पर्यटकिय गन्तव्यका लागि गुरुयोजना निर्माण गरिने
अञ्जना चौहान⁄लुम्बिनीखवर
लुम्बिनी । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिकाले आफ्नो विकास र समृद्धिको यात्रालाई व्यवस्थित रुपमा अगाडि बढाउन शुरु गरेको छ । नेपालको संविधान २०७२ को मर्म अनुसार शुरु भएको संघीयताको यात्रासँगै यस नगरले पनि यहाँको विकास र समृद्धिको अवधारणा निर्माण गर्न शुरु गरेको देखिन्छ । जनताको समस्यालाई तत्काल सम्बोधन गर्न सक्ने र जनतासँग हातेमालो गर्ने सरकार भएका कारण पनि स्थानीय सरकार लुम्बिनीबासीका लागि लोकप्रिय बन्दै गएको छ । स्थानीय सरकारको पहिलो पाँच वर्ष संस्थागत हुँदै गएपनि अबको पाँच वर्ष विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने देखिन्छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले आफूलाई जनताको सरकारको रुपमा विकास गर्दै अगाडि बढाउने प्रयास गरेको छ । जनताको सामिप्यतामा रहेर जनताको समस्याहरुसँग सहकार्य गर्ने अभियानमा यहाँका जनप्रतिनिधिहरु लागेको देखिन्छ । संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न यहाँको स्थानीय सरकार तप्परताका साथ अगाडि बढेको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नेपालमा रहेका ७५३ वटा स्थानीय सरकारलाई संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचि २२ वटा दिएको छ । अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची १५ वटा छन् । यसको प्रयोग र नगर सभाबाट बनेका कानून मार्फत लुम्बिनी साँस्कृतिक नगरपालिकाले यहाँको विकास, निर्माण र नियमनकारी कामहरुलाई महत्वका साथ अगाडि बढाएको नगरपालिकाले जनाएको छ । जनसेवक जनप्रतिनिधिको विकास र उत्कृष्ट कार्यसम्पादन भएका कर्मचारीको सहकार्यमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले आफ्नो समृद्धिको मार्गलाई अगाडि बढाएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । लुम्बिनीको भुगोल र परिवेश अनुसार यहाँको सरकारले जनताको पक्षमा काम गरिरहेको छ । नगरलाई बुद्धसँग जोड्दै स्थानीय विशिष्टतामा समाहित गर्दै पर्यटनको विकास र आधुनिकतामा प्रवेश गराउने जमर्को गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान बताउँछन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाको विकासका लागि स्थानीय सरकारलाई बलियो बनाउँदै यहाँको विकास र निर्माणमा ध्यान दिने र कानुनको कार्यान्वयनलाई महत्वका साथ अगाडि बढाउने काम नगरपालिकाले गरेको छ । नगर प्रमुख मुसलमान भन्छन्,“ यहाँको विकासमा स्थानीय तहको अधिकार, व्यवस्था, मापदण्डलाई तथ्यपरकारुपमा अगाडि बढाउँदै लुम्बिनीवासीका खुसीका लागि काम गर्न शुरु गरेका छौँ । जुन केही समय पछि परिणामले देखाउँछ ।” नेपालको संविधानले राज्यको संरचना संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ । नगर सभाले लुम्बिनीवासीको चाहना अनुसार कानून निर्माण गरी राजश्व, न्यायिक र विकास निर्माणमा अगाडि बढ्ने जमर्को गरेको नगरप्रमुख मुसलमान बताउँछन् । नगरक्षेत्रमा सोलार बत्ती जडान, विद्युतिकरण, मेयर निःशुल्क कन्या विवाह योजना, सुकन्या विमा योजना, छाना मुक्त घरका लागि रु. ५० हजार सहयोग गर्ने योजना लुम्बिनी सांस्कृतिक नगरपालिकाले लिएको नगरप्रमुख मुसलमानले जानकारी दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्थानीयको चाहना अनुसार विद्यालय, सडक, पुलपुलेसा निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारमा सवै जनप्रतिनिधिहरुको सहकार्यमा कामको थालनी गर्ने जनाएको छ । यहाँको विकासमा जनचाहना अनुसार अगाडि बढिने नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले बताईन् । नेपालको विशिष्टिकृत नगरपालिका भएकाले लुम्बिनीको विकासमा सकारात्मक सोचका साथ अगाडि बढाउने योजना आफूसँग रहेको उपप्रमुख हरिजनले जानकारी दिईन् ।
नगरक्षेत्रमा शिक्षालाई अगाडी बढाउन छात्राबृत्तीको व्यवस्था, प्रत्येक वडामा स्वास्थ्य चौकी,फोहोर व्यवस्थापन, कृषि अनुदान, पर्यटकिय क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गर्ने काम नगरपालिकाले गर्न सुरु गरेको उपप्रमुख हरिजनले बताईन ।
नगरमा भौतिक पूर्वाधार निर्माण, राजश्व परिचालन, सहकारी, लघु उद्यम्, क्षमता अभिवृद्धि, नियमनकारी सेवा प्रवाह र कृषि पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले जानकारी दिए । शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन र रोजगारलाई मापदण्ड बनाई नतिजामूलक कार्यान्वयनको दिशामा दीर्घकालीन सोचका साथ आफूहरु अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले बताए । स्थानीय सरकारको सुन्दर पक्षनै जनताको समस्यासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने भएकाले जनताको चाहना अनुसार यहाँको सरकार अगाडि बढेको छ । विकास खर्च, योजना निर्माण, अनुगमन, आर्यस्रोतको खोजी , समन्वय, सहकार्यलाई यस नगरले प्राथमिकतामा राखेको देखिन्छ । यहाँको विकासमा नगरपालिकामा छलफल र सहकार्यबाट अगाडि बढ्दा प्रतिफल प्राप्त गर्न सकिन्छ । सबै मिलेर लुम्बिनीको विकासमा बल पु¥याउनु पर्दछ । नगरपालिका निर्माण गरेको विधि र विधानको सुन्दर अभ्यासलाई संस्थागत गर्दै नयाँ समाज निर्माणको थालनी गर्न लुम्बिनीका सबै जनप्रतिनिधिहरु तयार हुनुपर्दछ । यहाँको विकासमा एकताबद्ध भएर जनप्रतिनिधिहरुले आफ्नै वडा तथा टोलबाट विकासको आरम्भले नेपालमा नमुना स्थानीय सरकारको भूमिका खेल्ने देखिन्छ । यसपक्षमा यहाँका जनप्रतिनिधिहरु अगाडि बढ्नु पर्दछ , अनि मात्र जनताका पक्षमा काम हुनेछन् ।