काठमाडौं, जेठ २४ – ग्रान्डी अस्पतालमा उपचाररत नेपाली राष्ट्र गानका संगीतकार तथा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
केही सञ्चार माध्यममा उनको मृत्युको समाचार आएपनि अस्पताल स्रोतले खण्डन गरेको छ ।
अस्पतालका सूचना अधिकृत विनोद अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ ।
उनले भने, ‘उहाँको अवस्था गम्भीर छ तर हल्ला फैलिएको मृत्युको खबर असत्य हो ।’
अन्न नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एकसाता अघिदेखि ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पुर्याएको थियो ।
उनलाई एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) पार्किन्सोनिज्म, उच्च रक्तचाप तथा मधुमेहको उपचारका लागि भर्ना गरिएको ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले जानकारी दिए।
उहाँको उपचारमा ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा कन्सल्ट्यान्ट फिजिसियन इन्टरनल मेडिसिन, पल्मोनोलोजी तथा क्रिटिकल केयर प्राडा अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न छन् ।