ठमाडौं, असार । अचानक गंभिर बिरामी परेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको होस खुलेको छ ।
चाबहिलको ओम अस्पतालमा उपचाररत कोइरालाको केही बेरअघि होस खुलेको उपचारमा संलग्न डा.लव जोशीले जानकारी दिए ।
जोशीका अनुसार कोइरालाई बोलाउँदा आँखा हेरेका छन् । डा. जोशीले भने, ‘दिउँसोपछि देखिएको यो नयाँ उपलब्धी हो । हामीले भनेको कुरा बुझ्न थाल्नुभएको छ । यसले हामीलाई खुसी बनाएको छ ।’
उपचारमा संलग्न चिकित्सक डा.लव जोशीका अनुसार दिनभर ९० हाराहारीमा रहेको रक्तचाप अहिले सुधार भएर ११० देखि १२० को तहमा कायम रहेको छ ।
भेन्टिलेटरको सहायतमा अक्सिजनको स्याचुरेसन पनि ९० कै हाराहारीमा कायम छ । तर उपचारमा संलग्न चिकित्सक डा.लव जोशीले यो सुधार सकारात्मक भएपनि खतरामुक्तको अवस्था नभएको बताए । ‘यो औषधि र भेन्टिलेटरको सहायतामा हो, यो औषधि विस्तारै घटाउँदै लैजादा पनि काम हुनुपर्छ,’ जोशीले भने।
उनले विहीबार विहानसम्मको अवस्था हेरेर मात्रै मेडिकल टोलीले एउटा निर्णय दिनसक्ने भन्दै अहिले जोखिम नघटेको दोहोर्याए ।