logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बैंक खाता भएका नेपालीहरूको भारू साटिने!


    ४ मंसिर २०७३ , शनिबार

    बैंक खाता भएका नेपालीहरूको भारू साटिने!

    rupees-med
    काठमाडौं, मंसिर ४
    नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ ।

    भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

    नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालीले वैध रूपमा आर्जन गरेको प्रतिबन्धित दरका नोट बैंकिङ प्रणालीमा खिच्ने मोडालिटी बन्दै छ । नेपालीलाई निश्चित प्रावधान पूरा गरेर आफ्नो बैंक खातामा २५ हजार भारुसम्म जम्मा गर्न दिने मोडालिटी तयार गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तो मोडालिटी भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाइने नेपाली अधिकारीको भनाइ छ । हाल नेपालका सबै जिल्ला सदरमुकाममा बैंकिङ पहुँच पुगिसकेकाले नजिकको बैंक शाखामा गएर खाता खोल्न लगाउने तयारी राष्ट्र बैंकले गरेको छ ।

    राष्ट्र बैंकले वर्षेनी भारतीय श्रमबजारमा पुगेर नेपाल फर्कने दुर्गम इलाकाका नेपालीका लागि ग्राहक पहिचान प्रावधानमा पनि सरलीकरण गरिने बताएको छ । ‘नो योर कस्टुमर (केवाइसी) अर्थात् आफ्ना ग्राहकलाई चिन’ भन्ने प्रावधानका कारण बैंक खाता खोल्न धेरै मानिसलाई समस्या भएपछि केन्द्रीय बैंकले न्यून आय भएका ग्रामीण क्षेत्रका ग्राहकका लागि सरल केवाइसी फारम व्यवस्था गरेको छ । त्यस्तो व्यवस्थाअन्तर्गत नै बैंक खाता खोल्न प्रेरित गरिने कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।

    ‘अहिले धेरै नेपालीले बैंकमा खाता नखोलेका कारण नगद बोकेर भारतबाट नेपाल आउँदा बाटोमै पैसा लुटिने, हराउनेजस्ता समस्या भोग्नुपरेको छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने, ‘यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न पनि हामीले भारतीय श्रमबजारमा प्रवेश गर्ने नेपालीलाई बैंकिङ पहुँचमा ल्याउनु आवश्यक छ ।’ अहिले नेपालीहरू बैंक खाता नै नखोली भारत जाँदा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन नसक्ने समस्या छ ।

    भारत जाने कामदारले नियमित रूपमा नेपालस्थित आफ्नो बैंक खातामा पैसा पठाउने व्यवस्था भएपछि आफ्नो कमाइ नास हुने सम्भावना हट्ने विज्ञ बताउँछन् । भारतमा कार्यरत नेपाली श्रमिकको नेपालमा रहने परिवारले यहाँको बैंकबाट पैसा निकालेर खर्च गर्न सक्ने व्यवस्था भएपछि दुर्घटना, बिरामी वा आपतकालीन घटनामा वित्तीय स्रोत परिचालन गर्नसमेत सघाउ पुग्ने अर्थशास्त्रीहरूको भनाइ छ ।

    अहिलेको अवस्थामा घरमा केही समस्या भए भारत पुगेको व्यक्ति आफैँ पैसा बोकेर नेपाल आउनुपर्ने अवस्था रहेको एक बैंकरले बताए । बैंकमा पैसा जम्मा गर्ने प्रचलनले व्यक्तिगत र पारिवारिक समस्यासँग जुध्नसमेत दीर्घकालीन सुरक्षा प्रदान गर्ने उनी बताउँछन् । अर्का्तिर, भारतले पटक–पटक आफ्ना मुद्रामा यस्तो प्रतिबन्ध लगाउँदै जान थालेपछि भारुप्रतिको जनविश्वास घट्न सक्छ । आफूसँग भएको पैसासमेत काम नलाग्ने अवस्थाबाट मुक्ति पाउन पनि बैंकमा जम्मा गर्ने बानीको विकास गर्न आवश्यक रहेको राष्ट्र बैंक अधिकारीहरूको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.