लुम्बिनीखबर
भैरहवा, साउन । सिमाक्षेत्र बेलहियामा भन्सार जाँचपास भएर नेपाल भित्रिने मालवाहक कन्टेनरहरु सँग ट्राफिक प्रहरीको असुलीले व्यापकता पाउने गरेको छ ।
मालवाहक कन्टेनर मात्र नभएर निजी नम्बर प्लेटका पिकअप बलेरो देखी सवारी खोज्दै नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका कारहरुसँग समेत मासिक असुलीमा सिमाक्षेत्रमा रहेका ट्राफिक प्रहरीहरुको दैनिकी रहेको छ ।

सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरी यसरी असुलीमा लागे पछि स्थानिय सवारी चालकहरु लाई समेत आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर प्रहरी नायक निरीक्षकको कमाण्डमा खटिने ट्राफिक प्रहरीको टोली बेलहिया नाकामा तयारी अवस्थामा बसेको सवारी चालकहरु बताउँछन् ।
भारतिय मालवाहक ट्रकहरु सँग प्रत्येक ट्रक एक सय भारतीय रुपैयाँ देखी ३ सय भारतीय रुपैयाँ सम्म असुली गर्ने बेलहिया ट्राफिक मालवाहक रातो नम्बर प्लेटका बलेरो पिक अप संग मासिक एक हजार उठाउने गरेको पीडित सवारी धनी बताउँछन् ।
ट्राफिक प्रहरीले सवारी खोज्दै अवैधानिक रुपमा नेपाल आउने भारतीय नम्वर प्लेटका कारहरु संग मासिक रुपमा नै पांच सय देखी एक हजार भारतीय रुपैयाँ उठाउने गरेको एक भारतीय कार चालक छोटु जैसवाल बताउँछन् । सीमा क्षेत्रमा बाटो नै जाम गरेर भारतीय कारहरुले सवारी ओराल्ने र चढाउने गर्दा समेत समेत नदेखेको झँै गर्ने नेपालका ट्राफिक प्रहरी मासिक असुलीलाई भने कडाई गरेको स्थानीयहरु बताउँछन् । रातो नम्बर प्लेटका सवारीहरुले भाडाका सामान बोक्न नपाउने नियम भए पनि बेलहिया ट्राफिक प्रहरीले मासीक रुपमा उठाउन पाए पछि भने यस्ता सवारीहरु प्रति रमिते बनेर सडकमा उभिने गरेको छ ।
२ दर्जन भारतीय कारहरु र ३ दर्जन जति नेपाली रातो नम्बर प्लेटका पिकअप संग मासिक असुली गरिरेको ट्राफिक प्रहरीको मालवाहक ट्रक सँग गर्ने असुली भनी अहिले धरापमा परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बुद्धिराज गुरुङले असुलीको सूचना पाउना साथ निगरानी बढाएपछि मालवाहक ट्रक तथा कन्टेनर संगको असुली भनी अहिले रोकिएको छ ।
एसपी साब नै तगारो बनेपछि ट्राफिक प्रहरीले अल्पकालिक रुपमा बेलहियाको वाईपास सडकमा बसेर गरिरहेको असुली धन्दा अहिले रोकेको हो । भारतीय एक कन्टेनरका चालक शिवम् कुमारले विगतमा बाइपासमा बसेर दैनिक असुली गर्ने ट्राफिक प्रहरी अहिले नदेखिएको बताउँछन् ।
तर उनीहरुले बाईपासको साटो अन्य सेल्टर बनाएर असुली गर्न प्रयासलाई भनी निरन्तरता दिन खोजिरहेका छन् । उनिहरुले सेल्टर चेन्ज गर्दै असुली उठाउने कार्यलाई अगाडी बढाउन खोजे पनि जिल्ला प्रहरी कार्यालयले निगरानी बढाएको देखिन्छ ।