विद्यालय स्तरीय भलिबल र क्लबस्तरीय क्रिकेट
गोकुल पोखरेल
भैरहवा, माघ ९ । शुक्रबारदेखि भैरहवामा सुरु भएको सामूहिक भलिबल कपको उपाधि छात्रतर्फ फ्युचर लाईट र छात्रातर्फ आदर्श विद्या मन्दिरले प्राप्त गरेका छन् ।
सामूहिक विद्यालय परिवार रुपन्देहीमा आबद्ध विभिन्न विद्यालयहरुको प्रतिस्पर्धामा सम्पन्न खेलमा छात्रातर्फ आदर्श विद्या मन्दिर प्रथम, सिबी पब्लिक द्वितीय र क्रिष्टल नलेज एकेडेमी तृतीय भएका छन् । यसैगरी छात्रतर्फ फ्युचरलाईट प्रथम, क्रिष्टल नलेज द्वितीय र लुम्बिनी शिक्षा निकेतन तृतीय भएका छन् ।

प्रतियोगितामा छात्रतर्फ फ्युचर लाईटका रवि चौधरी बेस्ट प्लेयर, क्रिष्टल नलेजका आत्मा सागर बेस्ट सेटर, लुम्बिनी शिक्षा निकेतनका मोती उल रहमान बेस्ट ब्लकर, क्रिष्टल नलेजका गणेश श्रेष्ठ बेस्ट डिफेन्डर, फ्युचर लाईटका शैलेश सुनार बेस्ट स्पाइकरको उपाधि प्राप्त गरेको सामूहिक विद्यालय परिवारका सचिव प्रेम नारायण पौडेलले जनाए ।
सचिव पौडेलका अनुसार छात्रातर्फका अधिकांश उपाधि भने आदर्श विद्या मन्दिरका छात्राहरुले प्राप्त गरेका छन् । विद्या मन्दिरका ज्योति हरिजन बेस्ट प्लेयर, सोफिया शाह बेस्ट सेटर, साक्षी क्षेत्री बेस्ट सर्भर र प्रसन्ना कार्की राईजिङ प्लेयरको उपाधि प्राप्त गर्न सफल भएका छन् । यसैगरी सिबी पब्लिकका सुनिता रसाइली बेस्ट डिफेन्डरको उपाधि प्राप्त गरेकी छिन् ।
उपाधि प्राप्त गर्न सफल टिम तथा खेलाडीलाई प्रमुख अतिथि प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्याय, केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पन्थी, जिल्ला उपाध्यक्ष महेश भुर्तेल लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सामूहिक विद्यालय परिवारका अध्यक्ष राजेन्द्र घिमिरेका सभापतित्वमा सम्पन्न भएको खेलको उद्घाटन शुक्रबार प्याब्सन नेपालका उपाध्यक्ष लोकनाथ उपाध्यायले गरेका थिए । सामूहिककै आयोजनामा यसै हप्ता भैरहवामा खेल महोत्सव हुने जानकारी पनि प्राप्त भएको छ ।
यसैगरी भैरहवा स्थित सिद्धार्थ रगंशालामा आज देखी रुपन्देही सुपरलिग क्रिकेट प्रतीयोगीता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजन तथा नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा हुन गैरहेको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतोयोगितामा जिल्लाका आठ बटा ए डिभिजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिने आयोजक संस्था रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मललले जानकारी दिए ।