काठमान्डौं,असार । झापा र मोरङका शरणार्थी शिविरबाट संयुक्त राज्य अमेरिकामा पुनर्वास भएका भुटानीहरुको संस्था ओबिसिएको छैटौं सम्मेलन ओहायोको सिनसिनाटीमा सम्पन्न भएको छ ।
शुक्रबार सुरु सम्मेलनका सहभागीहरुले अमेरिकामा भुटानी समुदायको बलियो एकता एकता स्थापित गर्न जरुरी भएको बताए । भुटानी मानव अधिकार आन्दोलनका एकजना नेता टेकबिर क्षेत्रीले सिनसिनाटी ७१९८ पूर्वी पिप्पिन रोडस्थित भव्य हलमा सम्मेलनको समापन गर्दै पुनर्वास भुटानीले आफ्नो भाषा, संस्कृति र रितिथितीको संरक्षणमा दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
क्षेत्रीले भने, ‘अब हामीले आफ्नो समुदायको समृद्ध बनाउँदै यहाँको अर्थबजारमा सहभागिता देखाउनु पर्दछ ।’ ओबिसिएका अध्यक्ष डिबी राईले बिरानो मुलुकमा समुदायको एकता अक्षुण राख्न सचेत हुनुपर्ने बताए ।
उपाध्यक्ष दिलिप दाहालले भुटानी समुदायलाई आफ्नो पहिचान जोगाउने चुनौती रहेको बताउँदै समुदायको आर्थिक समृद्धिका बाटाहरु खोल्न लाग्नुपर्ने बताए । कार्यक्रममा शरणार्थी मामिलाका जानकार हिमालखबर पत्रिकाका सम्बाददाता पत्रकार गोपाल गड्तौलाले पूर्वी नेपालका शिबिरमा रहेका पहिचान र सहायताविहीन भुटानीहरुको सहायतामा हात अघि बढाउन अमेरिका पुनर्वास भुटानीलाई अनुरोध गरे ।
सम्मेलनमा अमेरिकाका दुईदर्जन प्रन्तमा पुनर्वास भएका भुटानीका २ सय बढी प्रतिनिधिले आआफ्ना प्रान्तमा भुटानी समुदायको हितमा भएका प्रयास र ओबिसिएका एकाईहरुका गतिबिधि प्रकाश पारेका थिए ।
कार्यक्रममा पुनर्वास भुटानी समुदायका अगुवाहरु डम्बरसिंह घले, डिजे खालिङ, गंगाराम लामिटारे लगायतले भुटानी समुदायको मौलिकता जोगाउन सम्भव प्रयास गर्न आव्व्हान गरेका थिए ।
सम्मेलनको दोस्रो दिन प्रमुख अतिथिको रुपमा उपस्थित वासिङ्टनस्थित राष्ट्रसंघीय शरणार्थी आयोगका वरिष्ठ पुनर्वास अधिकृत ल्यारी योंकले नेपालका शिबिरमा रहेका १५ हजार बढी मध्ये करिव ९हजार भुटानी विभिन्न कारणले पुनर्वास हुन नसक्ने बताए ।
पुनर्वास मध्ये सर्वा्धिक ८७हजार ५१७ अर्थात ८७ प्रतिशत अमेरिकामा पुनर्वास भएका छन् । यसैगरि क्यानाडामा ६६९१, डेनमार्कमा ८७५, नर्वेमा ५६६, न्युजिल्याण्डमा १००९, अष्टेलियामा ५८३७, नेदरल्याण्डमा ३२९ र बेलायतमा ३५८ जना भुटानी पुनर्वास भएका छन् ।
अब झापा र मोरङका शिबिरमा ४हजार१५७ परिवारका १५हजार ४०० भुटानी शरणार्थी रहेका छन् ।
कान्तिपुरवाट