
उमेशचन्द्र रिजाल
नेताहरुप्रति उठेको हाम्रो वितृष्ण, घृणा र तिरस्कारलाई कसरी मूल्याङ्कन गर्नु होला थाहा छैन । तपाईहरुले भन्नुभयो २०४६ सालमा “जुलुसमा हिँड, हामी हिँड्यौँ । तिमीहरुले प्राणको आहुति दिनुपर्छ” भन्नुभयो, हामीहरुले दियौँ । तपाईहरुको कथन थियो की पञ्चायतलाई फालेर अत्यन्त राम्रो राज्य व्यवस्था ल्याउने, हामीले विश्वास ग¥यौँ ।
२०४६ सालमा ग्रामीण इलाकाहरुमा आन्दोलन नै भएन । आन्दोलनको केन्द्रविन्दु शहर र बजार नै रह्यो । हामी गाउँमा बस्ने गरीब, विपन्न जनताले के सोच्यौँ भने आन्दोलन पछि आउने व्यवस्थाले हाम्रो कल्याण गर्नेछ, कम्तीमा पनि एक धरो कपडा र दुई छाक खान पाइनेछ, दुर्गम र विकट ठाउँमा बस्ने हामीहरुले भगवान्सँग पुकारा ग¥यौँ, पञ्चायत यथाशीघ्र जाओस् भनेर ।
हाम्रा चाहनाहरु,इच्छा र आकांक्षाहरु ठूला थिएनन्, हामीले साह्रै ठूला कुरा पनि मागेका थिएनौँ, काम गरेर दुई छाक खान पाउने हाम्रो सपना थियो । तपाईहरुले गाउँमा मानिस कसरी बाँच्छन् भनेर कहिल्यै सोच्नु भएन । हामीलाई बधुवा मजदुर जत्तिकै बनाइयो । उकाला जान सकिन्न ओरालो कहालीलाग्दो छ ।
तपाईहरुले हामीलाई कति मिठो सपना देखाउनुभयो थाहा छ ? नेपाली कांग्रेसको सरकार युवाहरुलाई रोजगार प्रजातान्त्रिक समाजवाद हाम्रो प्रतिबद्धता । नेकपा (एमाले) को सरकार गास बास कपास । त्यतिमात्र होइन गरीबको उत्थान र यससँग गाँसिएका धेरै सपनाहरु देखाउनुभयो ।
त्यो सपना थियो, वर्तमानमा आएर हामी ब्यूँझिन पुग्यौँ, यस्तो अवस्थामा ब्यूँझ्यूँ किन हाम्रो भूत, वर्तमान र भविष्य सबै सखाप भइसकेको रहेछ । धिक्कार छ तपाईहरुलाई धिक्कार छ ।
हामीहरु अहिले विचित्र अवस्थामा उभिएका छौँ । हाम्रा गोठमा गाईहरुको संख्या घटिरहेको छ । बाच्छाहरु दुब्ला र ख्याउटे छन्, हाम्रो वर्तमान त छैन नै, भविष्य पनि के हुने थाहा छैन । शहरहरुमा गरिने तपाईहरुक गोष्ठीसँग हामीलाई सरोकार छैन, किनकी त्यसको कुनै अर्थ छैन । आज एक थोक र भोली अर्को थोक बोल्न तपाईहरु माहिर हुनुहुन्छ भन्ने थाहा पाएको भए वर्तमान यति साह्रै डरलाग्दो, भयावह र कहालीलाग्दो हुने थिएन । हामी समयमा नै सचेत हुने थियौँ ।
चौतारीमा आनन्दले बस्ने हाम्रा दिनहरु अतीत बनेका छन्, मेला बजार र दोहोरी पनि सपनाको मीठो वास्ना मात्र बनेको छ । तपाईहरुका अर्ती र उपदेशले हाम्रा कान पाकिसकेका छन् । अब हामीमा उत्साह, उमंग र स्फूर्ती छैन । कसरी रात शुरु भएपछि दिनको उज्यालो सम्म बाँच्ने ? भन्ने त्राण मात्र छ ।
माथिल्लो गाउँको जेठो खान नपाएर जङ्गल पस्यो भन्ने धेरै अगाडि सुकेको हो, माइलो भारततिर लाहुरे भएर गयो रे, कान्छो लाटो चाहिँ घरमै बसेको छ, बूढाबूढीको काल पर्खेर नेताज्यूहरु ! कहाँ राख्नुभयो ? प्रजातान्त्रिक समाजवाद र कहाँ थन्काउनुभयो “गास, बास र कपास ।” गाउँ मरिसकेको छ, यसमा ज्यान छैन, शहर पनि अधमरो अवस्थामा गुज्रिरहेको छ रे भनेर तल्लाघरे डल्लेले अस्ती मात्र सुनाएको थियो ।
हाम्रो जीवन मात्र होइन, हाम्रा सन्ततिको जीवन पनि सखाप पार्नुभयो, बधाई छ । जनता भनेका जसरी नचाए ताने पनि हुन्छ भन्ने सोच्नुभयो तपाईहरुले ? तर यसको मूल्य अथाह छ र पश्चातापको आगोमा हामी जलिरहेका छौँ । लामो र कठीन राजनैतिक यात्रा तपाईले पार गर्नु भएन भनेर हामी भन्दैनौँ ।
यो कठिन र लामो यात्रा आफ्नै लागि हो भनेको भए वर्तमानमा हाम्रो नियति यस्तो हुने थिएन । आज तपाईहरु एकले अर्कालाई गालामा चड्कन हान्दै हुनुहुन्छ । घरकी जोई मिलाउन नसक्ने नामर्दले ठूला कुरा गर्नुपनि बेकारै हुन्छ । यसैले पनि हो भने मुलुकमा तपाईहरुको वास मात्रले श्राप पाएको छन् ।
त्यसको फल भनेँ हामी भोग्दै छौँ । हामीले भित्ताघरे कान्छो देखि लिएर टारबारीको माइलो र स्कूलपे सर सम्मलाई जितायौँ । उनीहरुले आफ्नो गाउँ नै भुलेछन्, काठमाण्डौमा ठूलो घर र गाडी छ रे भन्ने सम्म सुनेको हो । बेला बेला ठूला होटलका कोठामा भाषण छाँट्छन रे । कार्यकर्ताहरु गाउँ गाउँमा जानुपर्छ भन्छन् रे, माओवादीसँग वैचारिक युद्ध गर्नुपर्छ रे ।
उनीहरु चाहिँ होटल भित्रका कोठाबाट हुकुम गर्ने रे । यो विषम परिस्थिति हो । यसमा राजनैतिक दलका नेता बाहेक अरुले बोल्न हुन्न । नेताहरुले चाही जे बोले पनि हुन्छ र जे खाए पनि हुन्छ । जति बोल्यो मुख त्यति ठूलो हुन्छ र पेट निर्धक्कसँग बढ्न जान्छ ।
नेताहरु जति रुन्छन् उति अखबारले छाप्छन् र जति नेताहरु रोएको अखबार बिक्छ त्यति फाईदा छ । हाम्रो कुनै मूल्य छैन, हामीले हामी भन्ने स्व नेताहरुलाई छाप लगाई बुझाईसकेका छौँ । यसैले नेता जे बोल्छन् त्यो हामीले बोलेको हुन्छ, नेता जे खान्छन् त्यो हामीले खाएको हुन्छ । यस्तो दुर्गतिको नियतिमा बाँच्नु परेको छ ।
अस्ति एउटा नेताले भने रे जनता भनेको म हूँ किनकी जनताले भोट दिएर मैले जितेको हो त्यसैले ६०१ जना भन्नु नै सम्पूर्ण नेपाली रे । कुरा बेठीक होइन, हामीले राम्रो काम गर भनेर नै हाम्रा प्रतिनिधिहरु छानेका हौँ र उनीहरुले पनि हामी यति राम्रा काम गर्छौँ भनेर विश्वास दिलाएर हाम्रो मत प्राप्त गरेका हुन् । खोलो तरेपछि लौरो बिर्सनेहरुलाई इतिहासले माफ गर्ने छैन, छैन र छैन ।
आज हामी डरलाग्दो परिस्थितिमा उभिएका छौँ । नेताहरुले अथाह सम्पति कमाईसकेका छन्, उनीहरुका लागि यो विश्व नै घर भईसकेको छ । लेकमा घर र बेसीमा खेती हुने हामीहरु बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्ने कर्मचारी र मजदुरहरु जसको कुनै निश्चित भविष्य छैन, कहाँ जाने ? नेताहरु अघि लाग हामी पछि हिँड्छौँ ठाउँ देखाइदिनुप¥यो ।
हजारौँ चोटी गल्ती गर्ने अनि हजारौँ पल्ट गल्ती भएछ भन्ने नेताहरु अब हामीलाई चाहिएको छैन । नेताहरु हो अब सिर्फ एकपल्ट गल्ती गर र त्यो गल्तीलाई कुनै पनि जनताले औँला उठाउने छैन “सम्पूर्ण जनतालाई एकै खाल्डोमा जाक” निस्कन नसक्ने गरी र फेरी नउठ्ने गरी । नकचरो पाराले, चटकले जस्तो घरी घरी गल्ती गर्दै माफ माग्ने काम छोडिदेओ ।
२०६२÷६३ को आन्दोलन सुरु भयो लोकतन्त्रको नाममा निरंकुश शासनको विरुद्धमा राजा त जङ्गल पसे अब हामी (जनता) फस्यौँ, संघीयताको चक्रव्यूहमा, जातियताको नाममा अनि दलीय घृणित खेलमा ?? राजा हाम्रो चाहाना हो होइन ? संघीयता हाम्रो माग हो होइन ? यस सम्बन्धमा हामी जनताहरुलाई किन सोधिएन ? किन हामीलाई लोकतन्त्ररुपी मीठो फल देखाएर मुलुकलाई खण्ड र विखण्ड पार्न खोजिँदैछ ? यसको जवाफ कसले दिने ??
अखण्ड के हो ? अखण्ड समग्र मुलुक हुन्छ । अखण्ड प्रदेश कहीँ कतै सुनिएको छैन ।
हिजोको हिन्दू राष्ट्र नेपाल आज रुँदैछ, हिन्दू राष्ट्र हुँदा के कुनै धर्मले पीडा र उत्पीडन खप्नुप¥यो ? आज धर्म निरपेक्ष राष्ट्र घोषणा सँगै धार्मिक विभेद बढेको छ । विपी कोइराला किन भारतबाट नेपाल आए ? र उनले राजा र मेरो घाँटी जोडिएको छ किन भनेँ ? काँग्रेसका नेतृत्व वर्गले यो बुझेका छन् छैनन् थाहा छैन । जबकी विपीलाई फाँसी सम्म हुन सक्थ्यो ।
मधेसवादी दलका नेताहरु महन्त ठाकुर, शरद सिंह भण्डारीहरु नेपाली कांग्रेका पृष्ठभूमि भएका नेताहरु हुन् । आज उनीहरु के कारणले कांग्रेस विरुद्ध छन्, थाहा छैन । मुलुकको बागडोर समाइसकेका उपेन्द्र यादवहरुको माग जायज छ छैन, कसले निर्धारण गर्ने ? उनकै निर्वाचन क्षेत्रमा यसको परीक्षा गर्न सकिन्न ? राजेन्द्र महतोे सद्भावनाका अध्यक्ष हुन्, गजेन्द्र नारायण सिंहको पार्टी पनि सद्भावना थियो, भद्र पुरुष गजेन्द्र नारायण सिंक हुनुहुन्न । सन्दर्भ के हो भने मधेस छुट्टै बसे पनि फरक हुँदैन तर राष्ट्रका लागि अखण्ड अस्वीकार्य छ । अखण्ड त राष्ट्र हुन्छ, प्रान्त हुँदैन, हुँदै हुँदैन ।
अखण्ड प्रदेश भन्नु नै विखण्डित प्रदेश हुन सक्छ । जात जाति लडाएर, संघीयताको ललीपप देखाएर के हुन्छ ? भारतमा राजस्थान, उत्तर प्रदेश, विहार, झारखण्ड, मध्यप्रदेश, छत्तीसगढ, हरियाणा, पञ्जाब, हिमाञ्चलप्रदेश, उत्तराञ्चल, सिक्किम, मेघालय, अरुणाञ्चल प्रदेश, आसाम, मेघालय आदि राज्यहरु अवस्थितिले के फरक पारेको छ? नेताहरुले बुझ्नुपर्ने हो । कुनै राष्ट्र र राजनैतिक दलहरुसँग यो राष्ट्र लम्पसार हुन सक्तैन, सबैले समयमा नै कुरा बुझे राम्रो !!