logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    हामी मुसलमान


    ९ असोज २०७३ , आइतबार

    हामी मुसलमान
    23 September 2012 - New York - Three young muslim girls prepare to sing on stage as they participate in the celebrations at the 27th annual New York City Muslim Day Parade on September 23, 2012, New York, NY. Photo Credit: Anthony Behar/Sipa USA
    23 September  2012 - New York - Three young muslim girls prepare to sing on stage as they participate in the celebrations at the 27th annual New York City Muslim Day Parade on September 23, 2012,  New York, NY. Photo Credit: Anthony Behar/Sipa USA

    23 September 2012 – New York – Three young muslim girls prepare to sing on stage as they participate in the celebrations at the 27th annual New York City Muslim Day Parade on September 23, 2012, New York, NY. Photo Credit: Anthony Behar/Sipa USA

    –डोर बहादुर विष्ट

    हामी मुसलमानका सबैभन्दा पहिला पुर्खा पन्ध्रौँ शताब्दीको अन्त्यतिर तथा सोह्रौँ शताब्दीको सुरुतिर लद्दाखको बाटो तिब्बत पसेर आएका कश्मिरी मुलमान थिए । राजा रत्नमल्लका प्रतिनिधिसँग ल्हासामा भेट भएपछि उनीहरुमध्ये केहीलाई काठमाण्डौ बालाएर ल्याइएको थियो ।

    त्यसको लगत्तैपछि बाइसी–चौबिसी राजाहरुको पालामा अरु बढी मुसलमानहरु बन्दुक आदि हतियार बनाउन र तिनको प्रयोगको काम सिकाउन पश्चिम पहाडमा पसेका थिए । ती बाहेक स्वतन्त्र रुपमा व्यापार गर्न पसेका मुसलमानहरुलाई पश्चिम पहाडमा चुरौटे भन्ने चलन छ । तराईमा बस्ने अरु मुसलमानहरु चाहिँ मधेसका बाहुन, राजपूत तथा अरु जहिले, जसरी र जुन कारणले आएर बसोबास गरेका हुन्, उसै बेला, उसै गरी नै खेती र व्यापार गरी बस्न थालेका हुन् ।

    त्यसैले यस भूमिमा हाम्रो उत्तिकै पुख्र्यौली र त्यसको ममता गाँसिएको छ, जति वरपरका हिन्दू जातहरुको छ । तैपनि जातभातमा विभाजित भएको र नौलो जातजस्तो गरी आएकोमा हाम्रो चित्त दुख्ने गर्दथ्यो । श्री ५ महेन्द्रको असीम निगाहले देशले मुलुकी ऐन पायो । यहाँ कानुनी तवरमा जात ठूलो सानो भन्ने भेदभाव हरायो । यसले हाम्रो हौसला बढेको छ ।
    हामीले अलि बढी निर्धक्क भएर आफूलाई पनि नेपाली समाजका अभिन्न अंग हौँ भन्ने ठान्न थालेका छौँ ।

    अझै कति यस्ता संकुचित विचार र डाहाडे स्वभाव भएका मानिसहरु छन्, जसले हामीलाई स्वतन्त्रतापूर्वक आफ्नो मातृभूमिको सेवा र उन्नति कार्यका लागि आफ्नो जीविका चलाउने काममा बाधा दिलाउन खोज्छन् । तर हामीलाई वर्तमान राष्ट्रनायक श्री ५ महाराजाधिराज वीरेन्द्र सरकारको आश्वासन र संरक्षणमाथि झन् ठूलो भरोसा छ । भविष्यको प्रगतिशील नेपाली समान, यसको प्रबुद्ध नेपाली परिपञ्च तथा नेतामाथि विश्वास छ । हाम्रो समाजको संकुचित परम्पराको ठाउँमा खँदिलो राष्ट्रिय परम्परा कायम हुँदैछ भन्ने कुरामा अरु बढी भरोसा लाग्न थालेको छ ।

    पश्चिम तराईका र काठमाण्डौका केही मुुसलमानहरु उर्दूभाषा बोल्ने गर्दछन् तापनि धेरैजसोका लागि स्थानीय भाषा नै आफ्नो भाषा भएको छ, अलग मुसलमानी भाषाको आवश्यकता परेको छैन । धेरै नेपाली मुसलमानमध्ये मुसलमान भन्ने कुनै खास जाति वा अलग उत्पत्ति भएका नभै कुनै कुनै समयमा कारणवश अलग धार्मिक, सांस्कृतिक परम्परालाइ पछ्याएका वर्ग हुनाले उनीहरु न अनुहारमा अलग देखिन्छन् न पोशाकमा ।

    त्यसैले गर्दा उनीहरुलाई नेपालमा धेरैजस्तो अवस्थामा कुनै जातिय वा धार्मिक समस्याहरुमा अल्झिनुपरेको छैन । विश्वको एउटै मात्र हिन्दू राज्य कहलाएर पनि सबै धर्मप्रति सहिष्णुता देखाइ आएको नेपाली परम्पराले यी इस्लाम धर्म मान्ने नेपालीलाई पनि औपचारिक रुपमा कुनै भेदभाव, पक्षपात गरेको छैन ।

    दश वर्षअघिको जनगणनामा मुसलमानहरुको संख्या पुग नपुग तीन लाखजति देखिएको थियो । पूर्व तराई, मध्य–तराई, पश्चिम–पहाड र काठमाण्डौ उपत्यकामा खास गरी उनीहरुको बस्ती छरिएको देखिन्छ । पेशामा तराईमा बस्नेको कृषि, काठमाण्डौमा बस्नेको व्यापार तथा पश्चिम पहाडमा बस्नेहरुको केही खेती र हिउँदमा गाउँगाउँमा डुलेर चुरा बेच्ने काम हो ।

    उनीहरुको आफ्नो समूहभित्रको अनुशासन पालन गर्न, झगडा मिलाउन र सार्वजनिक कल्याणको व्यवस्था गर्न आफ्नै संगठन बनेको हुन्छ । पञ्चायत व्यवस्थाको बढ्दो सफलताले दिन दिनै यस्ता जातीय सङ्गठनहरु कम क्रियाशील हुँदै गइरहेका छन् । तैपनि अखिल नेपाल मुुसलमान सुधार समिति तथा अञ्जुमन इस्लाहजस्ता जातीय संगठनहरु आफ्नो वर्गको सामूहिक हितमा लागिरहेकै छन् ।

    नेपालका मुसलमानहरु खास गरी दुई वर्गमा विभाजित छन् । सो अनुसार पहिलो वर्गमा सैयद, सेख, पठान र मुगल भन्ने चार थरीका हुन्छन् । सैयद र सेख अरबका सन्तान हुनाले इस्लाम धर्मका संस्थापक मुहम्मदको आदिकाल देखिको इस्लाम  धर्मावलम्बी हुन् भन्ने विश्वास गरिन्छ ।
    त्यसपछि पठान भन्नेहरु अफगानिस्तानबाट आएका र मुगल भन्नेहरु उहिलेका तुर्कहरुका सन्तान हुन् भनी भन्दछन् । दोस्रो श्रेणीका मुसलमान चाहिँ पछि मुसलमान तुल्याएका भारतीय हरुका सन्तान हुन् । उनीहरुको आफ्नै खालको वर्गीकरण हुन्छ । अन्सारी, सब्जी फरोस, धोबी, नवाफ मोची आदि यो पहिलो समूहमा पर्छन् । यी सबै थरीका मुसलमान एउटै देवता खुदा तथा उनका एउटै पैगम्बर मुहम्मदलाई मान्दछन् । तर कालान्तरमा विभाजन भएका दुई सम्प्रदाय सिया र सुन्नीहरुमा यिनीहरु सबैजसो सुन्नी सम्प्रदायको हक्फी शाखाका अनुयायी छन् ।

    पैगम्बर मुहम्मद अरेबियाको मक्कामा जन्मिएर ईस्वी सन् ६३२ मा मदिनामा मरेका थिए र यी दुई ठाउँलाई ठूलो तीर्थ मानी हरेक वर्ष हज गर्न जाने मुसलमान हुन्छन् । यिनीहरु धर्ममा धेरै निष्ठावान् रही मुहम्मदको शिक्षा पछ्याउने गर्दछन् ।

    सबैजसो मुसलमानहरुले मनाउने ईद पर्वहरुमा रमजानको महिनाभरी व्रत बस्ने रोजा नै मुख्य हो । इस्लामी वर्षको नवौँ महिनालाई रमजान र यस बेला बस्ने व्रतलाई रोजा भनिन्छ । चन्द्रमाको हिसाबले महिना भन्नुपर्ने हुँदा यो रमजान वर्षैपिच्छे घुम्दै जुनसुकै महिनामा पनि पर्न  आउँछ । व्रत सकिने दिन खाने भोजलाई ईद–उल–फित्र भन्दछन् । यो ईदबाहेक तराईका मुसलमानहरु मुहर्रम मनाउँछन् । रज्जबको महिनामा अर्को पर्व मेराज मनाइन्छ । आठौँ महिना सावानमा पनि सब्बी बरात मनाई भोज खान्छन् ।

    बाह्रौँ महिनामा पर्र्ने बकर ईद पनि बोका, राँगा काटी भोज खाई, रमाइलो गरी मनाउँछन् । धेरै मुसलमानहरु शुक्रबार मस्जिदमा गई नमाज धर्मग्रन्थ पाठ गर्छन् । त्यसैले ठाउँ ठाउँमा यस्तै पाठ गर्नका लागि मस्जिद बनाएका हुन्छन् । यी मस्जिद बनाउँदा सकेको ठाउँमा बैजान्टिन निर्माण शैलीमा नै देखिएको छ ।

    बिहे गर्ने चलन भने नेपालका अरु सबैजसो जातिको भन्दा भिन्नै प्रकारको हुन्छ । केटाकेटी खोज्दा एउटै आमाका दूध खाएका दाजुभाइ र दिदीबहिनीबाहेक अरु सबै प्रकारका दिदीबहिनीले दाजु भाइसँग बिहे गर्नुहुन्छ भन्ने चलन छ । तर आफ्नो सामाजिक र आर्थिक स्तरभित्र रहेर मात्र बिहेबारी गर्ने व्यवहारिक चलन गने छँदैछ । सोह्रदेखि अठार–बीस वर्ष सम्मलाई बिहे गर्न योग्य उमेर लोग्ने मानिसका लागि र बाह्रदेखि सोह्र वर्षसम्मको उमेर आइमाइको लागि मानिन्छ ।

    लोग्नेमानिसले एक पटकमा चारवटी सम्म स्वास्नी राख्न हुन्छ भन्ने विश्वास भए तापनि सबैजसो मानिस एउटै लोग्नेस्वास्नी गरी बस्ने गर्छन् । बिहे गर्दा सबैजस्तो नै बाबुआमाले बन्दोबस्त मिलाई निस्वत गरिदिनुपर्छ । अरु धेरै जातिमा चलेको जस्तो केटाकेटी आफैँ मिलेर सुरु गरेपछि बिहेको काममा बाबुआमा केटा र केटीका बीच सम्झौतापत्र गर्नुपर्दछ । यसअनुसार पटि तलाक, पारपाचुके गर्नुपरेमा उक्त सम्झौतामा लेखिएको रकम तिर्नुपर्दछ । औकात र आर्थिक स्थिति हेरी यो रकम पचास साठी रुपियाँदेखि लिएर हजारौँ हजार पनि हुन सक्तछ ।

    कसैले अर्काकी स्वास्नीसँग चोरी, लुकी मैथुनिक सम्बन्ध राखेमा अपराधीलाई ज्यूँदै वा मरेको भए पनि एक सय कोर्रा हान्नु भन्ने भनाइ छ तापनि धेरैजसो रुपियाँ जरिवाना मात्र तिराउने गर्छन् । मुसलमानहरु आफ्नो मुर्दालाई धोइ पखाली, सफा गरेपछि कपुर, चन्दन आदि अनेक प्रकारका सुगन्ध लेपन गरी चिहानमा लगेर गाडिदिन्छन् । सक्नेहरुले त्यसमाथि स्मारक पनि बनाइदिन्छन् ।
    (नेपाली मानवशास्त्रका पिता डोर बहादुर विष्टको यो लेख सान्दर्भिक लागेर “सबै जातको फूलबारी” बाट साभार गरिएको हो । सं)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.