कमल रायमाझी
भैरहवा, ५ साउन । रुपन्देहीको सिद्धार्थनगर–६, गल्लामण्डीमा बालशिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ एक्सिलेन्स मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टर सञ्चालनमा आउने भएको छ। आधुनिक मन्टेश्वरी शिक्षण पद्धतिमा दक्ष शिक्षक उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको उक्त तालिम केन्द्रको औपचारिक उद्घाटन साउन ९ गते शनिबार बिहान ११ बजे हुने भएको छ।
एक्सिलेन्स मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरकी प्रबन्ध निर्देशक पूजा गुप्ताका अनुसार केन्द्रले मन्टेश्वरी शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी बनाउन आवश्यक व्यावहारिक तथा सैद्धान्तिक तालिम सञ्चालन गर्नेछ।
उहाँका अनुसार केन्द्रमा तीनमहिने मन्टेश्वरी शिक्षक तालिम, एकमहिने एक्सप्रेस कोर्स, पाँच, दश र पन्ध्र दिने कार्यशाला तालिम, विशेष शिक्षक तालिम, हाते लेखाइ (ह्यान्डराइटिङं) तालिम, अभिमुखीकरण कक्षा, कथा वाचन (स्टोरी टेलिङ), बालगीत (राइम्स) सिकाउने विधि, कक्षाकोठा व्यवस्थापन, शिक्षण सीप विकास लगायतका विविध व्यावसायिक तालिम सञ्चालन गरिनेछ।
प्रबन्ध निर्देशक गुप्ताले नेपालमा गुणस्तरीय प्रारम्भिक बालशिक्षाका लागि दक्ष शिक्षक उत्पादन आवश्यक रहेको उल्लेख गर्दै यस केन्द्रले आधुनिक शिक्षण विधि, बालमनोविज्ञान र व्यवहारिक अभ्यासलाई विशेष प्राथमिकता दिने बताउनुभयो।
उहाँले भन्नुभयो, “यो तालिम केन्द्रले शिक्षकलाई केवल प्रमाणपत्र मात्रै होइन, व्यवहारिक सीप र आत्मविश्वास पनि प्रदान गर्नेछ। यहाँ प्राप्त प्रमाणपत्र नेपालका साथै विदेशका विभिन्न शैक्षिक संस्थामा समेत उपयोगी हुने विश्वास लिएका छौँ।”
केन्द्रमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट तालिम सञ्चालन गरिने भएकाले देशभरिका शिक्षक, मन्टेश्वरी विद्यालयमा कार्यरत जनशक्ति तथा यस क्षेत्रमा करियर बनाउन चाहने युवाका लागि विशेष अवसर सिर्जना हुने उहाँको भनाइ छ।
उहाँका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीलाई आधुनिक मन्टेश्वरी शिक्षण सामग्रीको प्रयोग, कक्षाकोठा व्यवस्थापन, बालमैत्री शिक्षण विधि, सिर्जनात्मक सिकाइ तथा व्यवहारिक अभ्यासमार्फत दक्ष बनाइनेछ।
केन्द्रले बालशिक्षाको गुणस्तर अभिवृद्धि गर्दै दक्ष शिक्षक उत्पादनमार्फत नेपालमा मन्टेश्वरी शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा शिक्षा क्षेत्रका व्यक्तित्व, विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपालभरिका शिक्षक तथा शिक्षण पेशामा आबद्ध हुन चाहने युवालाई तालिममा सहभागी भई अन्तर्राष्ट्रियस्तरको दक्षता हासिल गर्न केन्द्रले आग्रह गरेको छ।