असोज २
न्युयोर्क – अमेरिकाको न्युयोर्क शहरमा भएको विस्फोटमा कम्तिमा २९ जना घाइते बनेका छन् ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको र बाँकी सामान्य रहेको बताइएको छ । न्युयोर्कमा मेयर बिल डे ब्लासियोले विस्फोटको कारण पत्ता नलागेपनि सो घटना ‘जानजानी’ घटनाइएको बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार शनिबार राती ९ बजे म्यानहाटनको चेल्सीमा विस्फोट भएको थियो ।
यसअघि न्युजर्सीमा पनि पाइप बम विस्फोट भएको थियो । त्यहाँ आज च्यारिटी रेस आयोजना हुन लागेको थियो ।
चेल्सी म्यान्हाटनको व्यस्त क्षेत्रभित्र पर्दछ । त्यहाँ बारदेखि विभिन्न रेस्टुरेन्टहरु रहेका छन् र हप्ताको अन्त्यमा धेरै मानिसहरुको जमघट हुने गर्दछ ।
मेयर बिलले यस घटनामा कुनै आतंकवादी संगठनको संलग्नताबारे हालसम्म पत्ता नलागेको र न्यु जर्सीमा भएको विस्फोटसँग पनि सम्बन्ध नदेखिएको बताए ।
एफबिआइले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
बिबिसीका अनुसार उक्त विस्फोट एउटा डस्टबिनमा भएको थियो । ट्वीटरमा एउटा कुच्चिएको डस्टबिन सेयर भएको थियो जसलाई प्रहरी अधिकारीहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।