logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    गौतमबुद्ध विमानस्थल, कसले बनाउँदैछ बेहाल ??


    १३ चैत्र २०७३ , आइतबार

    गौतमबुद्ध विमानस्थल,  कसले बनाउँदैछ बेहाल ??

    नरेश क.सी.
    भैरहवा, चैत १३ । भैरहवा विमानस्थल जसलाई गौतमबुद्ध विमानस्थल भनेर पनि चिनिन्छ । यो विमानस्थल २०२३ साल देखी सन्चालनमा आएको हो । विभिन्न आरोह अवरोह पार गर्दै २०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले आयोजनाको शिलान्यास गरेसँगै घरेलु विमानस्थलको रुपमा रहेको विमानस्थल गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिचित हुन पुगेको हो ।

    तत्कालिन प्रधानमन्त्री कोइरालाले उक्त आयोजनाको शिलन्यास गर्दा २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । तर बिडम्बना तोकिएको समयमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनीया कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड, चाइनाले सो सम्झौता अनुसार काम नगर्ने देखिएको छ । जसको कारण दशकौंदेखी यस क्षेत्रका जनताले देखेको सपनामा तुषारापात हुने भएको छ ।

     

    चालु विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको जहाज । तस्बिर : लुम्बिनीखबर

    निर्माणकर्ताबीच विवाद
    विगत १० दिनदेखी गौतमबुद्ध विमानस्थलमा निर्माण कार्य ठप्प छ । २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले लागत भेरियसन र समय थप गराउने ध्ययेले गौतमबुद्ध विमानस्थल निर्माणमा विवाद गरेको बुझिएको छ ।

    विमानस्थल निर्माणको ठेक्का ग्लोबल टेन्डर मार्फत चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमांण सम्पन्न गरीे ठेक्का पाएको हो ।  सन् २०१८ जनवरी १ तारिखको दिन अन्तराष्ट्रीय विमान भैरहवामा अवतरण गराउनेगरी निर्माणको ठेक्का पाएको उक्त चिनीया कम्पनिले आन्तरिक रुपमा २० प्रतिशत आफुले राख्ने र अन्य ८० प्रतिशत रकम दिएर सब कन्ट्रयाक्टर मार्फत काम गर्नेगरी सब कन्ट्रयाक्टरको रुपमा नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिसंग सम्झौता गरी कामलाइ अगाडी बढायो ।

    तर कामगर्दै जाँदा चिनीया कम्पनिले २०१४ मा गरेको सहमति अनुसार काम गर्दा सोचेजस्तो फाइदा नहुने भन्दै समय थप र लागत भेरियसन बढाउनेगरी प्रक्रिया थाल्न नेपाली कम्पनीलाई प्रत्यक्ष अप्रत्यक्ष दबाब दिएपछि नेपाली कम्पनीले नमान्दा अहिले सम्झौता तोड्ने सम्म चिनीया कम्पनी पुगेको देखिएको छ ।

    नेपाली कम्पनीले भने पुर्ववत सहमति अनुसार ठेक्का सम्झौता गरेकै रकममा तोकिएको काम तोकिएकै समयमा सम्पन्न गर्न सकिने हुनाले चीनिया कम्पनीले विभिन्न बहाना बनाई नेपाली कम्पनीसंग विवाद गर्न थालेको नेपाली पक्षले आरोप लगाएको छ ।

    नेपाली पक्ष सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष राजु गुरुङले भने “ मधेस आन्दोलन, राजनीतिक उतारचढाव र निर्माण सामग्रीको अभावको कारण अहिले १ सय ६७ दिन म्याद थपिएको छ । चिनिया कम्पनीले २०१४ को लगत इस्टीमेटसँग अहिलेको मूल्य नमिल्ने हुँदा लागत बढाएर काम गर्नुपर्छ भनेको छ तर हामीले मानेका छैनौँ । उसले लागत र समय बढाएर पैसा भरी कुम्ल्याएर चीन जाने सोंचमा छ । हामी नो भेरियसन , नो ड्युरेशन भनिरहेका छौँ ।  ६ सय २२ करोड भित्रै यो काम सम्भव छ, सोही बजेटमा काम गर्नुपर्छ भन्दा चिनीया कम्पनीले विभिन्न विवाद निकालेको हो । ”

    विमानस्थलमा निर्माणको ठेक्का चिनीया कम्पनीले पाएको भएतापनि सम्पूर्ण काम गरिरहेको सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले समयमै र पूर्व लगत इस्टीमेटकै रकममा आयोजना सम्पन्न गर्न अरु कुनै कम्पनी तयार भएपनि आफुहरु सेकेन्डभरमै ठाउँ छाड्न तयार भएको बताएको छ । अध्यक्ष  गुरुङले भने “हामी कुनै पनि हालतमा यो आयोजना तोकिएकै समयमा र तोकिएकै रकममा पुरा हुनुपर्छ भन्ने मान्यतामा छौँ । यदि हामी हट्दा चिनीया कम्पनी र सरोकारवाला निकायलाई सहज हुन्छ भने हाम्रो हिसाब किताब गर्दिएर हामीलाई पठाउँदा हुन्छ । हामी तत्काल ठाउँ छाड्न तयार छौं । हाम्रो कुनै अवरोध छैन । ”

    विमानस्थलसंग सरोकारित दातृ संस्था एडिबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट  र परियोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा  विमानस्थलमा अहिले सम्म २७ प्रतिशत काम भएको जनाएकोछ ।

    नेपाली कम्पनी नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले अहिले सम्म चाइनीज कम्पनीसँग करिब ५५ करोड लिन बाँकी रहेको दाबी गरेको छ । तर यसै हप्ता क्यानबाट २ करोड, एडिबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चाइनीज कम्पनीले नेपाली कम्पनीलाई एक रुपैयाँ पनि नदिएपछि लेनदेनको विवाद सतहमा आएको हो । चिनीया कम्पनी मुख्य ठेकेदार भएकोले उसको नाममा रकम आउने तर काम गर्ने सब कन्टयाक्टरलाई पैसा नदिने गरेको बुझिएको छ । सब कन्ट्याक्टरले पैसा नपाउँदा सोही आयोजनामा खटिएका २ सय ५० जना भन्दा बढी कर्मचारीले केही महिनादेखी तलब समेत पाउन सकेका छैनन् ।

    के भन्छ त निकाय     
    गौतमबुद्ध विमानस्थलको निर्माणको काम रोकिएपछि  एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाका नेपाल प्रमुख समेत रहेका  पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरेको रोहबरमा चिनीया र नेपाली पक्षलाई राखी विवाद समाधान गर्ने ध्ययेले ४ बुँदे सहमति पनि भयो । । चिनीया र नेपाली पक्षबीच विवाद भएपछि आयोजनाको मध्यस्तथामा बैठक समेत बसी सहमति भइसकेको बुझिएको छ ।

    पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे, क्यानका डेपुटी डाइरेक्टर राजकुमार क्षेत्री , एडिबीका नरेश प्रधान, आयोजना प्रमुख ओम शर्मा लगायतको रोहबरमा चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड र सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फ्रा प्रा.लिबीच विवाद समाधान गरेर निर्माण कार्य सुचारु गर्ने सहमति भइसकेको छ  ।  सहमति पत्रमा चिनीया कम्पनीमा उपाध्यक्ष वाङ जीडयांङ र नेपाली पक्षका अध्यक्ष राजु गुरुङले हस्ताक्षर गरेका छन् । सोही सहमतिको आधारमा तत्कालका लागि विवाद समाधान हुने घिमिरेले अपेक्षा समेत व्यक्त गरेका छन् ।

    सहसचिव घिमिरेले चिनीया ठेकेदारले सब कन्ट्रयाक्टरको रुपमा नेपाली पक्षलाई राखेको जानकारी समेत मन्त्रालयमा नदिई काम गरेको र एकैचोटी समस्या परेपछि मात्र जानकारि दिँदा समस्या निम्तिएको जनाए । उनले भने “कुनैपनि कन्ट्रयाक्टरले सब कन्ट्रयाक्टर राख्दा सहमित लिनुपर्दछ । त्यसो गरिएको छैन । तरपनि स्थानिय ठेकेदार भएकाले काम गर्न सहज होस् भनेर हामीले सहमति गरायौं । हामीले त चिनीया ठेकेदारलाई भनेका छौं तोकिएको समयमा तोकिएकै लगतमा काम सम्पन्न गर्नुपर्छ । ” घिमिरेले निर्माणमा देखिएको अवरोध अब धेरै दिन नरहने पनि विश्वास व्यक्त गरेका छन् ।

    आयोजना स्थलमा अवरोध भएको भन्दै केही पक्षले आयोजना निर्माण स्थलमा सुरक्षा व्यवस्था गर्न माग गरेको बुझिएको छ । तर आयोजना प्रमुख ईन्जिनियर ओम शर्माले आयोजना स्थलमा कुनैपनि अवरोध सृजना नभएको जनाएका छन् । उनले भने “सुरक्षाको दृष्टिले कुनैपनि समस्या छैन । हामीले जान्ने चिनीया कम्पनीलाई हो, उसलाई काम सुचारु गर्न भनेका छौं । यहां काम गर्दा कुनैपनि असुरक्षा छैन । हामी सबै किसिमको सुरक्षाको प्रत्याभूति गरेका छौं । ”
    स्रोतका अनुसार चिनीया पक्षले आयोजना स्थलमा असुरक्षा भएको भन्दैं मन्त्रालयमा जानकारी गराएको बुझिन आएको छ । विवाद गर्ने पक्ष विपक्षबीच आपसी सहमति भइसकेकोले निर्माण कार्य केही दिनमै सुचारु हुने आयोजना प्रमुखले विश्वास व्यक्त गरे । यता चिनीया पक्षले नेपाली पक्ष नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई सरकारी डकुमेन्टेशनमा सप्लायर्स मात्रै भनेको तर लिखित रुपमा अंग्रेजी र चिनीया भाषामा कन्ट्रयाक्टर र सब कन्ट्रयाक्टरको रुपमा काम गर्ने सम्झौता गरेको समेत देखिएको छ ।

    जसले गर्दा चिनिया पक्षले किन झुटको खेती गरेको छ भनी शंका उपशंका पनि सृजना हुन थालेको छ । निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले ठेक्का लिई  सब कन्ट्रयाक्टरको रुपमा नेपाली ठेकेदार कम्पनि  नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई २०७२ साउन देखी आन्तरिक सम्झौता गरी सम्पूर्ण निर्माण कामको ठेक्का दिएको थियो ।

    कर्मचारीको पिरलो
    एकाएक आयोजनाको काम बन्द भएपछि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिमा रहेर कार्यक्षेत्रमा खटिएका २ सय ५० भन्दा कर्मचारी अहिले बेकामे भएका छन् । उनीहरु विगत १० दिनदेखी कार्यलयमा आउने हाजिर गर्ने र दिनभर यत्तिकै बस्न बाध्य भएको कम्पनीको मानव संशाधन व्यवस्थापक लक्ष्मी के.सी.ले जानकारी दिइन् । नेपाली कम्पनीले १ सय ३१ करोडको विल भरपाई पेश गर्दा अहिले सम्म ७६ करोड मात्रै पाएको जनाउँदै बाँकी ५५ करोड दिन चिनीया कम्पनिले आलटाल गर्दा अढाई सय कर्मचारीलाई तलब खुवाउन, विभिन्न स्थानिय पाटिलाई तिर्नुपर्ने रकम तिर्न समस्या सृजना भएकोले तत्काल सो रकम नपाउँदा सम्म केही दिनको लागि काम स्थगित गरेको नेपाली कम्पनीका लेखापाल प्रकाश कडेंलले बताए । दु्रततर गतिमा भइरहेको काम एक्कासी रोकिँदा एकातिर आयोजना स्थलमा प्रयोग हुने विभिन्न यान्त्रीक साधन त्यतिकै थन्काउँदा पछि समस्या आउने इन्जिनियर दिपनरेश यादवले जनाए ।

    निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वार । तस्बिर : लुम्बिनीखबर

    अहिले सम्म के भयो 
    विमानस्थलमा टाइप वानको काम सम्पन्न भइसकेको छ । प्रथम चरणमा विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डिङ, सुरक्षा पोष्ट भवन, विमानस्थल सडक, नदी डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु गर्ने गरी कन्सट्रक्सन ग्रुपले ठेक्का पाएको थियो । जस अनुसार घाग्रा नदिको डाइर्भसन, धावन मार्गमा माटो फिलिंग, भस्कट फिलिंग र मिस्कट फिलिंग भइसकेको छ । सबै विल्डििंगहरुको जग निर्माण कार्य तथा जहाज पार्किङ स्थल निर्माण पनि अन्तिम चरणमा पुगेको नेपाली निर्माण कम्पनी नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष गुरुङले जानकारी दिए ।

    समग्रमा अहिले सम्म २७ प्रतिशत काम सम्पन्न भइसकेको छ । विमानस्थलको स्तरोन्नतीका लागि पछिल्लो पटक थप २ सय ८८ विघा जग्गा अधिग्रहणका लागि प्रस्ताव गरिएकोछ । आयोजनाका अनुसार पुर्वमा गल्लामण्डी स्थित हनुमान मन्दिरको पश्चिम तर्फ वार्ड नम्बर ४ को कुलो, पश्चिम तर्फ तिनाउ खोलासम्म, उत्तरतर्फ हनुमान मन्दिर देखि लुम्बिनी रोड स्थित मायादेवी चोक सम्म बाटोको केन्द्र देखि ७५ मटिर दक्षिण तर्फ र दक्षिण तर्फ अधिग्रहण भइसकेको सिमाना देखि २ सय मिटर सम्म प्रस्ताव गरिएको छ ।

    गौतबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने आट गरेको हो ।

    विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।

    अहिले थप प्रारम्भीक रुपमा प्रस्तावित २ सय ८८ विगाह क्षेत्रफलका जनताहरुले सम्मानजनक स्थापीत तथा सहि मुआब्जाको माग गर्दै आन्दोलन समेत गरिरहेका छन् । सो क्षेत्रमा करिब साढे ३ सय घरधुरी पर्ने आंकलन गरिएको छ । विमानस्थलले अधिग्रहण गर्ने क्षेत्रका जनता र घरधुरीसंग नियमित  अन्तक्रिया र छलफल गनुपर्ने आयोजना प्रमुख ठेकेदार कम्पनिको विवाद मिलाउन लाग्नुपर्दा नियमित काममा समेत समस्या देखिएको छ ।

    नागरिक समाजको चिन्ता
    सबैको सपनाको केन्द्र गौतमबुद्ध विमानस्थल निर्माणमा विवाद देखिएपछि तोकिएकै समयमा काम सम्पन्न नहुँदा कतै सदियौंको सपना यसै तुहिने त होइन भनी यस क्षेत्रका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् ।

    नागरिक अगुवा ओमकार गौचनले भने “यो वा त्यो मानेमा निर्माण काम रोकिनु हुदैन । कुनैपनि हालतमा निर्माण कार्यलाइ निरन्तरता दिनुपर्दछ । ”
    लुम्बिनी अभियन्ता अग्रज पत्रकार चेतन पन्तले गौतमबुद्ध विमानस्थल निर्माणसंगै यस क्षेत्रमा बढेको चार्मिंग र पर्यटन व्यवसायमा ओइरिएको लगानीमा धक्का लाग्ने जनाए । उनले तत्काल सरोकारवाला निकायले ध्यान दिएर निर्माण कार्यलाइ निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । भैरहवा क्षेत्रका उद्योगी मोहित अग्रवालले विमानस्थ्ल निर्माणमा देखिएको विवादले  लगानीमा नकारात्मक असर समेत पु¥याउने हुँदा यस्ता गलत  काम रोकिनु पर्ने बताए ।

    सामाजिक अभियन्ता तिलकुमारी गुरुंगले गौतमबुद्ध विमानस्थल भैरहवाबासीको मात्रै नभएर सिंगो राष्ट्रको गौरब भएकाले सरोकारवाला निकाय एक भएर तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गराउनुपर्नेमा जोड दिइन् ।

    रुपन्देही जिल्लामै नागरिक समाजको अगुवाइ गरिरहेको भैरहवा मर्निङ वाक ग्रुपले यसै हप्ता भैरहवामा विशेष कार्यक्रम राखी समयमै विमानस्थल सम्पन्न गर्न दबाब दिएको छ । ग्रुपका अध्यक्ष ओमकार गौचनको सभापतित्वमा भएको उक्त कार्यक्रमा आयोजना प्रमुख ओम शर्मालाइ बोलाएर विमानस्थल कार्यको प्रगति र रोकिनुको कारणको बारेमा जानकारी माग गर्दै निर्धारित समय र रकममा विमानस्थल निर्माण गर्न दबाब दिएको विजय सागरले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.