कमल रायमाझी
भैरहवा,२१ भदौ । भर्खरै बन्दै गरेको व्यापारिक मार्ग बेलहिया बुटवल सडक खण्ड क्षमताभन्दा बढी (ओभरलोड) बोक्ने मालवाहक ट्रकहरुका कारणले भत्किने क्रम बढेपछि प्रहरीले कारवाही गर्ने भएको छ ।
साढे ५ अर्ब लागतमा निर्माण कार्य भैरहेको सडक खण्डको बेलहीया देखी भैरहवासम्म काम सम्पन्न भैसकेको स्थानमा ओभरलोड ट्रकहरुका कारण सडक भासिन सुरु भएपछि एक्सनमा प्रहरी गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख इञ्जिनियर जिवेन्द्र मिश्रले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलाई ओभरलोडका कारण सडक भत्किएको गुनासो गरे पछि प्रहरी बाध्य भएर कानुनी प्रकृयामा गएको देखिन्छ ।
भदौ २० गते लेखा समितिको भैरहवामा आयोजित सार्वजनिक सुनुवाईमा ६ लेन सडक भत्किनु ओभरलोड ट्रकहरु मुख्य कारण भएको सर्वसाधारणहरुले समेत बताएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले बिहीवार देखि ओभरलोड ट्रक आगमनलाई बन्द गर्नका लागि कडाई गर्ने भएको छ ।
बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख इञ्जिनियर मिश्रले राष्ट्रिय गौरवको आयोजनाहरुको संरक्षण तथा विस्तारमा सवैको सहयोग आवस्यक रहेकाले पनि नेपाल सरकारको पद्धतीमा सवै जानुपर्ने बताएका छन् ।
क्षमताभन्दा बढी लोड लिएर आउने भारतीय मालवाहक ट्रकलाई सीमामै रोकेर कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत जानकारी दिएको छ ।
बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख इञ्जिनियर मिश्रले ६ लेन सडकले क्षमता अनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टनसम्म सामान लिएर हिँडे नेपालको बाटोले भार थेग्न सक्ने बताँउछन् ।
यस सडकमा २५ टन देखि ६५ टन सम्मका ट्रकहरु भन्सारकै बिन्दुबाटै नेपाल प्रवेश गर्ने गरेका छन् ।
क्लिङकर, मेसिनरी सामान ,सिसा, मार्वल, खाद्यान्न बोक्ने ट्रकहरुले ओभरलोड बोक्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नेपाल सरकारले तोकेको मापदण्ड र कानुन कार्यान्वयनका लागि प्रहरीले तप्परताका साथ लागि रहेकाले अवका केही दिनमा ओभरलोडको समस्या हट्ने बताएका छन् ।