लुम्बिनीखबर
काठमाडौं, २० कात्तिक । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार ठूलो गिरावट आएको छ । अघिल्लो दिन एकैदिन १३ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो दुई दिनको मूल्य उतारचढावले सुन बजारमा अस्थिरता देखिएको छ । बिहीबार उल्लेख्य वृद्धि भएको सुनको मूल्य शुक्रबार पुनः घटेपछि बजारमा यसको प्रभाव पर्ने देखिएको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि शुक्रबार गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । सुन तथा चाँदीको मूल्यमा आएको परिवर्तनसँगै नेपाली बजारमा गरगहना खरिद गर्ने उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ ।