
भैरहवा, बैशाख । पोखरभिण्डी गाविसमा आइतवार सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना भन्दा बढीले निशुल्क उपचार पाएका छन ।
पोखरभिण्डी गाविस कार्यालयको आयोजनामा सम्पन्न भएको जेष्ठ नागरिकका लागी निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण शिविरबाट १ सय ३० जना जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण गराएको गाविस सचिव लेखनाथ अर्यालले जानकारी दिए । कन्सल्टेन्ट फिजिशियन डाक्टर निरज कुमार जयसवाल र उनको टिमले पोखरभिण्डी गाविसमै पुगि जेष्ठ नागरिकहरुलाई सुगर परिक्षण, दम, छाती लगायत अन्य रोगहरुको परिक्षण गरि आवश्यकता अनुसार निशुल्क औषधी समेत बितरण गरेका थिए ।
महिला रोग विशेषज्ञ
पोखरभिण्डी गाविसको कार्यालयकै आयोजनामा सम्पन्न भएको महिलाहरुका लागी निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण कार्यक्रम मार्फत पोखरभिण्डीका १ सय ५५ जना भन्दा बढी महिलाहरु लाभान्वित भएका छन । स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर सरिता आचार्य तथा उनको समूहले महिला सम्बन्धि बिभिन्न रोगबारे स्वास्थ्य परिक्षण गरेको कार्यक्रम संयोजक राजकुमार बताए । स्वास्थ्य परिक्षण कार्यक्रममा एबिसि नेपालले समेत सहकार्य गरेको थियो । लक्षित बर्ग तर्फको बिनियोजित रकमबाट सम्पन्न भएको उक्त शिविरमा उपचार गराएका सिमान्तकृत तथा पहुच नभएका महिला एवम जेष्ठ नागरिकहरु खुशी देखिन्थे ।