लुम्बिनीखबर
पाल्पा, जेठ ८ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको ऐतिहासिक महत्व बोकेको बल्ढेङगढी कुमारी देवीको मन्दिरमा वैशाखे पूर्णिमाको अवसर पारेर हजाराँै भक्तजन तथा दर्शनार्थीहरुको दर्शन गर्न घुईँचो लागेको छ ।

यस क्षेत्रमा १४ औँ शताब्दीका मगर राजाले आफ्नो राजधानीको रुपमा स्थापित गरेको दरबारको बीच भागमा राजाले नै स्थापना गरेको कुमारी देवीको मन्दिर सबैको आस्थाको धरोहर रहेकाले समेत दर्शनार्थीहरु आउने गरेको स्थानीय रेशम बहादुररायमाझीले जानकारी दिए ।

देवी सम्झिएर गरेका कामहरु पुरा हुने र समस्या परेको बेलामा कुमारी देवीको सम्झना गरे समेत मनले चिताएको पुग्ने भन्दै बल्ढेङगढी गाविस सुकादमरका लेखबहादुर कार्कीले कुमारी देवीको दर्शन गर्न प्रत्येक वर्ष पुग्ने गरेको बताए ।

वर्षको साउने पूर्णिमा, दशैँको अष्टमी, मंसिरे न्वागी र वैशाखे पूर्णिमा गरी ४ पटक खुल्ने यो मन्दिरमा दर्शन गर्नका लागि रुपन्देहीको सालझण्डी, रुद्राक्ष, मुर्गिया, कपिलवस्तुको चार नम्बर, पिपरहवा, अर्घाखाँचीको खिदिम, पटौटी, पाल्पाका सत्यवती, कचल, जुठापौवा र छहरा गाविसका मानिसहरु यहाँ पुग्ने गरेको स्थानीय तुला रास्कोटीले बताईन् ।