जेठ २७
काठमाडौँ । नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन् ।
पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन् । दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो । तर उनले बीचमै राजीनामा दिए । यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन् ।

यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए भने डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे । राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन्् । जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन् ।
त्यस्तै १११ प्रहरी नायब निरीक्षक तथा ३४६ जना प्रहरी सहायक निरीक्षकले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । करिब ११ महिनामा ५२९ हवल्दार, तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बिचमै जागिर छाडेका छन्् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।