logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    स्याङ्जाबाट १३ वर्षमै भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश


    २९ भाद्र २०७३ , बुधबार

    स्याङ्जाबाट १३ वर्षमै भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश

    acharya_balkrishna
    काठमाडौँ ः  १३ वर्षको उमेरमै स्याङ्जास्थित बाबुआमाको घरबाट भागेका आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश भएका छन् । उनी अहिले पतन्जली आयुर्वेदका प्रमोटर तथा योग गुरु बाबा रामदेवका सबैभन्दा विश्वासपात्र हुन् ।

    बालकृष्णलाई हुरुन इन्डिया रिच लिस्ट २०१६ को २५ औँ स्थानमा राखिएको छ । उनको कूल सम्पति २५,६०० करोड भारु बताइएको छ ।

    अरु मल्टिनेसनल कम्पनीहरुको मार्केट सेयरलाई कम गर्दै गइरहेको पतन्जलीको रजिस्टर्ड टर्न ओभर नै ५ हजार करोड छ । सन् २०१७ सम्ममा यो १० हजार करोड हुने अपेक्षा गरिएको छ ।

    उनी पतञ्जली आयुर्वेदका मालिक मात्रै होइनन्, यो कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक पनि हुन् ।

    बालकृष्णकै इसारामा यो कम्पनी सञ्चालन हुन्छ । उनले नै कम्पनीको व्यवस्थापनदेखि नयाँ उत्पादनको निर्णय र वित्तिय व्यवस्था सञ्चालन गर्छन् । उनी पतञ्जली आयुर्वेदका मालिक मात्रै होइनन्, बाबा रामदेवको आवरणमा सञ्चालन भैरहेका अरु थुप्रै कम्पनीका असली मालिक पनि हुन् ।

    इकोनोमिक टाइम्सका अनुसार दश रुपैयाँ अङ्कित मूल्य भएको पतञ्जली आयुर्वेद लिमिटेडमा तीन करोड ४७ लाख कित्ता सेयर छ । त्यो सेयरमध्य तीन करोड दश लाख कित्ता (तीन अर्ब दश करोड भारु बराबर) सेयर एक्लै आचार्य बालकृष्णसँग छ । यो कम्पनीको ९२ प्रतिशत सेयर हिस्सा हो ।

    त्यसबाहेक बाबा रामदेवको योगालाई प्रचार गर्न आस्था च्यानल सञ्चालनमा छ । यो च्यानलको प्यारेन्ट कम्पनी हो, वैदिक ब्रोडकास्टिङ लिमिटेड । यो कम्पनीमा बालकृष्णको आठ लाख कित्ता सेयरमध्ये सात लाख ९९ हजार २५० कित्ता अर्थात ९९.९ प्रतिशत सेयर हिस्सा छ ।

    त्यसैगरी बालकृष्णको स्वामित्वमा दिव्य फार्मेसी पनि छ  भने रामदेव, बालकृष्णको स्वामित्वमा चार ट्रष्ट पनि सञ्चालनमा छन् । चार ट्रष्टमध्ये सबैभन्दा ठूलो ट्रष्ट दिव्य योग मन्दिर ट्रष्ट हो । त्यसैगरी पतञ्जली योगपिठ ट्रष्ट, भारत स्वाभिमान र आचार्यकुल शिक्षा सदन छन् । ट्रष्टको वित्तीय विवरणहरु कमै सार्व्जिनक हुन्छन् ।

    सन् २०११ मा सार्वजनिक भएको एउटा विवरणअनुसार यी चार ट्रष्टले त्यो वर्ष चार अर्व २६ करोड भारुको कारोबार गरेका थिए । त्यसैगरी यी चार ट्रष्टबाट सात अर्ब ८५ करोड भारु खर्च गरिएको थियो ।

    भारत सरकारले सन् २००८ मा मेगा फुड पार्कको योजना सार्वजनिक ग¥यो । यो योजनाअनुसार स्थापना हुने फुड पार्कका लागि भारत सरकारले ५० करोड अनुदान दिने निर्णय गरेको थियो । यही योजनाअनुसार पतञ्जली आयुर्वेदले दुई वटा फुड पार्कमा लगानी गरेको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार हरिद्वारमा स्थापना गरिएको फुडपार्कमा पतञ्जली आयुर्वेदको ४९ प्रतिशत सेयर छ भने झारखण्डमा स्थापना गरिएको अर्को फुडपार्कमा कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ । हरिद्वारको फुडपार्क सञ्चालमा आइसकेको छ र त्यो कम्पनीको पनि प्रवन्ध निर्देशक हुन्, आचार्य बालकृष्ण । यो कम्पनीमा पनि पतञ्जलीले ५० करोड भारु लगानी गरेको बालकृष्णले जानकारी दिए ।

    सैगरी त्यहाँ स्थापना भएका पतञ्जलीका प्लान्टमा पाँच अर्ब भारु लगानी भएको पनि बालकृष्णले जानकारी दिएका छन् । यो पार्कमा ४० युनिट सञ्चालनमा छन्, त्यसमध्य २८ वटा युनिट पतञ्जलीका हुन् । आचार्य बालकृष्णले यो संख्या ६५ सम्म पुग्ने जानकारी दिए । आचार्य बालकृष्णले फुडपार्क पूर्ण सञ्चालनमा आए त्यसको कारोवार ४५ अर्ब भारु पुग्ने जानकारी दिए ।

    बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो । जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो । बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए ।

    त्यसपछि १३ बर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए । १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागे । उनी सुरुमा नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे । पछि उनले हरिद्वारमा अध्ययन गरे ।

    आयुर्वेदमा विज्ञता हासिल गरेपछि बालकृष्ण सुवेदी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका रुपमा चिनिन थालेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.