logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बच्चालाई जन्डिस हुँदा के गर्ने? के नगर्ने?


    १० फाल्गुन २०७५ , शुक्रबार

    बच्चालाई जन्डिस हुँदा के गर्ने? के नगर्ने?

    जन्डिस आफैंमा रोग होइन। जन्डिस विभिन्न रोगका लक्षणहरुले गर्दा हुनेगर्छ ।जन्डिसका लक्षण देखिना साथ के कारणले जन्डिस भएको हो, चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस सामान्यतः दुई प्रकारले हुने गर्छ– जन्मजात र कुनै रोगको संक्रमणले गर्दा ।

    नवजात शिशुमा देखिने जन्डिस

    भर्खर जन्मिएको बच्चमा २४ घन्टाभित्र देखिने जन्डिसलाई सामान्य जन्डिस भनिन्छ । सामान्य जन्डिस भएका धेरैजसो बच्चालाई बिहानको घाममा राखेपछि निको हुन्छ । जन्डिस धेरै मात्रामा देखियो भने फोटोथेरापी मेसिनमा राखेर घटाउन सकिन्छ । यसलाई फिजियोलोलिकल जन्डिस पनि भन्ने गरिन्छ ।

    यो जन्डिस आबिसी टुक्रिएर हुनेगर्छ । जन्डिसको मात्रा बढी भएर बच्चालाई ज्वरो आयो, दुध खाएन भने रगत जाँच गरेर इन्फेक्सन छ कि छैन, हेर्नुपर्छ। न्युनेटल इन्फेक्सन भयो भने पनि जन्डिस देखिन्छ । यस्तो जन्डिसमा ज्वरो आउने, दुध नचुस्ने, बान्ता आउने जस्ता लक्षण देखा पर्छन् ।

    जन्डिस जब ३ हप्ता समयसम्म रहन्छ, त्यो बेलामा डर मान्नुपर्छ । नवजात शिशुको जन्डिस निको नभएमा तुरुन्त बाल चिकित्सकसँग सल्लाह लिनुपर्छ । बिलिटी अटेजियाले गर्दा पनि जन्डिस देखिन्छ । यसमा बच्चाको जन्मजात नै पित्तथैलीको नली राम्रोसँग विकास नहुने हुन्छ ।

    जन्मिएको एक÷दुई दिनसम्म जन्डिस रहन्छ र २१ दिन नाघेपछि पनि रहिरह्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यस्तो अवस्थामा बच्चा स्वस्थ देखिन्छ तर बच्चाको दिसाको रङ सेतो हुन्छ । यदि कुनै लक्षण देखा नपरी बच्चाको दिसा सेतो भएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिएर रगतको जाँच गर्ने, अल्ट्रासाउन्ड गर्ने र कुनै बेलामा कलेजोको बायप्सी गरेर ६० देखि ९० दिनभित्र शल्यक्रिया गर्नुपर्छ ।

    ९० दिनभित्र शल्यक्रिया गरिएन भने कलेजो फेर्नुपर्ने अवस्था आउँछ । यस्तो खालको बच्चाको समयमा उपचार भएको हुँदैन । धेरैजसो बच्चा अस्पताल पु¥याउँदा ३÷४ महिना बितिसकेको हुन्छ । बच्चा उपचार गर्न छुट्नुमा घरपरिवारले जन्डिस आफैं निको हुन्छ भनेर डाक्टरकोमा नजाने, खोप केन्द्रले नर्मल जन्डिस भनिदिने जस्ता कारण रहेका हुन्छन्। जन्डिस भएको ३ हप्ता भइसकेको छ भने कलेजोसम्बन्धी डाक्टरलाई देखाउनुपर्छ।

    नवजात शिशुमा एन्जाइमसको कमीले गर्दा पनि जन्डिस देखिन सक्छ। यस्तो खालको जन्डिस लामो समयसम्म रहिरहन्छ  र नर्मल जन्डिसभन्दा फरक खालको हुन्छ। रगत जाँच र भिडियो एक्सरे गरेपछि कुन खालको जन्डिस हो भन्ने पत्ता लाग्छ। एन्जाइमको कमीले गर्दा हुने भनेको जिसिपिडी डेफिसेन्सी हो, यो छोरा शिशुहरुमा बढी देखिन्छ। यो नवजात शिशुदेखि ३÷४ वर्षको उमेरका बच्चामा देखिन्छ। नवजात शिशुमा थाइरोइड हर्मोनको कमी भयो भने जन्डिस देखापर्छ।

    संक्रमणले गर्दा हुने जन्डिस

    खाना खाने उमेर समूहका बच्चामा हुने जन्डिस हेपाटाइटिस ‘ए’ र ‘ई’ संक्रमणको कारणले हुने गर्दछ। हेपाटाइटिस ‘ए’ र ‘ई’ भनेको एक किसिमको भाइरस हो। यो बाहिरको संक्रमित खाना र पानीको माध्यमबाट सर्छ। यस्तो जन्डिसमा सुरुमा आँखा पहेलो नभए पनि वाकवाक लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या हुनसक्छ र विस्तारै जन्डिस देखापर्छ। यस्तो अवस्थामा चिकित्सको परामर्श लिइयो भने कुनचाहिँ खालको किटाणुले गर्दा भएकोे थाहा पाउन सकिन्छ।

    एक वर्ष नाघेका बच्चालाई हेपाटाइटिस ‘ए’ विरुद्धको खोप पनि लगाउँदा हेपाटाइटिस ‘ए’ को कारणले हुने जन्डिसबाट बच्न सकिन्छ। हेपाटाइटिस ‘ए’ र ‘ई’ जन्डिस कलेजो सुन्निएपछि देखिने गर्छ। खाना बार्दा यस्तो अवस्थाको जन्डिस बढ्दै जानसक्छ।

    हेपाटाइटिस‘ ‘ए’ र ‘ई’ को संक्रमणको कारणले हुने जन्डिसमा खानाको रुची कम हुन्छ। यो अवस्थामा फिक्का खाना दियो भने झन् खानाको रुची घट्दै जान्छ। जन्डिस निको हुन पनि समय लाग्न सक्छ। त्यसैले यस्तो जन्डिसमा बच्चाले खानासक्ने सामान्य खालको खाना दिनुपर्छ।

    एक÷दुई वर्षमा दुई÷तीन पटक जन्डिस भयो भने युलसन डिजिजको कारणले हुनसक्छ। युलसन डिजिज भयो भने कहिलेकाहिँ पटकपटक जन्डिस हुनेगर्छ। कलेजो सुन्निँदै गयो भने युलसन डिजिजमा कलेजो फेर्नुपर्ने हुनसक्छ।

    हेपाटाइटिस ‘बी’ सर्नाले पनि जन्डिस देखिनसक्छ। अहिले हेपाटाइटिस विरुद्धको खोप आइसकेकाले पहिलाको जस्तोे सर्ने सम्भावना कम हुन्छ। आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बि’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ। त्यसो गर्दा बच्चामा सर्न पाउँदैन।

    हेपाटाइटिस ‘सी’ ले गर्दा पनि जन्डिस हुने सम्भावना बढी हुन्छ। यस्तो समस्या रगतसँग सम्बन्धित समस्या हुने बच्चामा धेरै देखिने गर्छ। जस्तैः सिकलसेल थाइलेसिमिया भएका बच्चालाई रगत दिनुपर्ने भएकाले कहिलेकाहीं हेपाटाइटिस ‘सी’ सर्ने सम्भावना हुन्छ।

    ग्रिलबर्ट सिन्ड्रोमको कारणले मात्र जन्डिसको मात्रा देखिन्छ। यो सिन्ड्रोम १२÷१३ वर्षको उमेरदेखि देखापर्छ। बच्चालाई ज्वरो आएमा, तनाव लिएमा, शरीरमा पानी कम भएको अवस्थामा यो समस्या बढी देखिन्छ। यसले कलेजोलाई भने केही असर गर्दैन।

    उपचार

    जबसम्म शरीरमा रोग रहिरहन्छ तबसम्म निको हुँदैन जन्डिस। कुनै जन्डिस आफैं निको हुन्छ। सानो बच्चाको जन्डिस बिहानको घाममा राखेर र फोटोथेरापीमा सेकाएर निको हुन्छ। के कारणले गर्दा जन्डिस भएको हो, कारण पत्ता लगाएर उपचार गरियो भने रोग निको भएपछि जन्डिस पनि आफैँ घट्दै जान्छ।

    जन्डिस हुँदा खाना बार्नु पर्दैन

    हाम्रो समाजमा जन्डिस भयो भने बेसार, नुन खानु हुँदैन। उखुको जुस मात्र पिउनु पर्छ। उमालेको खाना खानुपर्छ भन्ने मान्यता छ। जन्डिस हुँदैमा खाना बार्नु पर्दैन। चिल्लो, पिरो, अमिलो खानु हुँदैन तर घरमा पकाएको सामान्य खाना खान हुन्छ। जन्डिस भएकोे बेलामा कलेजो कमजोर भएको हुन्छ, त्यो बेलामा खानाको मात्र कम गर्नासाथ रोग झन् फैलने सम्भावना बढ्छ।

    जन्डिस भएको बेलामा यसै पनि बच्चाहरुमा खानाको रुची हुँदैन, त्यसमाथि फिक्का खाना दिँदा झन् खानाको रुची घट्छ। त्यसले गर्दा जन्डिस घट्न पनि समय लाग्छ। बच्चाले पचाउन सक्छ भने अन्डा, माछा, मासु दिँदा पनि फरक पर्दैन। बच्चालाई जन्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ। त्यसो गर्नु हुँदैन। बच्चालाई आमाको दुध पनि खुवाउनु पर्छ, आमाले पनि खाना बानु पर्दैन। जन्डिस भएर (बच्चाको पेट दुख्यो, खाना अरुची भयो भने चाहिँ अस्पताल भर्ना गरेर राख्नुपर्छ ।      स्वास्थ्यखबरबाट साभार)

    (बाल रोग विशेषज्ञ डा जोशी नर्भिक अस्पतालमा कार्यरत छिन)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.