
लुम्बिनीखबर
भैरहवा, मंसिर ९ । लोपोन्मुख खेल कुस्ती तथा विरहाको संरक्षण गर्ने उद्धेश्यले रुपन्देहीको छोटकी रामनगर गाविस वडा नं. ६ स्थित मझौली चौराहमा अन्र्तराष्ट्रिय स्तरको विराट दगंल कुस्ती प्रतियोगिता तथा भोजपुरी विरहा कार्यक्रम हुने भएको छ ।
स्थानीय वजंरग समितिको आयोजनामा यही मंसिर २६ गते विरहा र मंसिर २७ देखि २९ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको हो ।

तराई–मधेशको पहिचान सहित जोडिएर रहेको कुस्ती खेलको व्यवस्थापन गर्न सरकार समेत उदासिन रहेको अवस्थामा स्थानीयहरुले गत वर्ष देखि कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको बजंरग समितिका अध्यक्ष जय प्रकाश धवलले बताए ।
कुस्ती प्रतियोगितामा नेपाल, भारत लगायत बांग्लादेश र पाकिस्तानका पहलमानहरुको सहभागिता रहने धवलले बताए । प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहं सहित २२६ जना पहलमानहरु भिड्ने उनले बताए ।

प्रतियोगिताको बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय रुपैया, द्वितीय पुरस्कार एलसिडी टि.भी., तृतीय पुरस्कार साइकल तथा ५ हजार नगद तथा सान्त्वना पुरस्कार टी–सर्ट लगायतका अन्य पुरस्कार राखिएको आयोजकको भनाई छ ।
कुस्ती खेलको साथै स्थानीय लोक संस्कृतिको जर्गेना गर्ने उद्वेश्यले भोजपुरी विरहा कार्यक्रमको आयोजना समेत गरिएको बंजरग समितिका जगदीश सहानीले बताए ।

बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने सहानीले बताए । कार्यक्रममा १२ लाख अनुमानित खर्च हुने र सम्पूर्ण खर्च रकम स्थानीयहरुको पहलमा उठाइएको सो प्रतियोगिताका सञ्चार संयोजक विवेक विश्वकर्माले बताए ।