लुम्विनी–सुर्खेत एकिकृत पर्यटन विकास जरुरी
लुम्विनीको पर्यटन प्याकेजमा काक्रेविहारलाई समावेश गरिने
भैरहवा–सुर्खेत हवाई उडान जरुरी
सुर्खेत, २५ जेष्ठ । सुर्खेतको काँक्रेविहारलाई बुद्ध जन्मस्थल लुम्विनी पछिको दोस्रो बौद्ध गन्तब्यको रुपमा विकास गर्न सकिने निश्कर्ष निकालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषले नै कांक्रेविहारलाई संरक्षण गर्नुपर्ने धारणा छ । लुम्बिनी प्रेस क्लव भैरहवाले सुर्खेतमा आयोजना गरेको आन्तरिक पर्यटन प्रबद्र्धनमा सञ्चार अभियान विषयक अन्तक्रियाबाट यस्तो निश्कर्ष निकालिएको हो । काक्रेविहार नेपालमा रहेका बौद्ध सम्पदाहरु मध्येको महत्वपूर्ण क्षेत्र मानिन्छ । यो क्षेत्रमा ढुंगामा कुंदिएका बौद्ध आकृति, महत्वपूर्ण प्राचिन बौद्ध सम्पदा र भग्नावेशषहरु छन् ।

कांक्रेविहारको पर्यटकीय विकासका लागि लुम्विनीका पर्यटन ब्यवसायीको समेत सहयोग जरुरी रहने भन्दै लुम्बिनी र कांक्रेविहारलाई जोडेर टुर प्याकेज बनाउनुपर्ने,लुम्विनी–सुर्खेत–कर्णाली–गण्डकी पर्यटन सर्किट बनाउनुपर्ने, लुम्विनी–सुर्खेत सिधा हवाइ उडान सञ्चालन गर्नुपर्ने लगायतका निश्कर्ष अन्तक्रियाको छ ।
कांक्रेविहारमा रहेका प्राचिन बौद्ध सम्पदाहरुको अध्ययन, अन्वेषण र संरक्षणका साथै यसको ब्यवस्थित गुरुयोजना बनाउन सके लुम्बिनी आउने पर्यटकहरुलाई कांक्रेविहार ल्याउन सकिने धारणा सहभागीहरुको थियो । कार्यक्रममा बौल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डाक्टर उपेन्द्र कोइरालाले लुम्विनी देखि सुर्खेत हुंदै सुदुरपश्चिम सम्म रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके लुम्विनी आउने लाखौं पर्यटकलाई पश्चिम नेपालमै भुलाउन सकिने बताए । उनले लुम्विनी देखि सुदुरपश्चिमसम्म पाइला पाइलामा पर्यटकीय स्थलहरु रहेकाले लुम्विनी आउने पर्यटकलाई पश्चितर्फ डाइभर्ट गर्ने योजना अघि सार्नुपर्ने धारणा राखे । लुम्विनी हुंदै पाल्पा–गुल्मी–अर्घाखांची–स्वर्गद्धारी–दाङ¬–बाँके राष्ट्रिय निकुञ्ज–सुर्खेतको काँक्रेविहार–बर्दिया राष्ट्रिय निकुञ्ज हुंदै शुुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र माथिल्लो भागमा ढोरपाटन र रारा राष्ट्रिय निकुञ्जसम्म पर्यटक पु¥याउने योजना अघि सार्नुपर्ने धारणा राखे । कार्यक्रममा बौल्दै मध्यपश्चिम बौद्ध विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्लले लुम्विनीको पर्यटनका सम्भावनासंग जोड्न सके पछाडी परेको मध्य र सुदुरपश्चिम छिटै माथि उठ्ने धारणा राखे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले कांक्रेविहारलाई थप उत्खनन सानो लुम्विनीको रुपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले भग्नावशेषको रुपमा रहेको कांक्रेविहारलाई पुनर्निर्माण गर्ने काम भइरहेकाले यसलाई लुम्विनी र तिलौराकोटसंग जोडेर प्रचारप्रसार गर्नुपर्ने धारणा राखे । सुर्खेतको कांक्रेविहार र वुलवुले ताललाई जोडेर पर्यटन ब्यवसायमा लगानी गर्न यहांका ब्यवसायीहरु लालायीत रहेको धारणा राखे ।
सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष धु्रव चपाईले सुर्खेतका पर्यटकीय क्षेत्रहरुलाई जोडेर गुरुयोजना बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै लुम्विनी विकास कोषका सदस्य सचिव हरिध्वज राइले पर्यटन प्रबद्र्धनका लागि पर्यटकहरुलाई कौतुहलता सिर्जना गर्नुपर्ने बताए । लुम्विनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी चौधरीले कांक्रेविहारको पर्यटन प्रबद्र्धनका लागि लुम्बिनीदेखि सुर्खेतसम्मका भौतिक पूर्वाधारहरुको विकास जरुरी रहेको बताए ।

जिल्ला विकास समिति रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवाली र प्राध्यापक भरतराज पोखरेलले लुम्विनी र सुर्खेतका पर्यटन ब्यवसायी मिलेर दुवै क्षेत्रको पर्यटन विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे । सिद्धार्थ टुर एण्ड ट्राभल एशोसिएसनका अध्यक्ष सागर अधिकारीले बुद्धसंग सम्वन्धित क्षेत्रहरुको एकिकृत विकासका लागि सरकारले एकिकृत योजना बनाउनुपर्ने धारणा राखे । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष डा.शान्तकुमार शर्माले लुम्विनीबाट सुर्खेत हुंदै रारा तालसम्म पुग्ने रुटको विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासले गती लिने धारणा राखे । नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दीपक बुढाले सुर्खेतको पर्यटन विकासका लागि पत्रकारहरुले सकारात्मक समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताए । लुम्विनीका पर्यटन ब्यवसायी गोविन्द ज्ञवाली र मिथुनमान श्रेष्ठले लुम्विनीको टुर प्याकेजमा कांक्रेविहारलाई समेत समेट्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पदम वहादुर शाहीले सुर्खेतको समग्र विकासका लागि गुरुयोजना जरुरी रहेको र गुरुयोजना तयार पार्दा बौद्ध संस्कृतिलाई झल्काउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै ब्यवसायी टोप व रायमाझि,चिन्तामणि शर्मा,गोविन्द कोइराला,हरि प्र.अधिकारी,टंक प्रसाद लामिछाने,तर्क व शाही,प्रकाश पौडेल,यमलाल गिरी,दीपेन्द्र शर्मा लगायतले बोल्दै लुम्विनी र सुर्खेतको पर्यटनलाई जोड्दा पश्चिमका सवै पर्यटकीय क्षेत्रहरुलाई समेटेर टुर प्याकेज निर्माण गर्नुपर्ने धारणा राखे ।

सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले अन्तक्र्रियाको निश्कर्ष प्रस्तुत गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा लुम्विनी प्रेस क्लवका अध्यक्ष माधव ढुंगानाले लुम्विनीको पर्यटन प्रबद्र्धनका लागि लुम्विनी क्षेत्रका पत्रकारहरुले समेत महत्वपूर्ण भूमिका खेलिररहेको बताए । प्रेस क्लवका महासचिव नरेश केसीले लुम्विनी र सुर्खेतको कांक्रेविहारको एकीकृत योजना निर्माणका लागि पत्रकारहरुले दबाब दिनुपर्ने धारणा राखे ।
लुम्विनी प्रेस क्लव भैरहवाले आयोजना गरेको उक्त अन्तक्र्रिया कार्यक्रमको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।