प्राथामिकतामा राखेर बजेट निर्माण गरेको जनाएको छ । गाउँपालिकाले बालिकाहरुलाई पोशाक, झोला, किताब, खाजालाई नि:शुल्क गरेको छ । सरकारी विद्यालयमा अध्ययन गर्ने सबै छात्राहरुलाई कक्षा १२ सम्मको पढाइलाई नि:शुल्क गरेको गाउँपालिको सूचना शाखाले जनाएको छ । गाउँपालिकाले पालिकाभित्र अध्ययन गर्ने विद्यार्थीहरुलाई २४ लाख मूल्यको ३०८ थान साईकल समेत वितरण गरेको पालिकाका अध्यक्ष मञ्जित कुमार यादवले जानकारी दिए । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट विजियोजित गरेको गाउँपालिकाले छात्राहरुका लागि सेनेटरी प्याड समेत नि:शुल्क वितरण गर्ने भएको हो । आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथामिकतामा राखिएको छ । सरकारी विद्यालयलाई व्यावहारिक तथा गुणस्तरीय र नि:शुल्क शिक्षा प्रदान गर्ने पालिकाको लक्ष्य छ । अध्यक्ष यादवले भने, “समाज परिवर्तनका लागि शिक्षा महत्वपूर्ण रहेकाले पहिलो प्राथमिकता शिक्षा भएको हो ।”

    पालिका भित्रका स्वास्थ्य चौकीहरुमा बिरामीहरुका लागि स्वास्थ्य उपचारमा विशेष व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । ग्रामीण क्षेत्रका मानिसहरुका लागि स्वास्थ्यमा विशेष चासो राख्न स्वास्थ्य कर्मीहरुलाई परिचालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जनाए । शिक्षा, स्वास्थ्य र कृषि ओमसतियाको प्राथामिकतामा परेको छ । सडक तथा पूर्वाधार विकासमा समेत गाउँपालिकाले बजेट विनियोजित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गौतमले भने, “विपन्न, गरिब र दलित वर्गका उत्थानका लागि समेत पालिकाले बजेट छुट्टाएको छ । जिल्लाको मध्य भागमा पर्ने ओमसतिया गाउँपालिका शहर उन्मुख पालिका हो । यहाँको मुख्य व्यवसायी कृषि भएकाले पनि बजेटले शिक्षा पछि कृषिलाई जोड दिएको छ । युवा स्वरोजगार तथा महिला लक्षित कार्यक्रमहरु बजेटमा आएको पालिकाका सूचना अधिकारी हरि प्रसाद पोखरेले बताए । उनले भने, महिलाहरुको आय आर्जनका लागि चुरा पोते बनाउने लगायतका विभिन्न तालिमहरुको व्यवस्था गरिएको छ । जसले उनीहरुलाई स्वरोजगार बनाउनका लागि सहयोग पुराउने छ । युवाहरुको नेतृत्व विकास र स्वरोजगारमुखी कार्यक्रमहरुमा समेत बजेट रहेको देखिन्छ । गाउँपालिकाले कृषि योग्य जमिनको पहिचान, संरक्षण र चक्लावन्दी गरी नमुना कृषि व्यवसायी खेतीको रुपमा “एक वडा एक उत्पादन” मा जोड दिएको छ । “एक वडा एक उत्पादन” लाई विशेष अनुदान र प्रोत्साहन समेत गर्ने गाउँपालिकोको नीति तथा कार्यक्रममा देखिन्छ । “ओमसतिया गाउँपालिका फलफूलको बगैँचा” भन्ने नारालाई सार्थकता बनाउनका लागि पालिकाले एक घर एक फलफूल रोपण कार्यक्रम अगाडि सारेको सूचना अधिकारी पोखरेले जानकारी दिए । गाउँपालिकाले जेष्ठ नागरिक घरभेट तथा स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रभावकारिताका साथ लागु गर्ने जनाएको छ । बसन्तपुर प्राथमिक स्वास्थ्य चौकीलाई २४ औ घण्टा इर्मेजन्सी स्वस्थ्य सेवा प्रदान गर्न बजेटमा व्यवस्था गरिएको देखिन्छ । गाउँपालिका भित्र १५ बेडको अस्पताल निर्माणका लागि पहल भएको छ । गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि स्थानीय जनता तथा राजनीतिक दल, सामाजिक र बौद्धिक जगतसँग हातेमालो गरेर अगाडि बढ्ने नीति तथा कार्यक्रम र बजेट ल्याएको देखिन्छ । गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पालिकाभित्र रहेका मठमन्दिर र सांस्कृतिक सम्पदाको सौन्दर्यकरण गर्ने जनाएको छ । खेलकुद क्षेत्रलाई अगाडि बढाउन समेत पालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । स्वरोजगारमुखी कार्यक्रम तथा युवारोजगारका लागि औद्योगीकरण लागि सहजीकरण र प्रोत्साहन गर्ने पालिकाको नीति देखिन्छ । महिला हिंसा, घरेलु हिंसा, बाल विवाह, बहुविवाह, दाईजो प्रथा जस्ता कुप्रथाहरुको अन्त्यका लागि सामाजिक परिचालकहरु परिचालन गर्ने गाउँपालिकाले जनाएको छ । दलित, एकल महिला, पिछडिएका समुदाय, जेष्ठ नागरिक, शारीरिक एवम् मानसिक रुपमा अक्षम मानिसहरुको लागि गाउँपालिका लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । मधेसी, मुस्लिम, थारु, आदिवासी जनजातिहरुको कला संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने पालिकाको लक्ष्य देखिन्छ ।

    नि:शुल्क एम्बुलेन्स
    ओमसतिया गाउँपालिकाले स्थानीयहरुलाई लक्षित गरेर गाउँपालिकाको कोषबाट एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । गरिब र विपन्न वर्गका लागि एम्बुलेन्स सेवा नि:शुल्क हुने गाउँपालिका अध्यक्ष यादवले बताएका छन् ।
    पालिकाभित्र आपत्कालीन अवस्थामा बिरामीलाई अस्पतालसम्म लैजानका लागि एम्बुलेन्स २४ घण्टा तयारी अवस्था रहने गाउँपालिकाले जनाएको छ । स्यास्थ्यकर्मीहरुलाई समय सापेक्ष तालिम तथा प्रोत्साहन कार्यक्रम गरिने छ । स्वास्थ्य स्वमंसेविकाहरुलाई उच्च मनोबलमा काम गर्ने वातावरण बनाइने छ । अध्यक्ष यादवले भने, “स्वास्थ्यकर्मीहरुलाई पालिकाको तर्फबाट गरिने सेवा सुविधामा वृद्धि गरिने छ । पालिकाभित्र सञ्चालनमा रहेका औषधी पसलहरुको अनुगमन तथा निर्देशन समेत गाउँपालिकाले गर्ने भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.