logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बल्ढेङगढीको विकासमा नयाँ समाज


    २० माघ २०७३ , बिहिबार

    बल्ढेङगढीको विकासमा नयाँ समाज

    कमल रायमाझी
    भैरहवा, माघ २० । ऐतिहासिक र पर्यटकीय महत्व बोकेको पाल्पा जिल्लामा अवस्थित बल्ढेङगढीमा स्थायी बसोबास रही रुपन्देहीमा विभिन्न कारणले आफ्नो कर्म गर्दै आएका बल्ढेङगढीबासीले पाल्पा बल्ढेङगढी समाज रुपन्देही गठन गरेका छन् ।

    चौधौँ शताब्दीमा मगर राजा बलिहाङ राना मगरले राज्य गरेको बल्ढेङगढी त्यतिखेर स्वर्णिम युगको रुपमा परिचित रहेपनि अहिले पूर्वाधार, स्वास्थ्य, शिक्षा र विकासको अभावका कारण रुपन्देही आएर बसोबास गर्ने बल्ढेङगढीबासीहरुले जन्मभूमिको विकास र आपसी एकताको लागि समाज गठन गरिएको बताएका छन् ।

    पाल्पा सदरमुकाम तानसेनदेखि ४२ किलोमिटर पश्चिम दक्षिण पर्ने यो गाउँ रुपन्देहीको सालझण्डी गाविससँग जोडिएतापनि राज्यको विभेदकारी नीतिका कारण ओझेलमा पर्ने गरेको छ । विकासका पूर्वाधारको अभावका कारण यहाँका टाठाबाठा र पढेलेखेका युवाहरु अन्यत्र बसाई सर्न थालेपछि बल्ढेङगढी अहिले पनि पछाडि परेको देखिन्छ ।

    विभिन्न जातजातिहरुको बसोबास रहेको यो गाउँको विशेषता भनेको मगर राजाको स्वर्णिमकालीन युग र बलिहाङगढी दरबार हो । जो अहिले पनि अवशेषको रुपमा रहेको छ । विश्वकै एकमात्र धार्मिक क्षेत्र लुम्बिनी र हिमाल देखिने बल्ढेङगढी आफैमा महत्व बोकेको ऐतिहासिक क्षेत्र भएपनि यहाँका बासिन्दा र राज्यले यसको महत्व कम बुझेका कारण यो ओझेलमा परेको सरोकारवालाहरुले समेत बताउने गरेका छन् ।

    पछिल्लो समय कोरियन प्रोफेसर तथा वृहत लुम्बिनीका गुरुयोजनाकार प्रो. क्वाकले यस क्षेत्रको भ्रमण गरेपछि यसको महत्व र गरिमा अहिले देश र विदेशमा समेत पुगेको स्थानीय तुला रास्कोटी बताउँछिन् ।

    मगर राज्यको राजधानीको रुपमा रहेको यस क्षेत्रको प्रचारप्रसारका लागि विभिन्न मिडियाहरुले गरेको यस क्षेत्रको भ्रमण र अवलोकनका कारण विश्वभरिका जनजाति र आदिवासी मगरहरु समेत अहिले बल्ढेङगढीमा पुगिसकेका  छन् ।

    यसको विकासका लागि महत्वपूर्ण भूमिका खेलेका अंकुर नेपाल (नेपाल कोरिया मैत्री समाज) का निवर्तमान अध्यक्ष गम्भिर गुरुङले समेत विभिन्न क्षेत्रमा बल्ढेङगढीको विषयमा चर्चा र परिचर्चाहरु गर्ने गरेको देखिने गरेको बताउँछन् ।

    लुम्बिनीसँग प्रत्यक्ष सम्बन्ध जोडेर बल्ढेङगढीको वस र यहाँको जनताको जीवनस्तर उकास्नका लागि पहल गरिरहेका अंकुर नेपालका निवर्तमान अध्यक्ष गुरुङले अबका केही वर्षमा बल्ढेङगढीले निकै अगाडि फड्को मार्ने अपेक्षा आफूले लिएको समेत उनले बताउँछन् ।
    बल्ढेङगढीको पर्यटन विकासका लागि निकट भविष्यमा यस क्षेत्रलाई पदमार्गको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै रुपन्देहीका पत्रकार नरेश के.सी. सालझण्डी–रामापुर–दोभानबाट बल्ढेङगढीसम्म पदमार्गको निर्माण गर्न आवश्यक रहेको बताउँछन् । के.सीे भन्छन् “तराई क्षेत्रबाट विभिन्न गाउँ, टोल बास बस्दै जाने स्वदेशी र विदेशी पर्यटकहरुले यहाँका बासिन्दाहरुलाई आर्थिक उपार्जनमा समेत सहयोग पु¥याउने र विकासका पूर्वाधार निर्माणमा सरकारको ध्यान खिच्न सकिन्छ ।”

    सुन्दर र प्राकृतिक रुपमा आनन्दमय क्षेत्रको रुपमा रहेको बल्ढेङगढीको विकासका लागि भन्दै गठन गरिएको पाल्पा बल्ढेङगढी समाज रुपन्देहीले पनि नयाँ अभियान सुरुवात गर्ने भएको छ ।
    नेपालको इतिहासमा समेत मगर राज्यको गरिमा बोकेको बल्ढेङगढी अहिले अगाडि बढ्ने जमर्को गर्दा यहाँका पढेलेखेका युवाहरु अब एकताबद्ध रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    समाजको गठन
    पाल्पा बल्ढेङगढी वडा नं २ स्थायी बसोबास भई रुपन्देहीको बुटवलमा व्यापार व्यवसाय गर्दै आएका युवा डी.बी कार्कीको पहलमा अहिले पाल्पा बल्ढेङगढी समाज रुपन्देही गठन भएको छ ।

                                                                            नवनिर्वाचित अध्यक्ष डिबी कार्की

    रुपन्देहीमा बसोबास गर्ने उक्त क्षेत्रका बासिन्दाहरुको उपस्थितिमा गत साता नयाँ समिति समेत चयन गरिएको छ  । जसको अध्यक्षमा डी.बी. कार्की, उपाध्यक्ष कमल रायमाझी, सचिव लता खड्का, सह–सचिव रेशम रायमाझी, कोषाध्यक्ष क्याप्टेन पहलसिंह रेश्मी, सदस्यहरुमा इन्द्रा कुमारी वि.क, गणेश रायमाझी, भुवनसिंह कार्की, धनसिंह रास्कोटी, प्रमिला कार्की न्यौपाने र रमा जि.सी. रहेको कार्यक्रम संयोजन गरेका केदार कार्कीले जानकारी दिए ।

    पाल्पाली समाज रुपन्देहीका अध्यक्ष पदम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शसस्त्र प्रहरी नायक उपरीक्षक रुमबहादुर कार्कीको विशिष्ट आतिथ्यता, जेष्ठ व्यक्तित्व  आत्मराम कार्कीको अध्यक्षता रहेको थियो ।

                                                                समाजका नवनिर्वाचित पदाधिकारीहरु

    कार्यक्रममा जेनबहादुर लम्तरी, धनबहादुर कार्की, काशीराज कार्की, सुबेदार भीमबहादुर कार्की, तिलक कार्की, खिमबहादुर कार्की, गुनकुमारी कुँवर, मैया (सीता) खड्का, चिना खड्का, देउबहादुर राना, पुष्प श्रेष्ठ, शिवकला खड्का, गुड्डु जि.एमको आतिथ्यता रहेको थियो ।

    सहयोगी हात बढ्दै

    समाज गठनसँगै विभिन्न क्षेत्रबाट यसको स्थायित्व विकासका लागि आर्थिक सहयोगहरु जुट्न सुरु भएको छ । जसका लागि मिठु सापकोटा राणा (आइल्याण्ड) बाट रु २५ हजार, राजु कार्की (जापान) बाट रु २० हजार, डीबी कार्की (बुटवल)बाट रु १० हजार, रामु कार्की (काठमाण्डौ) बाट रु २ हजार आर्थिक सहयोग प्राप्त भएको छ । विभिन्न महानुभावहरुले अक्षयकोष निर्माणको समेत घोषणा गरेका छन् । जसमा भुवन कार्कीले आफ्ना हजुरबुवा स्व.गोविन्द बहादुर कार्कीको सम्झनामा अक्षयकोष, पदम कार्कीले आफ्ना हजुरबुवा स्व.भीमसेन कार्कीको नाममा पत्रकारिता अक्षयकोष, रुमबहादुर कार्कीले आफ्ना हजुरबुवा स्व.खड्कसिंह कार्कीको नाममा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति पुरस्कार समेत घोषणा गरेको प्रकाश खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.