लुम्बिनीखबर
भैरहवा , १८ कात्तिक । बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको मुद्दामा फरार रहेका मकवानपुरका एक आरोपितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले रुपन्देहीबाट पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी दिक्षान्त बानियाँलाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–४ भैरहवाबाट पक्राउ गरेको हो।
सीआईबीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकार वादी र बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटन, हरिहरभवनबाट पक्राउ अनुमति लिइएको थियो। ब्युरोबाट खटिएको प्रहरी टोलीले गत कात्तिक १६ गते उनलाई पक्राउ गरेको हो।
पक्राउपछि अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान जारी रहेको उल्लेख छ।