logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नयाँ नेपालको लागि नयाँ योजना सहितको युवा नेतृत्व आवश्यक छ


    ३ माघ २०७३ , सोमबार

    नयाँ  नेपालको लागि नयाँ  योजना सहितको युवा नेतृत्व आवश्यक छ

    यहाँलाई लुम्बिनीखबरको साताको संवादमा स्वागत छ ।
    –धन्यवाद ।

    यहाँ केही वर्षदेखी नेपालको विद्यार्थी र युवा आन्दोलनमा सक्रिय हुनुहुन्छ, तर पछिल्लो समय नेपालको राजनीतिमा युवाहरुको भूमिका कमजोर रहेको भन्ने आरोप लाग्छ नी ?
    –युवाहरुको भूमिका कमजोर छैन । किनभने अहिले प्रत्येक पार्टीमा युवाहरुको विजय धेरै भएको देखिएको छ । तपाई कुनैपनि पार्टीको भातृ संगठन हेर्नुस्, अहिले प्रत्येक संगठनहरुमा युवाहरुको अग्रता देखिएको पाईन्छ । पार्टीको मुख्य नेतृत्वमा युवाहरुको कमी भएपनि भविष्यमा युवाहरु छिटो नै नेतृत्वमा देखिनेछन् । सरकार हेरफेर भएको बेलामा पनि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति सुरु गर्नुभएका युवाहरु अहिले मन्त्री भएको धेरै नै देख्न सकिन्छ । पार्टीको केन्द्रिय कमिटीको नेतृत्व पंक्तिमा पनि युवाहरुको अग्रता देखिन्छ । जिल्ला कमिटीहरुमा युवाहरुको सक्रिय अग्रता देखिन्छ ।

    उमाअधिकारी/एमाले जिल्ला कमिटी सदस्य, रुपन्देही

    –युवाहरुलाई साधनको रुपमा प्रयोग गरेको हैन यो कुरालाई यसरी बुझौँ, युवावर्गलाई राजनीतिक नेतृत्वले बाटो देखाउँदै, डो¥याउँदै अगाडि लगेको पाईन्छ । नेपालमा जहिले पनि परिवर्तनको कुराहरु आउने गर्दछन्, आन्दोलनका कुराहरु आउने गर्दछन्  । युवा वर्गको भूमिका सक्रिय देखिन्छ । त्यसैगरी राष्ट्रनिर्माणको कुरामा पनि युवावर्गकोे अग्रता देखिएको छ । अहिले नेपालका ठूला–ठूला पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, एमाओवादीमा युवा सांसदहरुको उल्लेख्य सहभागिता भएको पाईन्छ । यस कुराले पनि देखाउँछ कि युवाहरुको भूमिका कमजोर भएको छैन । नेतृत्वको लागि पनि युवाहरुको पंक्ति तयार रहेको सबै पार्टीहरुमा देख्न सकिन्छ । नेतृत्व तहले युवाहरुलाई समावेश गर्दै राष्ट्र निर्माणको कार्य गरेको देख्न सकिन्छ । नयाँ परिवर्तनसँगै युवाहरु पनि मन्त्री समेत भएको पाईन्छ ।

    आन्दोलन र परिवर्तनका समयमा युवाहरु अग्रपंक्तिमा नेतृत्व गरेको देखिन्छ । नेपालका पार्टीहरुको नेतृत्व र प्रधानमन्त्री हुने अवसर नेपालका युवाहरुले पाए भने देश विकासको सम्भावना कत्तिको देख्नुहुन्छ ?
    –युवाहरुमा धेरै जोश र जाँगर हुने भएकाले आन्दोलनको समयमा अग्रपंक्तिमा देखिनु स्वाभाविक नै हो । अघि नै मैले भनिसकेँ,  नयाँ परिवर्तनसँगै युवाहरु पनि मन्त्री समेत भएको पाईन्छ । युवा मन्त्रीहरुले कसरी आफ्नो मन्त्रालय चलाउनु भएको छ त्यस आधारमा पनि भविष्यमा नेपालको उच्च ओहदामा पुगेर देश चलाउने मौका छिटो नै आउनेछ । जसरी अहिले देश पुरा युवामय भएको छ मलाई लाग्छ अब भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा युवाहरुको नेतृत्व उल्लेखनीय रुपमा विजयी भएर आउनेछ । पक्कै पनि युवाहरु प्रधानमन्त्री भए भने देश विकास धेरै सम्भव भएको देखिन्छ । जोश र जाँगरले भरिपूर्ण नयाँ नयाँ योजना कार्यान्वयन गरेर देशलाई विकासको बाटोतिर लम्काउँदै देश हाँक्न युवाहरु तयार छन् ।

    नेपालमा अहिलेको राजनीतिक परिस्थितिलाई यहाँले कसरी मूल्याकंन गर्नुभएको छ ?
    –अहिले नेपालको स्थिति एकदमै संवेदनशील अवस्थामा छ । प्रदेश प्रदेशमा आन्दोलन चर्किएको हुनाले जातिय राजनीति बढी भएको देखिन्छ, जुन देशको लागि खतरनाक हो ।

    राजतन्त्रपछि आएको गणतन्त्रबाट आम नेपाली जनताले के पाए जस्तो लाग्छ ? यहाँको विचार ?
    –२०६२÷६३ सालको दोस्रो जनआन्दोलनपछि आम नेपाली जनताले धेरै ठूलो आश गरेका थिए की अब देशको स्थिति राम्रो हुनेछ । दश वर्षे जनयुद्धपछि आएको  गणतन्त्रमा हिंसा, हत्या र बलात्कार जस्ता कुराहरुको अन्त्य हुनेछ र नेपाल शान्तपूर्ण तरिकाले चल्नेछ । आम नेपाली जनताहरुको यही आशा थियो तर राजनीतिको किचलोपन, अस्थिर सरकार, कुर्सीको लोभ, कमजोर राष्ट्रियता, जातिय द्वन्द्व, साम्प्रदायिक भावना लगायतका कुराहरुले नेपाली जनतामा नैराश्यता छाएको छ ।

    तराई, पहाड अलग गराउने गरी सरकारले गरेको ५ नम्बर प्रदेश विभाजनले यस क्षेत्रको राजनीतिक क्षेत्रमा कस्तो प्रभाव परेको देखिन्छ ?
    –ओली सरकारको ९ महिले कार्यकालको समयमा ७ प्रदेशको धारणालाई ९० प्रतिशत जनप्रतिनिधिले समर्थन गरी पारित गरेको कुरालाई अहिलेको प्रचण्डको  सरकारले उल्टाउन खोजेको कुरा यस प्रदेश नम्बर ५ का जनताहरुले मानेको देखिएको छैन । अहिले प्रदेश नम्बर ५मा आन्दोलन चर्किएको देखिन्छ । यसले यो पनि देखाउँछ की यहाँको तराई र पहाड अलग गराउने गरी सरकारको निर्णयलाई यहाँका जनताहरुले स्वीकारेको पाईदैन । पहाडको पानीले तराईमा सिँचित भएर नै यहाँ खाद्यान्न उत्पादन भएको छ, यहाँको खाद्यान्न फेरी त्यही पहाडका जनताले खान पाएका छन् ।

    पहाडको फलफूल सब्जी तराईका जनताले उपभोग गर्न पाएका छन् । यसरी पहाड र तराईलाई छुट्याउन खोज्दा जातिय भावना, क्षेत्रीय भावना विभाजन भएको देखिन्छ । जुन कुरा समाजलाई राम्रो हुनेछैन । यसले गर्दा यहाँको राजनीतिक क्षेत्रमा पनि नराम्रो प्रभाव देख्न सकिन्छ । अहिले मंसिर १५ गते देखि सुरु भएको आन्दोलनमा जातिय, साम्प्रदायिक भावना सिर्जना भएको पाईन्छ । हत्या, हिंसाको राजनीतिले समेत प्रश्रय पाएको छ । राजनीति क्षेत्र कमजोर भएको हुनाले यस्तो प्रकारको गतिविधि बढेको हो । यसले समाजलाई एकतातर्फ भन्दा पनि विखण्डनतर्फ उन्मुख गराएको पाईन्छ ।

                          नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली संग युवा नेतृ उमा

     

    एमालेको खोक्रो राष्ट्रवादले देश विखण्डनतर्फ अग्रसर भएको भन्ने आरोप अन्य राजनीतिक दलहरुले लगाउने गरेका छन् । खास कारण के हो ?
    –नाकाबन्दी जस्तो अमानवीय काम छिमेकी राष्ट्रले ग¥यो त्यसलाई यहाँका अरु राजनीतिक दलका नेताहरुले समर्थन गरे । त्यसको विरुद्धमा एमाले बोल्दा कसरी खोक्रो राष्ट्रवाद भयो र नेपाली जनतालाई दुख दिने गरी गरिएको नाकाबन्दीलाई समर्थन गर्नेहरु कसरी राष्ट्रवादी भए ? १० वर्षे जनयुद्ध भारतीय ईशारामा भएको दस्तावेज जनतासामु आउँदा त्यो राष्ट्रवादी, जनता नमार भन्ने  एमाले खोक्रो राष्ट्रवादी । जातिय विखण्डन गराउँ भन्नेहरु कसरी राष्ट्रवादी हुन सक्छन् र वर्गीय समानता सबै नेपालीलाई  दिउँ भन्ने एमाले कसरी खोक्रो राष्ट्रवादी । यो राष्ट्रघातीहरु र अदृश्य शक्तिको आडमा चल्ने राजनीतिक दल नेता भनाउँदाहरुको  आरोपको नेपाली जनताले कुनै तुक देख्दैनन् ।

    युवा संघ रुपन्देहीका अध्यक्ष  दुर्गा तिवारीको गोली हानी गरिएको हत्या  काण्डको छानबिन गरी दोषीलाई सार्वजनिक गर्छु भनेको युवा संघको छानबिन प्रतिवेदन कहाँसम्म पुग्यो ?आम नेपाली जनतालाई प्रष्ट पारिदिनुस् न ।
    –सरकारको तर्फबाट नै अहिले छानबिन समिति गठन भएर कामहरु अगाडि बढिरहेको छ । उनीहरुले मागेको समय पुरा भएर प्रक्रिया अगाडि बढाउनका लागि पुन ः म्याद थप गरिएको छ । युवा संघ नेपालले पनि यसको छानबिन गर्ने प्रतिबद्धता आम नेपाली जनतालाई दिएको थियो  र हामीले सरकारी प्रतिवेदनको नतिजा हेरिरहेका छौँ । नतिजा चित्तबुझ्दो नभएको खण्डमा  हामीले समेत छानबिन र दोषी उपर कारबाहीको लागि आन्दोलनको कार्यक्रमहरु गर्नेछौँ  । हामीले प्रहरीलाई छानबिनको लागि पूर्ण रुपमा सहयोग गरिरहेका छौँ र अपराधी अनुसन्धानको घेराभित्र परिसकेको सरकारले जानकारी दिएको छ । अपराधी सार्वजनिक गर्दा अनुसन्धानमा असर पर्ने हुनाले समयमा त्यसको सूचना नेपाली जनतालाई दिन नसकेका हौँ ।

    नयाँ नेपाल निर्माणका लागि यहाँका आफ्ना योजनाहरु के के रहेका छन् ?
    –नयाँ नेपाल निर्माणका लागि नयाँ नयाँ योजनामा युवाहरुको भूमिका एकदमै आवश्यक भएको पाईन्छ । अहिले नेपाली युवाहरु पढाई तथा रोजगारीको सिलसिलामा विदेश जाने अनि त्यहीको जीवनशैलीसँग रमाएर नेपाल नफर्किने  चलन बढेको पाईन्छ । यसकारणले गर्दा पनि नेपालमा पढेलेखेका र सीपयुक्त युवाहरुको अभाव भएको देखिन्छ । भविष्यमा आफ्नो नेपालको विकासका लागि त्यस्ता युवाहरुलाई नेपाल फर्काउने र राष्ट्र निर्माणमा वहाँहरुको सहयोग लिँदै राष्ट्र निर्माणमा लाग्ने योजना छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.