भैरहवा, बैशाख । “अहिले सम्म खाली समय मैले घरमै सुतेर या अर्काको बारे गफ चुटेर बिताउथे, अब आफ्नै पसल खोल्छु अनि २ पैसा कमाउछु” । यो भनाई हो लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नंम्बर १० बनरहवा की कमलावती यादवको । उनि जस्तै बिद्यालय जादा शिक्षकको कुटाई खाने डरले बिद्यालय नै जान छोडेकी सोही गाउकी बिनिता ठाकुर पनि आत्म निर्भर बन्ने कुरामा अडिग छिन । बिनिता र कमलावती मात्र हैनन लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नम्बर ७ तेनुहवा गाउमा बस्ने रुपकला हरिजन पनि लुम्बिनी आउने पर्यटकलाई आकर्षित गराउने गरि आत्म निर्भर हुने दह्रो आत्मविश्वासका साथ उभिएकी छिन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, नगरपालिका घोषणा भए
पनि जिर्ण भौतिक पूर्वाधार एवम आन्तरिक श्रोत ब्यावस्थापनमा रुपन्देहीको सबै नगरपालिका भन्दा कमजोर अवस्थामा रहेको छ । अधिकांश ग्रामीण क्षेत्र रहेको यस नगरपालिकामा अहिले पनि महिलाहरु घर धन्दा र चुल्हो चौका बाहेक अन्य काममा अगाडी आउन सकेका छैनन । शान्ती शहरको परिकल्पना सहित लुम्बिनी बिकाष कोषले पनि योजना बनाउदा स्थानीयहरु समेटिन सकेका छैनन् । यस्तो अवश्थामा स्थानिय संस्कृतिको साथै आय आर्जन कामको लागी यहाको महिलाहरु आत्म निर्भर बन्ने प्रयास गरेका छन ।
लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरि उनिहरुले अहिले बिभिन्न हाते श्रृंगार सामाग्री बनाउन ब्यस्त देखिन्छन । उनिहरुको यो अभियानमा होस्टेमा हैसे थप्ने काम गरेको छ सिद्धार्थ सामुदायिक समाजले । लुम्बिनीका महिलाहरुले आत्म निर्भर बन्ने प्रयास गरे पछि सिद्धार्थ सामुदायिक समाजले उनिहरुलाई बिभिन्न तालीम दिई अभियान सफल बनाउन सहयोग गरेको छ । केयर नेपालको सहयोग तथा सिद्धार्थ सामुदायिक समाजको आयोजनामा आत्म निर्भर परियोजना अन्र्तगत यस्ता महिलालाई बुटिक तालीम तथा कुशन बनाउने तालीम प्रदान गरिएको कार्यक्रमकी फिल्ड संयोजक कमला बस्नेतले बताईन ।
“लुम्बिनी वरिपरि रहेका महिलाहरु लुम्बिनी र यहा आउने पर्यटकको सदपयोग गर्न सकिरहेका छैनन्” फिल्ड संयोजक बस्नेतले भनिन पर्यटकहरुलाई हाते सामाग्री रुचाउने गरेको र खाली बसेका महिला तथा किशोरीलाई यस तर्फ राम्रो आम्दानी गर्न सक्ने देखेर परियोजनाले यसमा सहयोग गरेको उनको भनाई छ । बिशेष गरि ग्रामीण भेगका महिलालाई आत्मनिर्भर बनाई बचत गर्ने बानीको समेत बिकास गराउने परियोजनाको मूख्य लक्ष्य रहेको बस्नेतको भनाई छ ।
आत्मनिर्भर परियोजना अन्र्तगत तालीम लिएका यी किशोरीहरुले तालीम पुरा नहुदै आम्दानी गर्ने गरेको अनुभव सुनाए । कुशन बनाउने तालीम दिई रहेकी प्रशिक्षक माया गुरुङ्गले तालीम लिदा लिदै तेनुहवाको समूहले १० हजार बढीको कुशन बिक्री गरि सकेको बताईन । बजारमा राम्रै माग रहेको र बनाउन पनि सहज भएको कारण यसमा महिलाको आकर्षण बढ्दो रहेका गुरुङ्गको भनाई छ । तेनुहवामा १२ जना किशोरी तथा महिलाहरुलाई कुशन बनाउने तालीम प्रदान गरिएको फिल्ड सुपरभाईजर बिनोद यादवले बताए ।
तालीम लिएका महिलाहरुले आफ्नै पसल खोल्न चाहे आफ्नै पसलबाट वा उनिहरुले उत्पादन गरेका सामाग्रीहरु लुम्बिनी बिकाष कोषको सहयोगमा लुम्बिनीमा बिक्रिको लागी राखिने यादवले बताए । उनले बुटिक तालीम लिएका १६ जना किशोरी तथा महिलाहरु बिभिन्न सामग्री बनाई परिवारको सहयोगमा लुम्बिनीमा बिक्रि गर्ने योजनामा रहेको बताए । बिदेशी पर्यटकहरुले हातले कढाई गरेका सामाग्री रुचाउने गरेको कारण यस्ता सामाग्रीले सहज बजार पाउने बुटिक तालीमकी प्रशिक्षक लक्ष्मी गुरुङ्गले बताईन ।
लुम्बिनी भ्रमणको लागी आउने पर्यटकहरु बुद्ध दर्शनको साथै यहाका स्थानिय संस्कृति बारे पनि जानकारी गराउने तथा आत्मनिर्भर बन्ने उद्देश्यका साथ लुम्बिनीका किशोरीहरु अहिले लागी परेका छन ।


