सावित्री घिमिरे
भैरहवा, माघ २३ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी सिद्धार्थनगर रुपन्देहीले मधवलिया मा.वि. तिलोत्तमा २० को प्राङ्गणमा आफ्नो १५ औँ नियमित बैठक तथा खानेपानी धारा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबको अध्यक्ष विमल सेन्चुरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमका संयोजक शिव गौडेलले विद्यालयको भौतिक विकासको लागि रोटरी क्लब सदैव क्रियाशील रहने र विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा रुपान्तरण गर्न आफूहरु तयार रहेको बताएका थिए ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद शर्माले विद्यालयले लामो शैक्षिक यात्रा पार गरेतापनि कमजोर भौतिक व्यवस्थापनको कारणले आशातीत प्रगति गर्न नसकेको कुरा व्यक्त गर्दै विद्यालयको भौतिक सुधारको लागि रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोग आगामी दिनहरुमा पनि निरन्तर पाउने आशा सहित खानेपानीको व्यवस्था मिलाइदिएकोमा क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारी, विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन क्लबका सचिव कृष्ण पाण्डेले गरेका थिए ।