logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    “सामुदायिक विद्यालय संस्थागत भन्दा अब्बल छन्”


    ११ पौस २०७३ , सोमबार

    “सामुदायिक विद्यालय संस्थागत भन्दा अब्बल छन्”
    10701953_1688493168044779_8158269369574667693_n

    गंगाप्रसाद शर्मा                                                                                                   प्रधानाध्यापक                                                                                                       मधवलिया मा.वि

    सरलाई लुम्बिनीखबरको साताको संवादमा स्वागत छ ?
    –भैरहवाको मुटुमा रहेको पुरानो तथा लोकप्रिय पत्रिका लुम्बिनीखबरको साताको संवादमा मलाई आफ्ना कुराहरु राख्ने मौका प्रदान गर्नुभएकोमा धन्यवाद ।

    यहाँ करिब ३० वर्षदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । यतिका वर्ष सम्म अध्यापनमा समय खर्चिँदा सामुदायिक विद्यालयकोे आरोह अवरोहलाई कसरी नियाल्नुभएको छ ?
    –म यस पेशामा आबद्ध भएको ३० वर्ष पुरा भयो । पहिले शिक्षक र अन्य कर्मचारीप्रति गर्ने नेपाल सरकारको व्यवहारमा एकरुपता थिएन । शिक्षकले पाउने सेवा सुविधा पनि अत्यन्तै न्यून थियो । अहिले त्यसमा केही सुधार आएको छ तर पनि अन्य कर्मचारीको तुलनामा शिक्षकले सुविधा उपभोग गर्न पाएका  छैनन् । विद्यालयको भौतिक सुधार पहिलेको तुलनामा धेरै राम्रो छ । पहिले श्रमदान गरेर भवन निर्माण गर्नुपर्ने अवस्था थियो । अहिले आएर विभिन्न योजना तथा परियोजना मार्फत विद्यालय भवन निर्माणमा समेत थप सहयोग भएको छ । त्यसैले पहिले भन्दा अहिलेको अवस्था सम्म आइपुग्दा थप सुधारहरु भएको देखिन्छ । तर पनि यसलाई पर्याप्त मान्न सकिन्न ।

    पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको देखिन्छ । यसको मुख्य जड के हो ?
    –असाध्यै सान्दर्भिक प्रश्न गर्नुभयो । समग्रमा हेर्दाखेरी सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै जानुमा स्वयं शिक्षक, अभिभावक र सरकारले आ–आफ्नो क्षेत्रबाट निर्वाह गर्नुपर्ने भूमिका प्रति उदासीन हुनु हो । पहिलो कुरा सरकारको शिक्षा नीतिमा नै आमूल परिवर्तनको आवश्यकता देखिन्छ । दोस्रो कुरा अभिभावकले थोरै परिवर्तन र  कम लगानीबाटै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सकिन्छ भन्ने कुरामा आश्वस्त हुन नसक्नु हो । तेस्रो कुरा स्वयम् शिक्षक आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ र बफादार भई शिक्षण सिकाई क्रियाकलापमा संलग्न नहुनु जस्तो मलाई लाग्छ ।

    विद्यालय शान्ति क्षेत्र घोषणा गरिएतापनि पूर्णतया लागू हुुन नसक्नुको कारण शिक्षकहरु राजनीतिमा प्रत्यक्ष सहभागिता हो जस्तो लाग्दैन यहाँलाई ?
    –समय सान्दर्भिक प्रश्न उठाउनुभयो । मेरो विचारमा शिक्षकहरु राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न हुनुहुँदैन । केही शिक्षकहरु आफ्नो पेशालाई भन्दा राजनीतिलाई बढी बढावा दिने पनि होलान् । राज्यले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेतापनि विद्यालयको प्रभावकारी अनुगमन, कार्यान्वयन तथा मूल्याकंन गर्न नसकेको अवस्था पनि छ । विद्यालयलाई राजनीतिको अखडाबाट मुक्त गर्न शिक्षासँग सम्बन्धित सरोकारवाला लाग्नुपर्ने हो तर सरोकारवाला पक्षले त्यति चासो दिएको पनि पाईदैन ।

    हुँदाहुँदै शिक्षकहरु पनि पार्टी कोटाबाट जागिर प्रवेश गर्ने गरेकाले त्यस्तो भएको हो की ?
    –शिक्षकहरुको नियुक्ति गर्दा नेपाल सरकारको शिक्षा नियमावली अनुसार पार्टी कोटा भन्ने हुँदैन । शिक्षक भनेका देशका बौद्धिक वर्ग हुन् । देशलाई परिवर्तन गर्ने गतिशील शक्ति हुन् । देशमा भएका हरेक गतिविधि र परिवर्तनहरुलाई उनीहरुले  सूक्ष्म मूल्यांकन गरिरहेका हुन्छन् र  शिक्षकहरु आदरणीय छन् । त्यसैले पार्टी कोटाबाट जागिर प्रवेश गर्ने प्रावधान नरहेको जस्तो लाग्छ ।

    पढाउन छाडेर राजनीतिमा सक्रिय हुने शिक्षकलाई सरकारले तलब दिइरहुन जरुरी छ र ?
    –राजनीति र शिक्षण पेशा अलग कार्य हुन् । विद्यालय भनेको शिक्षाको पवित्र मन्दिर हो । विद्यालयमा राजनीति गरिनु हुँदैन । अध्यापन कार्यलाई छाडेर राजनीतिमा सक्रिय हुने शिक्षकलाई कुनै हालतमा पनि तलब दिईनुहुँदैन । सामुदायिक विद्यालयको गुणस्तर खस्किनुमा राजनीति पनि प्रमुख कारण हो । व्यक्तिले जुनसुकै पेशा अँगाले पनि आफ्नो पेशाप्रति बफादार भई आफ्नो जिम्मेवारी बोध गर्न सक्नुपर्छ । शिक्षक भनेका देशलाई आमूल परिवर्तन गर्ने अग्रपंक्तिमा रहेका व्यक्तित्व हुन् । त्यसैले यस्तो मर्यादित पेशामा संलग्न व्यक्तिलाई यो कार्य शोभनीय हुँदैन । भनाईको तात्पर्य  शिक्षकले राजनीति नै गर्नुहुँदैन भन्ने होइन तर विद्यालयमा रहेर राजनीतिक क्रियाकलापमा सहभागिता जनाउनु राम्रो होइन ।

    सामुदायिक विद्यालयका अस्थायी, राहत र निजी स्रोतका शिक्षक समस्या दिनानुदिन जटिल बन्दै गएको छ । शिक्षकका समस्या समाधानका उपाय के देख्नुहुन्छ ?
    –आफ्ना नागरिकहरुलाई सरल र सहज ढंगले  शिक्षा दिने व्यवस्था मिलाइनु सरकारको दायित्व हो । देशमा शिक्षा लिने र दिने परिपाटी  एउटै खालको हुनुपर्छ । हुनेखाने र हुँदाखाने ले फरक ढंगबाट शिक्षा लिने परिपाटीको अन्त्य गरिनुपर्छ । सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक एकै हुन् । उनीहरुलाई विभिन्न नामाकरणमा वर्गीकरण गर्नु राम्रो होइन । अस्थायी, राहत, निजी तथा पिसिएफ जस्ता शिक्षकमा उनीहरुलाई विभाजन गर्नुको साटो राज्यले शिक्षा सेवा आयोगबाटै योग्य र सक्षम शिक्षक छनौट प्रक्रिया अगाडि बढाउने हो भने यी सबै समस्याको स्वतः समाधान हुन्छ जस्तो मलाई लाग्छ ।

    अर्को एउटा महत्वपूर्ण पाटो सबैले भन्ने गर्छन् की सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले आफूले सामुदायिकमा पढाउने तर आफ्ना छोराछोरीलाई संस्थागत पढ्न पठाउने गर्छन् । यसबाट के देखिन्छ भने आफैले पढाउने विद्यालयप्रति विश्वास नभएर त होला नी ?
    –कतिपय सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा दिइरहेका छन् । हिजोको सामुदायिक विद्यालय र  आजको सामुदायिक विद्यालयमा धेरै फरक देखिन्छ । कतिपय अभिभावकहरु संस्थागत विद्यालयमा अध्ययनरत आफ्ना बालबालिकाहरुलाई त्यहाँबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरिरहेका पनि छन् ।
    सामुदायिक विद्यालयमा पढाउने शिक्षकलाई संस्थागत विद्यालयमा आफ्ना छोराछोरीहरुलाई पढाउनु असाध्यै गलत कार्य हो । यसले अभिभावक एवं सरोकारवाला पक्षमा नराम्रो सन्देश फैलाउँछ ।  वास्तवमा भन्नुपर्दा अभिभावकहरुको सामुदायिक विद्यालय प्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने देखिन्छ । कतिपय सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले संस्थागत विद्यालयमा पनि अध्यापन गरिरहेको पाईन्छ । तर म दावाका साथ भन्दछु कि हामीले पढाएका विद्यार्थी संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरु भन्दा कुनै कुरामा कमी छैनन् । हरेक गतिविधिमा सामुदायिक विद्यालयमा पढ्ने बालबालिका नै अगाडि देखिन्छन् ।

    राज्यले शिक्षा क्षेत्रमा सबैभन्दा धेरै खर्च गरिरहेको छ तर खासै उपलब्धिमूलक हुन सकेको छैन, तपाईलाई के लाग्छ ?
    –मेरो विचारमा राज्यले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु योग्य र तालिमप्राप्त पनि छन् तर अभिभावकको सामुदायिक विद्यालयप्रति हेर्ने दृष्टिकोणमा भने सकारात्मक परिवर्तन आएको पाईदैन । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्दा प्राथमिकताका आधारमा लगानी गर्न सक्नुपर्छ । जसले गर्दा पिछडिएका, दलित, जनजाति, मधेसी आदि वर्गका विद्यार्थीहरु प्रत्यक्ष शिक्षाबाट लाभान्वित हुन सकुन् वा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन् । साथै शिक्षक नियुक्ति गर्दा राजनीतिक कोटा प्रणाली नभएतापनि राजनीतिक पहुँचका आधारमा कतै रकम लगानी भएर हो की यसै भन्न सकिने अवस्था भने छैन ।

    प्रसंग बदलौँ, यहाँले अन्य पेशा छाडेर शिक्षण पेशा नै अँगाल्नुको कारण ?
    –मेरो विचारमा अन्य पेशाको तुलनामा शिक्षण पेशामा बढी सेवाको भाव हुने कारणले र सेवा नै धर्म हो भन्ने मान्यता राख्ने विचार ममा रहेकोले यो पेशामा लागेको हुँ ।
    यहाँको श्रीमती पनि शिक्षण पेशाबाट भर्खर निवृत्त हुनुभएको छ । यहाँ पनि शिक्षण पेशामा संलग्न भइरहँदा आफूहरुले जीवनमा के पाए जस्तो वा के गुमाए जस्तो अनुभूति लाग्छ?
    –म शिक्षण पेशामा लाग्न पाउँदा आफूलाई अहोभाग्यमानी ठानेको छु । हो मेरी श्रीमती पनि विगत २० वर्षदेखि  शिक्षण पेशामा नै संलग्न थिईन्  र अहिले शिक्षण पेशाबाट भर्खर निवृत्त भएकी छन् । मेरो  पनि शिक्षण पेशामा संलग्न भई कर्तव्यनिष्ठ शिक्षकको भूमिका निर्वाह गर्ने चाहना थियो । जीवनमा मेरो जीवनसाथी पनि यही पेशामा संलग्न भई देशको सेवा गर्ने कर्मठ, योग्य खालको व्यक्ति चाहन्थेँ । मैले आफूले चाहेको तथा रोजेको जस्तो जीवनसाथी पाएकोमा मलाई गर्व छ । उनी हरेक मेरा काममा मेरो लागि प्रेरणाकी स्रोत हुन् । मलाई उनले जिउने कला पनि सिकाएकी छन् । मैले शिक्षण पेशामा संलग्न भएकी श्रीमती पाउँदा केही गुमाएको जस्तो लागेको छैन । बरु मैले सर्वस्व पाएको अनुभव गरेको छु ।

    शिक्षण पेशामा पहिले जति सम्मान थियो त्यो पछिल्लो समय घट्दै गएको छ । त्यसको मुख्य कारण र जिम्मेवार को ठान्नुहुन्छ ?
    –तपाईले गुरुकुल शिक्षक र अहिलेको शिक्षकबीच तुलना गर्न खोज्नुभयो जस्तो लाग्यो । त्यो बेला शिक्षकलाई एउटा आदर्शको रुपमा लिइन्थ्यो । बढी आदर, सत्कार गरिन्थ्यो । त्यतिबेला एकोहोरो शिक्षा प्रणाली थियो शिक्षकलाई गुरु तथा देवताकै अवतार मान्ने गरिन्थ्यो ।  २०६३को जनआन्दोलन पछि नेपालमा गणतन्त्र आएको छ । गणतन्त्र पहिलेको शिक्षा र पछिको शिक्षामा धेरै अन्तर आएको छ । अहिलेको शिक्षा भनेको बालमैत्री, युवामैत्री, शिक्षकमैत्री तथा वातावरणमैत्री खालको छ । हामीले पुरानो ढर्रालाई नै अँगाल्ने हो भने आफू कहिल्यै परिमार्जित र परिस्कृत हुन सकिँदैन  र सिकाइमा पनि परिवर्तन हुन सक्दैन । त्यतिबेलाका गुरुहरु जस्तै आजका शिक्षकहरुलाई त्यति नै आदर, सत्कार नभएतापनि शिक्षकलाई आज पनि आदर्श र पथप्रदर्शकको रुपमा नै हेरिन्छ । यसमा को जिम्मेवार भन्नुभन्दा पनि हामी सबै समय र परिस्थिति अनुरुप आफूलाई परिमार्जित गर्न सिक्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिलेको समयमा केही विकृति र विसंगतिले गर्दा पहिलेको शिक्षकले जति आजका शिक्षकले आदर र सम्मान भने पाएका छैनन् ।

    यहाँको विद्यालयको अवस्था के छ ?
    – म मधवलिया माविमा कार्यरत छु । यो विद्यालय २०१४ सालमा स्थापना भएर पनि आजसम्म आशातीत प्रगति गर्न भने सकेको छैन । विद्यालयको जग्गा प्रशस्त भएर पनि दोहोरो पुर्जाको कारण पछाडि परेको छ । कमजोर भवन, अपर्याप्त शिक्षक दरबन्दी एवं स्थायी आयस्रोतको कमी नै यस विद्यालयका प्रमुख समस्याहरु हुन् । समग्रमा भन्नुपर्दा यस विद्यालयको अवस्थालाई सन्तोषजनक भएको मान्न सकिँदैन ।

    जीवनको महत्वपूर्ण समय सोही विद्यालयमा बिताईसक्नुभएको छ । पछिल्लो समय प्रअको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । विद्यालयको सुधारको लागि के के योजना ल्याउनुभएको छ ?
    –विद्यालयको सुधारका लागि आगामी दिनमा नेपाली र अंग्रेजी दुवै माध्यममा गुणस्तरीय शिक्षा प्रदान गरी हाल कक्षा १० सम्म रहेको विद्यालयलाई निकट भविष्यमै उमावि सम्म पठनपाठन संचालन गर्ने, विद्यालयको भौतिक सुधारको लागि विभिन्न संघसंस्था एवं शिक्षासँग सम्बन्धित विभिन्न निकायमा अनुरोध गर्ने, विद्यालयमा स्थायी आयस्रोतको लागि दोहोरो पुर्जाको जग्गालाई एकल विद्यालयकै स्वामित्व कायम गर्न प्रयास गर्ने नै भावी योजनाको रुपमा लिएको छु । माथिका कार्यहरु पुरा गर्न म निरन्तर लागिरहनेछु ।

    अन्त्यमा ?
    –अन्त्यमा हामी शिक्षण पेशामा संलग्न सम्पूर्ण शिक्षकहरुले आफ्नो पेशामा कर्तव्यनिष्ठ, बफादार तथा इमान्दार रही आफ्नो पेशाप्रति समर्पित भई सेवा गरौँ भन्ने कुरा सम्पूर्णलाई सन्देश दिँदै यस लोकप्रिय पत्रिकाको माध्यमबाट लुम्बिनीखबरले मलाई पनि आफ्ना भावनाहरु राख्ने मौका दिनुभएकोमा कृतज्ञताका साथ यहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.