लुम्बिनीखबर
भैरहवा, मंसिर २५ । बजरंग समितिले छोटकी रामनगर गाविस स्थित मझौली चौराहामा हुन लागेको बिरहा र कुस्ती प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंसिर २६ गतेदेखि सुरु हुने बिरहा प्रतियोगिता र २७ गतेदेखि सुरु हुने कुस्ती प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको बजरंग समितिका संरक्षक देवेन्द्र पाण्डे (सागर)ले जानकारी दिए ।
२६गते समाजसेवी तथा व्यवसायी प्रमोद यादवबाट उद्घाटन हुने बिरहा प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त कलाकारहरुको सहभागिता हुने आयोजकले बताएका छन् ।
नेपालबाट कलाकारहरु भोसु यादव, हरिकेश यादव, सुनिता यादवद्वारा बिरहा प्रस्तुति हुनेछ भने भारतबाट शंकर चौधरी, बि.एम सहानीले समेत आफ्नो प्रस्तुति दिने बजरंग समितिका अध्यक्ष जयप्रकाश नारायण धोबी (फोटो)ले जानकारी दिए ।
बिरहा कार्यक्रम साँझ ७ बजेदेखि राति २ बजेसम्म हुने जनाइएको छ । बिरहा प्रतियोगितामा नयाँ कलाकारहरुको समेत सहभागिता तथा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई प्रमाणपत्र एवं नगद पुरस्कारको व्यवस्था रहेको छ ।

२७ गते उद्घाटन हुने कुस्ती प्रतियोगिताको उद्घाटन यस क्षेत्रका सांसद अब्दुल रज्जाकले गर्नेछन् । उद्घाटन सत्रपछि नेपाल, भारत र बंगलादेशका पहलमानहरुको बीच कडा भिडन्त गराइने समितिका कोषाध्यक्ष सुनिल कौशलले जानकारी दिए ।
कुस्ती कार्यक्रमको दोस्रो दिनको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सांसद इश्तियाक अहमद खानले गर्नेछन् भने कार्यक्रमको समापन नयाँशक्ति पार्टीकी नेतृ तथा केन्द्रिय कार्यकारी सदस्य चर्चित अभिनेत्री करिश्मा मानन्धरले गर्ने जनाइएको छ ।
३ देशका २ सय २६ पहलमानबीच हुने कडा प्रतिस्पर्धामा प्रथम हुनेलाई बेस्ट पुरस्कार मोटरसाइकल पल्सर, द्वितीय हुनेलाई नगद ५० हजार, तृतीय हुनेलाई एलईडी टेलिभिजन, चौथो हुनेलाई साईकल तथा ५ हजार नगद र सान्त्वना हुनेलाई टिसर्ट तथा नगद पुरस्कारको घोषणा समेत गरिएको छ ।

जिल्ला कुस्ती संघ सहआयोजक रहेको कार्यक्रममा रुपन्देही, कपिलवस्तु र नवलपरासीका हजारौँ दर्शकहरुको उपस्थिति रहने जिल्ला कुस्ती संघका अध्यक्ष रामप्रसाद ठाकुरले जनाए ।
कार्यक्रममा दर्शकहरुको सुविधाका लागि आफ्नो व्यवसाय गर्न चाहने महानुभावहरुको लागि आयोजकले स्टल राख्ने व्यवस्था समेत गरेको समितिका सचिवालय सदस्य राजकुमार के.सी.ले जनाए ।
नेपालमै ठूलो प्रतियोगिताको रुपमा हेरिएको यो प्रतियोगिता बजरंग समितिले दोस्रो पटक गर्न लागेको हो । यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई प्रदान गरिने पुरस्कार समेत नेपालकै सबैभन्दा ठूलो धनराशीको पुरस्कार भएको आयोजकले दाबी गरेका छन् ।