लुम्बिनीखबर
भैरहवा, जेठ ।
जनयुद्ध कालदेखि नेकपा माओवादी, एमाओवादी हुँदै माओवादी केन्द्रसम्म पार्टीको सांगठनिक ढाँचाभित्र रहेर सिद्धार्थनगरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका माओवादी केन्द्रका रुपन्देही नेता सुरेन्द्र क्षेत्री राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय स्तरमा लोकप्रिय समाजसेवीको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका यी माओवादी नेताले आफूसँग ७५ जना माओवादी केन्द्रका कार्यकर्ताहरुलाई समेत राप्रपामा प्रवेश गराएका छन् । सिद्धार्थनगरको सीमा क्षेत्रमा रहेर विकास निर्माणका कामहरुदेखि जनचेतनामूलक कार्यहरु सम्म गर्दै जनसामु माझ आफ्नो लोकप्रियतालाई बढाउँदै लगेका क्षेत्री राप्रपामा प्रवेश गरेपछि माओवादी केन्द्रलाई ठूलो क्षति पुग्ने समेत स्थानीयहरुले बताउने गरेका छन् ।
जनयुद्ध कालमा माओवादीलाई सीमा क्षेत्रमा बसेर ठूलो सहयोग पु¥याएपछि शान्ति प्रक्रियामा पार्टीले उनको ठूलो मूल्यांकन गर्ने बताएको थियो । उनलाई विभिन्न किसिमका आश्वासन दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखि बाबुराम भट्टराई हुँदै बादल र पम्फा समेत उनलाई भेट्न जनयुद्धकालमा भैरहवा आउने गर्दथे ।
पछिल्लो समय माओवादी विभिन्न समस्यामा फस्दै गएको र विचार, सिद्धान्त भन्दा व्यक्तिवाद आर्थिक प्रलोभनमा फसेको भन्दै यी पूर्व माओवादी नेता क्षेत्रीले अब माओवादीले देशको विकासमा कुनै काम गर्न नसक्ने भन्दै आफूले पार्टी छोडेको बताएका छन् ।
उनले े दश वर्षको जनयुद्धबाट हजारौँको बलिदानीबाट जन्मिएको पार्टी, देशको ठूलो जननिर्वाचित पार्टी बन्दा समेत जनताको पक्षमा कुनै काम गर्न नसकेको, कार्यकर्ताहरुलाई बेवास्ता गरेको, नातावाद र कृपावाद र अवसरवादमा चुर्लुम्म डुबेका कारण आफू राप्रपा नेपालमा प्रवेश गरेको बताए ।
उनले माओवादी भएकै कारण आफूलाई विभिन्न क्षेत्रबाट प्रहार भएको, आफ्नो र परिवारको सुरक्षामा समेत खतरा आएपछि आफू पार्टी छाड्न बाध्य भएको गुनासो उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, सांसद इस्तियाक अहमद खाँले उनलाई विशेष कार्यक्रम गरी राप्रपामा प्रवेश गराएका छन् ।
उनको प्रवेश सँगै माओवादी केन्द्रको जिल्ला तहमा अहिले खैलाबैला नै मच्चिएको छ । अब धेरै माओवादीका कार्यकर्ताहरु राप्रपा र एमालेमा प्रवेश गर्ने देखिएको स्थानीयहरु बताउँछन् । अहिले माओवादी सरकारमा भएपनि पार्टी मातहतका कार्यकर्ताहरु र जनयुद्ध कालमा आफ्नो जीवन आहुति दिने कार्यकर्ताहरु विदेश पलायन हुने, ज्याला, मजदुरी गरेर दैनिक जीवन गुजारा गर्ने गरेका छन् । उनीहरुले लडेको जनयुद्ध अहिले प्रचण्ड र उनका आसेपासेले भन्दा अरुले उपयोग गर्न नपाएपछि अबको निर्वाचनमा पाँचौ वा छैठौँ पार्टी बन्ने समेत अनुमान गरिएको छ ।
हाल राप्रपामा प्रवेश गर्ने लोकप्रिय नेता क्षेत्री तत्कालीन अवस्थामा माओवादीका राज्य तहका नेता हुन् ।