उद्योग मन्त्री पाण्डेले समेत वास्ता गरेनन्
५ असार, भैरहवा ।
“नि स्वार्थ माया सन्तान प्रति आमाकै रहन्छ , चोट लाग्दा सन्तानलाई आमालाई नै दुःखछ” भन्ने भनाई अहिले सार्थक भएको छ ।
पाल्पा जिल्लाको चिदीपानी गाविस ३ की कल्पना गिरीको एक मात्र छोराले आफ्नो मानसिक सन्तुलन गुमाएपछि उनी अहिले आफै असन्तुलित बनेकी छिन् ।

एक छोरा र एक छोरीकी आमा कल्पना छोरोको स्थिती नाजुक बन्दै गएपछि आफन्त र राजनितिक दलका नेता, सर्वसाधरणहरुसगँ छोराको उपचारको लागि सहयोगको याचना गर्दै भौतारीरहेकी देखिन्छ ।
उनका १९ वर्षीय छोरा गोविन्द गिरीको मानसिक सन्तुलन विग्रिएपछि छोराको उपचारको लागि आर्थिक संकलनका लागि उनी पाल्पा जिल्लाको गाउँटोल हुदै रुपन्देही जिल्लाको भैरहवा सम्म आइपुगेकी छिन् ।
उनले छोराको उपचारको लागि आफन्त र नेतालाई गुहारेपनि कसैले सहयोग नगरेको कारण आफुले सर्वसाधरण सगँ सहयोग याचना गर्दै आर्थिक संकलन गरिरहेको बताउँछिन् ।
उनी भन्छिन् , “आज आफन्तले सहयोग गरेको भए मेरो छोराको समयमा उपचार हुने थियो । हिजो मेरो परिवार सकुशल रहदा भएका आफन्तहरु पनि चाड पर्वमा आइरहन्थे । दैनिक जसो फोनमा कुराकानी भइरहन्थ्यो । लाग्थ्यो म सबै कुरामा सम्पन्न छु । तर आज मेरो छोराको मानसिक सन्तुलन गुमेपछि मैले उसको उपचारको लागि आफन्तसगँ सहयोगको याचना गर्दा सबै पराइ भइदिए ।”

मेरा आफन्तहरु सबै सम्पन्न छन् काठमाण्डौँ, पोखरा, वालिङ, सहित चिदीपानीमै रहेको सहोदर दाजुभाईले समेत फर्केर हेरेनन् । मेरा आफ्नै माइतीहरु समेत म बाट टाढिएको उनी बताउँछिन् ।
यसै निर्वाचन क्षेत्र नम्बर २ बाट (चिदीपानी गाविस) निर्वाचित भएर सांसद बनेका हालका उद्योग मन्त्री सोमप्रसाद पाण्डेलाई समेत पटक पटक सहयोगको याचना गर्दा समेत उनले ढाँटछल मात्र गरे तर व्यवाहरिक रुपमा कुनै सहयोग उपलब्ध गराएनन् ।
२०७२ साल मंसिर महिना देखि विरामी छोरालाई घरमा भएका सबै जायजेथा बिक्री गरेर ललितपुरको पाटनमा अस्पतालमा उपचार गर्न पुगेपनि उद्योग मन्त्री पाण्डेले न त अस्पतालमा कुनै भनसुन गरिदिए न त कुनै सहयोग नै गरेको उनी गुनासो पोख्छिन् । उनले मन्त्री पाण्डेलाई पटक पटक टेलिफोन सम्पर्क गरेर सहयोगको याचना गरेपनि सुरुका दिनका गाउँ आएर सहयोग गर्ने आश्वासन दिएका पाण्डे न त गाउँ आए न त आवश्वासन दिए अनुसार सहयोग नै उपलब्ध गराएको बताइन् ।
भोट माग्ने बेलामा हात जोड्दै घरको दैलोमा आइपुगेका मन्त्री पाण्डेले समेत टाढा भएपछि संसारै स्वार्थी रहेछ भन्दै उनी अहिले छोराको उपचारको लागि आम सर्वसाधरणको घरदैलोमा ५–१० रुपैयाँको सहयोग माग्दै हिँडिरहेकी छिन् ।
उनी भन्छिन् के गर्ने मेरो छोरालाई निको गर्नका लागि आफू सबै त्याग गर्न तयार रहेको छु । आश गरेकाहरु टाढा भएपनि सर्वसाधरणहरुले दिएको ५–१० रुपैयाले चार पटक पाटन अस्पतालका डाक्टर प्रविण भट्टराईसगँ पु¥याए ।

अहिले महिनाका एक पटक पाटन अस्पतालबाट बुटवल आउने गरेका डाक्टर भटट्राईसगँ बुटवलमै छोराको चेकजाँच गराइरहेको गिरी बताउँछिन् । न त अस्पताल उनको छोराको उपचारमा कुनै छुट दिन्छ न त डाक्टरले गरेको चेकजाँचमा नै छुट हुन्छ । तर उनले आफ्नो मनको व्यथा सबैलाई सुनाएकी छिन् ।
सहयोग माग्दै हिँड्ने क्रममा भैरहवामा सञ्चारकर्मीसगँको भेटमा उनले छोरोको उपचारको लागि १० रुपैयाँ माग्दै अगाडी बढ्न खोजेकी थिइन । उनको सोधीखोजी गर्दा बल्ल थाहा भयो उनी वास्तवमै पिडित रहेकी छिन् । उनको प्रत्येक शब्दमा आँशुका धाराहरु बगिरहेका हुन्छन् । अझै भन्दै थिइन बाबु कसैले ऋण दिए त छोरालाई भारतको गोरखपुर र राँची लैजाने थिए । सबैले त्यहाँ छोरा निको हुन्छ भन्छन् ।
“तर के गर्ने म अभागी रैछु छोरो ठुलो भएर मेरो साहारा बन्ला भनेको त आज उसको हालत नै नाजुक भयो । आमा म ठुलो भएपछि हजुरलाई सुख दिनेछु हिजो भन्ने छोराले आज मलाई नै चिन्दैन झम्टिन आउँछ के गर्ने बाबु जति भएपनि मेरा छोरा हो । म उसकोलाई मर्न पनि तयार छु । कहिलेकाँही लाग्छ आत्महत्या नै गरौ तर के गर्ने म मरे भने छोराको रेखदेख कसले गरिदेला ।” भन्दै उनी भक्कानिईन् ।
पाल्पा जिल्लाको चिदीपानी गाविस कार्यालय समेत कार्यालयको चलानी नम्बर १४० मार्फत गाविस सचिव कुल प्रसाद अर्यालको हस्ताक्षरित पत्रमा छोराको उपचारको लागि सहयोग गरिदिनका लागि सर्वसाधरण माझ सिफारिस गरेको छ ।
उनलाई सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्थाले पाल्पाको चिदीपानी गाविस कार्यालय र उनको मोबाइल नम्बर ९८००७४५१६९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।