logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    स्थानीय सरकार माथि जनताको भरोसा


    २२ भाद्र २०७९ , बुधबार

    स्थानीय सरकार माथि जनताको भरोसा

    दिब्या क्षेत्री
    भदौं, भैरहवा । मुलुक संघीयतामा प्रवेश गरेपछि देशमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जनताका सुखदु:खका सरकार भनेकै स्थानीय सरकार भएकाले यसले विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । जनप्रतिनिधिहरुको आगमन सँगै जनताको अपेक्षा पनि बढ्दो छ । जनप्रतिनिधिहरू भनेको जनताको सबैभन्दा नजिकका सेवक हुन् । त्यसकारण उनीहरूप्रति जनताको अपेक्षा पनि बढी नै हुन्छ । चुनावमा होमिने बेला जनप्रतिनिधिका प्रत्यासीहरुले थुप्रै प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धतामा आधारित भइ विश्वासका साथ जनताले मतदान गरी जनप्रतिनिधि छनोट गरेका हुन् ।
    स्थानीय तहका जनप्रतिनिधिको पहिलो चरणको कार्यकाल सकिएर देश अर्को चरणमा प्रवेश गरेको छ । सबै ठाउँमा जनप्रतिनिधि आएर धमाधम कार्य प्रारम्भ गरिसकेका पनि छन् । जनप्रतिनिधिले हिजो जनताका माझमा व्यक्त गरेका घोषणापत्रलाई मात्रै राम्ररी अध्ययन गरेर त्यसको कार्यान्वयनको थालनी गर्नुपर्छ । हिजो जनतासँग गरिएका वाचा र प्रतिबद्धतालाई बिर्सने हो भने त्यस्ता जनप्रनिधिको कुनै काम हुने छैन । उनीहरूले राम्रो र प्रभावकारी काम गरेर आफ्नो राजनीतिक भविष्यलाई उज्ज्वल बनाउन सक्नुपर्छ । आफ्नो गाउँठाउँको बाटो घाटो, स्वास्थ्य, शिक्षा, खानेपानीको अवस्था लगायतमा सुधार हुन सक्यो भने आफंैलाई पनि सन्तुष्टि मिल्छ । जनप्रतिनिधिले यी क्षेत्रमा सुधार गर्नै चाहने हो भने धेरै प्रगति हुन सक्छ ।
    २०६२/०६३ को राजनीतिक परिवर्तनपछि २०७२ सालमा नयाँ संविधान जारी भइसकेपछि संविधानले तीन तहको सरकारको व्यवस्था गर्‍यो । संघीय, प्रदेश र स्थानीय सरकार ।
    ०६२/६३ को जनआन्दोलनको उदेश्यमध्ये एउटा उदेश्य थियो, केन्द्रको शक्ति विकेन्द्रित गर्ने र हरेक काममा स्थानीयले केन्द्रको मुख ताक्नु नपर्ने । ०७२ मा संविधान जारी भएपछि तीनै तहको निर्वाचन भयो । स्थानीय तहको निर्वाचन मार्फत सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नारा लगाइयो । केन्द्रको आधारमा स्थानीय तहको पुनर्संरचना भयो । स्थानीय तहहरूलाई गाउँपालिका र नगरपालिका नाम दिइयो । अहिले सात सय ५३ स्थानीय तहहरू रहेका छन् ।

    रुपन्देहीका केही पालिकाहरुको स्थानीय सेवाको झलक

    “विद्यालयको शैक्षिक र भौतिक सुधार: बालबालिका विद्यालय प्रवेशको पहिलो आधार” भन्ने नाराका साथ रोहिणी गाउँपालिका समग्र शिक्षा प्रणालीको सुधारमा लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र लगनशीलताका साथ अघि बढेको छ । यसका लागि आवश्यक शैक्षिक क्षेत्रमा सुशासन, सामुदायिक विद्यालय सवलीकरण, भौतिक पूर्वाधार निर्माण, समुदायको अपनत्व, नियमित अनुगमन लगायतका शैक्षिक सुधारका कार्यक्रमहरु शिक्षा प्रणालीका स्थापित मान्यताका आधारमा सञ्चालन हुँदै आएको छ । यस गाउँपालिकामा १५ वटा सामुदायिक विद्यालय, ११ वटा निजि विद्यालय र १३ वटा धार्मिक विद्यालय ९मदरसा० गरी कुल ३९ वटा विद्यालयहरु छन् ।
    शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर रोहिणी गाँउपालिका अध्यक्ष विद्या प्रसाद यादवले श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयमा १२ कोठेको नयाँ प्राथमिक भवन, पोखरभिण्डी माध्यमिक विद्यालयमा २ कोठेको भवन र छिपागड माध्यमिक विद्यालयमा ४ कोठेको विज्ञान प्रयोगशाला भवनको शिलान्यास गरेका हुन् । श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि १ करोड ७० लाख, श्री पोखरभिण्डी माध्यमिक विद्यालयका लागि २५ लाख र छिपागड माध्यमिक विद्यालयका लागि ३० लाख बजेट बिनियोजन भएको हो ।
    गाउँपालिका आफ्नै प्रशासकीय भवनविहीन रहेको हुदाँ सेवा प्रवाहमा समेत समस्या भएको कारण अहिले गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना रहेको छ । आफ्नै प्रशासकीय भवन नहुँदा हाल सम्म पनि घर भाडामा लिएर कार्यसम्पादन गर्दै आएका छन् । ३ कठ्ठा जग्गामा प्रशासकीय भवन निर्माण गरिने रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए । रोहिणी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका लागि विभिन्न योजनाबद्ध काम गर्ने उनले भने ।
    “पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभुमि सिद्धार्थनगरको इच्छा” यो नारा
    सिद्धार्थनगरको हो । सिद्धार्थनगरलाई पर्यटकीयद्वार, औद्योगिक व्यापारिक हबको रुपमा लिने गरिन्छ । तेस्रो मुलुकसँग हवाई र स्थलमार्गको सिधा कनेक्टीभिटी रहेको सिद्धार्थनगरमा दैनिक हवाई मार्ग हुदै हाल जजिरा एअरलायन्स मार्फत दैनिक डेढ सयको हाराहारी स्वदेशी विदेशी आईरहेका छन् । यसैगरी बेलहिया नाका हुदैं दैनिक हजारौ पर्यटक भित्रीने गर्दछन् ।
    यतिबेला सिद्धार्थनगर नगरपालिकाको मुख्य समस्या नै फोहोरमैला व्यवस्थापन हो । नगरपालिकाको बिगतको नेतृत्वले आफ्नो कार्यकालमा फोहर व्यवस्थापनको दीगो समाधान गर्न असफल भयो । सडक टोल–टोलमा पक्की भएका छन् । सिद्धार्थनगरका सडक पहिलेभन्दा फराकिला भएका छन् । सडक निर्माणमा राम्रो काम गरेको नगरपालिका फोहर व्यवस्थापनमा भने चुक्यो । त्यतिबेला फोहोरमैला व्यवस्थापनकोलागि पट्खौलिमा नगरपालिकाको नाममा जग्गा समेत किनियो, ३२ करोड रकम समेत विनियोजन भयो तर त्यहाँ फोहोरमैला प्रशोधन केन्द्र बनाउन विगतको स्थानिय सरकार असमर्थ भयो । राजनीतिक करण भयो, जसले योजना फेलर बनायो ।
    हाल नगरपालिकाले डण्डा नदीको किनार, झन्डी बजार छेउमा फोहोर फाल्दै आएको छ । बिगतमा नगरपालिकाले डम्पिङ साइटको लागि समयमै योजना बनाउन नसक्दा नगरबाट संकलन गरिएको फोहोर नेपाल भारत सीमाना समेत रहेको नदीको किनारामा फाल्नु परेको हो । पानीको स्रोत र बस्तीको नजिकै नगरभरिको फोहोर थुपार्ने गर्दा बस्ती र वातावरण प्रदूषण बनेको छ । त्यहाँका स्थानियहरुले विगतमा आन्दोलन नै गरेका थिए । जहाँ फोहोर फालिदै आएकोछ , त्यसको पश्चिम पट्टी बजार छ, उत्तर पुर्वमा सशस्त्र प्रहरी बलको क्याम्प छ भने दक्षिण तिर दसगजा पर्दछ ।
    नगरपलिकाले डण्डा नदी किनारमा फोहोर फाल्दै आएकोमा त्यस क्षेत्रका स्थानीयले विरोध जनाउँदै आएका छन् । मानिसहरूको मृत्युपछि दाहसंस्कारको लागि घाट निर्माण गरिएको डण्डा नदी किनारमा अव्यवस्थित रूपमा फोहोर फाल्दा नदी नै प्रदूषित बनेको भन्दै स्थानीयले अन्यत्र व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् । स्थानीयले दुई तीन वर्ष पहिलेदेखि नै फोहोर फाल्न अवरोध जनाएपछि सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन समाधानसहित फोहोरको उचित व्यवस्थापन गर्न पहल गर्ने भनेर सम्झौता गरेको थियो । तर हालसम्म पनि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन ।
    यतिबेला भर्खरै नर्वाचित जनप्रतिनिधिहरुलाई पनि फोहोर व्यवस्थापन चुनौतीको कुरा बनेको छ । फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर अहिले त्यसको समाधान प्रति नगरपालिका जुटेको छ । सिद्धार्थनगर नगरपालिकाको मुख्य समस्या नै फोहोरमैला व्यवस्थापन रहेको हुँदा त्यसको समधान तर्फ नगरपालिकाको विशेष प्राथमिकता रहने नगर उप–प्रमुख उमा अधिकारीले बताइन् ।
    “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, सियारीको मूल आधार” यो सियारी गाउँपालिकाको मुल नारा हो । सोही नारालाई आत्मसाथ गर्दै यस गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यविधि निर्माण गरेको छ ।
    सियारी गाउँपालिकाले किसानलाई दुधमा प्रतिलिटर २ रुपियाँ ५० पैसाको अनुदान दिने भएको छ । रुपन्देहीको सियारी गाउँपालिले पालिकाभित्र दुग्ध उत्पादन गर्ने किसान, डेरी सञ्चालकसँग अन्तरक्रिया गरी सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफू किसान भएकाले किसानका समस्याको महसुस हुने बताउँदै किसानसँग अन्तरक्रिया गरेको बताए । किसानहरूले दुग्धपदार्थको उत्पादन गर्ने मात्राको पहिचान सँगै समस्या चुनौतीको विषयमा छलफल भएको थियो । गाउँपालिकाले दुध उत्पादनमा हरेक किसानलाई प्रतिलिटर २ रुपियाँ ५० पैसाको दरले अनुदान दिने घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफू किसान भएकाले किसानका हरेक समस्याको समाधान गर्नतर्फ लागेको बताए ।
    त्यस्तै कुनै समय सवारी साधनकै बिषयलाई लिएर बिवादमा आएको रुपन्देहीको मर्चवारी गाउँपालिकाले नयाँ जनप्रतिनिधी आएसँगै जनप्रतिनिधीले लिने गरेको सवारी साधन, इन्धन र यातायात खर्च कटौती गरेर गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्न शुरु गरेको छ । गाउँपालिकाले हरेक बिरामी व्यक्ति र गर्भवतीको लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नु कुनै नौलो विषय होइन तर जनप्रतिनिधिले आफुले पाउनु पर्ने सेवा सुविधा लाइ त्यागेर जनताको सेवामा लागेको कुरा नौलो हो ।
    मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बराइले आफुले पाएको सरकारी गाडी प्रयोग गर्नुको साटो त्यसमा खर्च हुने रकम कसैको ज्यान बचाउनका निम्ति प्रयोग गरे आफुलाइ सन्तुष्टी मिल्ने बताउँछन् । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका विरामी, अपाङ्ग र गर्भवती महिलाको लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको थियो । भौगोलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि भैरहवा नै जानुपर्ने बाध्यता रही आएको थियो । त्यही जनताकै दुखलाई मध्यनजर गर्दै गाउँपालिकामा रहेको भाडाको गाडी फीर्ता गरी त्यसमा हुने खर्चले एम्बुलेन्सको खर्च धानेको अध्यक्ष बराइले बताए । उनी भन्छन्, “गाउँपालिकामा रहेको भाडाको गाडी जस्को माषिक भाडा मात्र ८० हजार रहेको र ४० हजार इन्धन र अन्य खर्च गरी कुल १ लाख २० हजार भाडाकै गाडीमा खर्च हुने गथ्र्यो ।”
    “सुखी गैडहवा, खुसी गैडहवा” यो गैडहवा गाउँपालिकाको मुल नारा हो । सोही नारालाई मध्यनजर गरेरै यस गाउँपालिकाले आफ्नो गाउँबासी र गाउँठाउँको सुरक्षाका निम्ति मुख्य चोकहरुमा अत्याधुनिक घुम्नसक्ने ‘पिटिजेड’ सिसिटिभी क्यामेरा जडान गरेको छ । बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा दुर्घटनाको अनुगमन गर्न सहज हुने हिसाबले सिसिटिभी जडान गरिएको हो ।
    ९ लाख ९४ हजार को लगानीमा सुर्यपुरा बजार, मंगलपुर सडक, लोन्डिया सडक मेनचोक र गुलरिया चोकमा सिसिटिभी क्यामेरा जडान गरिएको र उक्त सिसिटिभी क्यामेराले अटोमेटिक सिस्टमबाट डिटेक्टिभ गर्ने र शंकास्पद गतिविधि भएमा अटोमेटिक नोटिस गर्ने गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार गैडहवा गाउँपालिकाभित्र चोरीलगायत अपराधिक गतिविधि बढेकोले यसलाई मध्यनजर राख्दै सिसिटिभी क्यामेरा जडान गरिएको हो । सिसिटिभी क्यामेरा द्वारा सम्पूर्ण गतिविधिको निगरानी सुर्यपुरा इलाका प्रहरी कार्यालयको सञ्चार सेटमा हुने हुँदा इलाका प्रहरीले २४ सै घण्टा निगरानी गर्ने भएकाले बजार क्षेत्रका सम्पुर्ण गतिविधिहरु हेरिने र आपराधिक घटनामा कमी आउने उनको विश्वास छ ।
    विभिन्न तहका स्थानीय सरकारले गरेका कार्यहरु हाल सम्म सन्तोषजनक नै देखिन्छन् । अहिलेका जनप्रतिनिधिले विगतका जनप्रतिनिधिले गरेका राम्रा तथा नराम्रा कामको विश्लेषण गरी राम्रा कार्यलाई निरन्तरता दिनुपर्छ र नराम्रा कार्यलाई दोहोरिन दिनुहँुदैन । गत ५ वर्षको अवधिमा तत्कालीन जनप्रतितिधिले कति स्रोतको परिचालन गरे ? सेवासुविधा कुन रूपमा दिए ? सेवा प्रवाह प्रभावकारी भयो कि भएन ? त्यसका राम्रा पक्ष के थिए र नराम्रा पक्ष के थिए ? ती सबैको गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्छ ।
    हालैको स्थानीय तहको निर्वाचनले के सन्देश दिएको छ भने विगतमा खराब काम गरेका तर फेरि पनि पालिका प्रमुखमा उम्मेदवार भएका अधिकांशलाई जनताले हराइदिएका छन् । त्यसैले पाँच वर्षपछि फेरि जनप्रतिनिधिकै रूपमा उठेर चुनाव जित्ने हो भने अहिलेदेखि नै जनताको मन मनमा रहने गरी जनप्रिय काम गर्न सक्नुपर्छ । जनताहरू निकै बाठा भइसकेका छन् । जनतालाई झुक्याउन वा छल्न अब कसैले पनि सक्दैन । त्यसैले हरेक काम गर्नुभन्दा अघि त्यो कामले आफ्नो पालिकाका जनतालाई के कति फाइदा पुर्‍याउँछ वा जनता खुसी हुन्छन् कि हँुदैनन् भन्ने कुराको विश्लेषण गरी सोहीअनुसार काम गर्नुपर्छ । जनता खुसी हुनेगरी काम गर्ने जनप्रतिनिधि मात्रै सफल हुन सक्छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.