logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चौकीदारको छोराबाट खर्बपति


    २४ असोज २०७३ , सोमबार

    चौकीदारको छोराबाट खर्बपति

     

    बिबिसी । बालकृष्ण प्रख्यात योगगुरु रामदेवका सबैभन्दा निकट सहयोगी हुन ।
    भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतंजलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन्।
    पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण प्रख्यात भारतीय योगगुरु रामदेवका सबैभन्दा निकट विश्वासपात्र तथा भारतमा दैनिक उपभोग्य सामाग्रीको उत्पादन र विक्री वितरणमा कीर्तिमान बनाइरहेको पतंजलि आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक हुन्।
    हरिद्वारस्थित पतंजलि योगपीठमा रहेको आफ्नो कार्यालयमा बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा आचार्य बालकृष्णले नेपालप्रति आफ्नो ‘विशेष लगाव’ रहेको बताए।
    भारतबाहिर पतजंलि योगपीठले आफ्नो पहिलो कारखाना नेपालको बारा जिल्लामा आगामी नोभेम्बरमा उद्घाटन गर्दैछ।
    धनी
    हालै एउटा प्रतिष्ठित अन्तर्रा्ष्ट्रिय पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यहरुको सूचीमा करिब साढे दुई खर्ब रुपैयाँ सम्पत्ति भएका आचार्य बालकृष्ण भारतका ४८ औँ धनी व्यक्ति भएको जनाएको थियो।
    उसका अनुसार तीव्र रुपमा दैनिक उपभोग्य सामाग्रीको विस्तार गरिरहेको १० वर्षअघि स्थापित पंतजलि आयुर्वेद लिमिटेडको ९७ प्रतिशत स्वामित्व बालकृष्णसँग छ।

    सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतको ४८ औँ धनीमा फोर्ब्सले उनलाई सूचीकृत गरेको छ
    त्यसअघि चीनमा मुख्यालय रहेको एउटा प्रतिष्ठित अनुसन्धान समूहले पतंजलिले आँधीबेहरी ल्याएको र दैनिक उपभोग्य सामाग्री उत्पादन गरिरहेका अरु बहुराष्ट्रिय कम्पनीहरुको व्यापार सुकाइदिएको टिप्पणी गरेको थियो।
    बीबीसीलाई दिएको अन्तर्वार्तामा आचार्य बालकृष्णले पतंजलिको सम्पत्ति आफ्नो व्यक्तिगत धन नभएको बताए।
    उनले भने, “शेयर बजारमा अहिलेसम्म सूचीकृत नभएको पतंजलि कम्पनीको सम्पत्तिले यसरी मान्यता पाउनु खुशीको कुरा हो। उपभोक्ताको विश्वासले हाम्रो ब्राण्डको यस्तो मूल्यांकन भएको हो।”

    पतंजलिले अस्पताल चलाइरहेको एउटा भवनको पहिलो तलामा उनको कार्यलय छ
    योगगुरु रामदेव स्वयंको नेतृत्वमा रहेको पतंजलिमा उनको व्यक्तिगत स्वामित्व छैन।
    झण्डै ३५० थरीका सौन्दर्य, आयुर्वेद र दैनिक उपभोग्य सामाग्री उत्पादन गर्ने उक्त कम्पनीको व्यवसाय विस्तार र प्रवर्द्धनमा भने रामदेवले भूमिका खेलिरहेका छन्।
    पतंजलि आयुर्वेद लिमिटेडको दैनिक कामकाज र सञ्चालन योगगुरु रामदेवको गुरुकूलमा अध्ययन गर्दाताकाका साथी ४४ वर्षीय आचार्य बालकृष्णले गर्दै आएका छन्।
    साधारण
    भारतको उत्तराखण्डस्थित हरिद्वार नजिकै रहेको पतंजलि योगपीठको मुख्यालय भवनको पहिलो तल्लामा कार्यालय रहेका आचार्य बालकृष्ण आफ्नो सादा जीवनशैलीका कारण पनि परिचित छन्।
    योगगुरु रामदेवसँगका केही तस्वीर, बुद्ध धर्मको एउटा थान्का, केही पुस्तक र सजावटका सामाग्री राखिएको उनको कार्यालय पनि साधारण खालको देखिन्छ।
    उनको कार्यलयमा एउटा कम्प्युटर पनि छैन्।

    खर्बपति बालकृष्णको कार्यकक्ष सधारण ढङ्गले सजाइएको छ
    उनी आफ्नो मस्तिष्क नै कम्प्युटर भएको बताउँछन्।
    त्यसबाहेक पतंजलिको कामबाट अहिलेसम्म कहिल्यै विदा नलिएको उनको भनाई छ।
    प्रायस् सेतो कमिज लगाएर बस्ने उनी भन्छन्, “विदा लिएर मैले के गर्ने? मसँग विश्राम लिएर गर्ने केही योजना नै हुँदैन। त्यहीँ भएर चाहे शनिबार होस् या बिहीबार म प्रत्येक दिन बिहानदेखि बेलुकासम्म काम गर्छु र शतप्रतिशत आफ्नो समय कामलाई दिन्छु।”
    सहयोगीहरुले कम्प्युटरबाट गर्नुपर्ने आफ्ना कामहरु गरिदिने उल्लेख गर्दै उनले सञ्चार र सूचनाका लागि मोबाइल फोनको प्रयोग गर्ने बताए।
    झण्डै ११ हजार मानिसहरु काम गर्ने पंतजलि आयुर्वेदको नीति, उत्पादन, विस्तार र योजना उनले हेर्दै आएका छन्।
    बाबा रामदेव र आफूले पतंजलिबाट कुनै तलब लिने नगरेको उनले जनाए।
    पुर्खा
    नेपालको स्याङ्जास्थित काँफलडाँडाको पुर्ख्यौली गाउँमा हुर्किएका उनी ५ कक्षा पढेपछि भारत पसेका थिए।
    आफ्ना पिताले भारतमा चौकीदारीसहित विभिन्न मजदुरी गरेको उल्लेख गर्दै आचार्य बालकृष्णले सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकुलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता बसेको बताए।
    आफ्ना आमाबुबा र आफन्त अहिले पनि स्याङ्जामै बसिरहेको र परिवारले सामान्य खेतीपाती गरी जीवनयापन गरिरहेको उनले बताए।

    राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हरिद्वारस्थित पतंजलि योगपीठको भ्रमण गरेका थिए
    उनले भने, “नेपालप्रति मेरो भावनात्मक लगाव छ। मलाई गर्व छ कि मेरो पूर्वज, मेरो परम्परा, मेरो संस्कार त्यहाँको हावापानीमा हुर्किएको हो। मेरो मनमा भावना छ कि नेपालका लागि एउटा केही ठूलो काम गर्नुपर्छ।”
    उनले त्यस्तो ठूलो काम अघि बढाउन समयको आवश्यकता हुने भन्दै युवाशक्तिलाई ऊर्जा दिने गरी शिक्षा लगायतका क्षेत्रमा काम गर्न चाहेको बताए।
    स्याङ्जास्थित पुर्ख्यौली गाउँमा पनि केही काम गर्न आफूलाई मन लागेको उनले दोहोर्याए।
    नेपालमा जडीबुटी, कृषिको व्यावसायीकरण र उन्नत प्रजातिका गाईपालनलाई प्रवर्द्धन गर्न योजना बनाएको उनी बताउँछन्।
    आयुर्वेद
    पतंजलि विश्वविद्यालयको मुख्य जिम्वेवारी पनि बालकृष्णले सम्हालिरहेका छन
    आयुर्वेदसम्बन्धी कैयौँ पुस्तक लेखेका आचार्य बालकृष्णसँग जडीबुटीको बारेमा विशेष ज्ञान रहेको बताइन्छ।
    पतजंलि आयुर्वेदले जडीबुटीको अनुसन्धानका लागि झण्डै १०० जना वैज्ञानिकहरुलाई परिचालन गरिरहेको र आफूले जडीबुटीसम्बन्धी जानकारीमूलक ‘वर्ल्ड हर्बल इन्साइक्लोपिडिया” तयार पारिरहेको उनले जनाएका छन्।
    सानो हुँदा गाउँमा आफ्नी आमाबाट जडीबुटीसम्बन्धी ज्ञान पाएको जनाउँदै उनले आयुर्वेदसम्बन्धी आफ्नो ज्ञानको प्रेरणाश्रोत आफ्नी आमा भएको उनले उल्लेख गरे।
    झण्डै ६५ हजार प्रकृतिका जडीबुटीका बारेमा आफूहरुले काम गरिरहेको बताउँदै उनले आयुर्वेदसम्बन्धी आफूले लेखेको ‘औषध दर्शन’ नामक पुस्तक एक करोड प्रतिभन्दा बढी विक्री भएको जनाए।

    पतंजलिको मुख्यालय नजिकै एउटा आयुर्वेद उद्यान बनाइएको छ
    आर्युवेदसम्बन्धी अहिले काम गरिरहेको इन्साइक्लोपेडिया झण्डै डेढ लाख पानाको हुने उनको भनाई छ।
    विवाद
    बाबा रामदेवसँग मिलेर पतंजलिको सफलतापूर्वक नेतृत्व गरिरहेका आचार्य बालकृष्ण आफ्नो नागरिकता र शैक्षिक पृष्ठभूमिलाई लिएर विवादको घेरामा तानिएका छन्।

    बाबा रामदेवले पतंजलिका उत्पादनको प्रवर्द्धनमा मुख्य भूमिका खेल्छन
    उनको भारतीय नागरिकता र राहदानी अनि शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद केन्द्रीय जाँच ब्यूरो सिबिआइले जाँचबुझ गरेपछि केही वर्षअघि उनी केही समय भूमिगत समेत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
    सिबीआईले आफूविरुद्ध दायर गरेको मुद्दा झूठो भएको उल्लेख गर्दै उनले विगतको कंग्रेस आइको सरकारले ‘योजनाबद्ध षड्यन्त्र’ गरी आफंविरुद्ध अभियोग लगाएको बताए।
    सम्पूर्णानन्द विश्वविद्यालय अझै अस्तित्वमा रहेको भन्दै उनले आफूसँग त्यसका प्रमाणपत्रहरु सुरक्षित रहेको र ती कागजात फेला नपरे विश्वविद्यालय नै त्यसमा दोषी हुने बताए।
    यसअघि आफ्नो नागरिकतासम्बन्धी विवाद बाहिर आएपछि आचार्य बालकृष्णले सन् २०११ मा हरिद्वारमा पत्रकार सम्मेलन गरी आफू आफ्ना माता(पिता मजदुरीको सिलसिलामा भारतमा रहँदा हरिद्वारमा जन्मिएको बताएका थिए।
    सानोमा केही वर्ष नेपालमा बिताएपछि आफू भारतमै बसिरहेको उनले बताए।
    सन् २०१४ मा भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि अवैध धन आर्जनसहितका ती आरोपहरुमाथिको अनुसन्धान बन्द गरिएको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
    पीडा

    परम्परागत जडीबुटीबाट उपचार गर्ने प्रणालीलाई व्यापक बनाउने उद्देश्य लिएको बालकृष्ण बताउँछन
    नेपालका प्रधानमन्त्री प्रचण्डले आफ्नो राजकीय भ्रमणका क्रममा पतंजलि योगपीठको अवलोकन गरेपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै आचार्य बालकृष्णले नेपालका जडीबुटीले दुवै देशका जनतालाई स्वस्थ्य बनाउन भूमिका खेलिरहेको बताएका थिए।
    नेपाली प्रधानमन्त्रीको ‘प्रचण्ड’ परिश्रमका कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै पछिल्लो सरकारले दुई देशबीचको सम्बन्ध थप सृदृढ बनाउने विश्वास उनले व्यक्त गरेका थिए।
    पतंजलीको भ्रमणपछि प्रधानमन्त्री प्रचण्डको मन बदलिएको र अध्यात्मवादप्रति थप सम्मान बढेको आफूले ठानेको उनी बताउँछन्।
    “कुनै बेला कम्युनिष्टको नाममा, मार्क्सवाद, लेनिनवाद र माओवादको नाममा रुढीवादको खण्डन गर्दा आध्यात्मिक तागत पनि खण्डन गरिन्छ। यहाँ भइरहेका मूर्त कामबाट उहाँ आध्यात्मवादप्रति प्रभावित भएको पाएको छु।”
    आचार्य बालकृष्णले हालैका वर्षहरुमा नेपालमा बढिरहेको जातिवाद र क्षेत्रीयतावादले आफूलाई दुःखी बनाएको बताए।
    उनले भने, “हिमाल, पहाड, मधेश सबै मिलेर राष्ट्रवादको एउटै अवधारणा लिएर अघि बढ्नुपर्छ, अन्यथा मेरो यो जाति र मेरो यो क्षेत्र भन्दै लड्यौँ भने ठूलो हानी हुन्छ र देशलाई ठूलो नोक्सान पुग्छ।”
    पतंजलिले आचार्य बालकृष्णको जन्मदिनलाई जडीबुटी दिवसका रुपमा मनाउने गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.