नरेश के.सी.
झ्याङला, पुस १९ । मुलुकमा अहिले घुमफिर वर्ष २०७३ चलिरहेको छ । सरकार, नेपाल पर्यटन बोर्ड र पर्यटनसँग सम्बद्ध संघसंस्थाले पर्यटनका नयाँ नयाँ गन्तव्यहरु खोजी गरिरहेका छन् ।

दोभान गाविस वडा नं ७ जसलाई झ्याङला भनेर चिनिन्छ । सो ठाउँको नाम झ्याङला कसरी हुन गयो भन्नेमा पनि ऐतिहासिक किम्वदन्ती रहेको छ । सो क्षेत्रका सामाजिक अभियन्ता चोपलाल गिरीका अनुसार मगर जातिको बाहुल्यता रहेको सो क्षेत्रमा जंगलमा गिठा भ्याकुर खोज्न जाँदा पटुकाको झ्याङलो बनाएर हिँड्ने गर्दथे ।
पछि उनीहरु दोभान, बुटवल, तानसेन लगायतका सहरहरुमा जाँदा पनि सोही झ्याङलो बोकेर जाने र स्थानीयहरुले उनीहरुलाई झयाङले भन्दा भन्दै सो शब्द अपभ्रम्स हुन गई पुरै गाउँको नाम नै झ्याङला हुन गएको हो ।

झ्याङलाको ऐतिहासिक महत्व जति छ त्यो भन्दा बेसी पर्यटकीय महत्व रहेको छ । सो क्षेत्रमा रहेका गणेश टोल, कुसुण्डे, झ्याङला, बगाहा, तीनहले, हापुर, महापुर, डडेगाउँ, पालटाँगे, भुताहा जस्ता ठाउँ पर्यटकीय गन्तव्यको लागि अत्यन्त महत्वपूर्ण रहेका छन् ।

३२ सय जनसंख्या रहेको झ्याङला गाउँको तलपट्टि दोभान खोला रहेको छ । बुटवल तानसेन सडक खण्डको दोभानबाट झोलुङ्गे पुल तरेपछि झ्याङलातर्फको बाटो सोझिन्छ । करिब ५ किलोमिटरको यात्रा पश्चिमतर्फ तय गरेपछि दोभानबाट झ्याङला पुग्न सकिन्छ ।

सो गाउँको प्राकृतिक सौन्दर्यता जत्ति लोभलाग्दो छ, त्यो भन्दा बढ्ता त्यहाँका मानिसहरुको आतिथ्यता सम्मान योग्य देखिन्छ । पश्चिम नेपालको मुख्य सहर बुटवलबाट हिँउदको समयमा दोभान हुँदै हिँडेर करिब ३ घण्टा र सवारी साधन मार्फत १ घण्टामा पुग्न सकिने उक्त ठाउँ पर्यटकीय गन्तव्यको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिन्छ ।

ग्रामीण र साहसी पर्यटनका लागि दोभानबाट टे«किङ रुट खोली झ्याङला सम्म पर्यटनको विकास गर्न सकिने सिद्धार्थ एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) अध्यक्ष चन्द्र बहादुर थापा मगरले जानकारी दिए ।
उनले भने “हामी मगर जातिको ऐतिहासिकतासँग जोडिएको झ्याङलाको पर्यटन प्रर्वद्धनमा हामी त लाग्छौँ नै साथसाथै सरकार र सरोकारवाला निकायलाई घचघच्याउनेछौँ ।”
