logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विपश्यना : जिवन जिउने कला


    ३१ असार २०७७ , बुधबार

    विपश्यना : जिवन जिउने कला
    कमल रायमाझी, सम्पादक

    कमल रायमाझी
    लेखशार
    संसारमा मानिसहरु विभिन्न कारणले अशान्त बनेका छन् । अशान्त आत्मको शुद्धिका लागि विपश्यना आवश्यक देखिन्छ । मानिसमा आउने अंहककार, रिस, राग, द्धष र मोहले गर्दा मानव जिवनलाई कुरुपता तिर धकलेको छ । जसका कारण मानिसहरु दैनिक तनावयुक्त बन्ने गरेका छन् । तनावका कारण मानिसमा विभिन्न प्रकारका रोग तथा शारिरीक समस्या पैदा हुने गरेको देखिन्छ । विभिन्न कारणले विचलित मनलाई शान्त पार्न विपश्यना गर्नुपर्दछ । जसलाई २६ सय बर्ष पहिला महामानव गौतम बुद्धले प्रतिपादन गर्नुभएको थियो । बुद्ध द्धारा प्रतिपादित यो ध्यान तथा विपश्यना अहिले संसारभर पुगेको छ । मानिसले आफुले आफ्नो पहिचान गर्न पनि विपश्यना आवश्यक देखिएको छ । विपश्यना ध्यान मानिसको मनलाई काबुमा ल्याउने अस्त्र हो । तनावयुक्त र हतास मनस्थितिलाई यसले एकाग्रतामा लैजाने गर्दछ । जिवन जिउन सिकाउने माध्याम पनि विपश्यना हो । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान अति आवश्यक छ । विभिन्न तनावलाई निर्मुलीकरणका लागि विपश्यना महत्वपुण मार्गको रुपमा रहेको छ ।
    मुख्य शब्दहरु : विपश्यना ,अशान्त, आत्म, शुद्धि, अंहककार, रिस, राग, द्धैष र मोह, विचलित, ध्यान, काबु, चञ्चल, निर्मुलीकरण ।

    विषय प्रवेश
    बौद्ध दर्शनले मानिसलाई शान्त र सभ्य बनाउन सहयोग पुराउछ । मानिसमा आउने तनाव तथा विकारलाई हटाउनका लागि बौद्ध दर्शनको विपश्यना विधि सवैका लागि उपयोगि हुने गरेको देखिन्छ । विपश्यनाको माध्याम बाट मानिसले आफ्नो मनलाई शुद्ध पार्ने गर्दछन् । आनापानाको माध्याम प्रारम्भिक चरणको विपश्यना सम्बन्धी र एकाग्र मन बनाउने शिक्षा प्रदान गर्दछ । जसलाई अध्यास भनिन्छ । पञ्चशिल, चार आर्य सत्व प्रतित्यसमुत्पाद बोधिचित्त शुन्यतावाद र विज्ञानवाद जस्ता सिद्धान्तको विकास गरिन्छ । साधना तथा योगको अभ्यासलाई साधकले राम्ररी बुझे मात्र चित्त शुद्ध पार्न सहयोग पुराउछ । चित्त सोधन गर्दै साधनाको मुल प्रवाहमा डुव्न सरणगमन, बन्धना वोधिसत्तो भावना, गुरु मण्डल अर्पण, गुरु योग जस्ता साधनाका अन्तरबस्तुहरु हुदै योग तथा साधना गरिन्छ । साधना गर्दा दान, शिल र क्षान्ती, विर्य र ध्यान जस्ता पाचँ अध्यास बाट मनलाई सफा गर्न सकिन्छ । मैत्री, करुणा र बोधिचित्त नै साधनका मुख्य तिन अभ्यास हुन । साधनले मानिसमा शान्ति दिनुका साथै सम्पुर्ण प्राणीहरुको सुखको कामना गर्दछ । सम्पुर्ण प्राणीमा दुःख हटोस र सम्पुर्ण प्राणीको हितको कामना पनि वुद्ध दर्शनमा विपश्यनाले सिकाउछ । मानिसले गहन साधना गर्न सके सम्यकसंम्बुद्धत्व प्राप्त गर्न सक्दछ । महामानव गौतम बुद्धले बुद्धत्व प्राप्त पनि गहन साधना बाट गर्नुभएको हो । उहाँको साधना विधिले मानव जगतमा शान्ति, मैत्री र करुणाको विकास गरेको छ । यो दर्शन विश्वमा महत्वपुर्ण दर्शन हो । जसका लाखौ अनुयायीहरु छन् । बुद्ध दर्शनको आधारमा मानिसहरु विपश्यनालाई अंगिकार गरेका छन् । जुन धर्म, समुदाय र पेशाका मानिसहरु भएपनि विपश्यना अहिलेको युगमा सवैको साझा बनेको छ । बुद्ध दर्शनले तपस्या वा साधना, अहिसां र करुणाको माध्याम बाट ज्ञान तथा शाश्वत प्राप्त गर्न सकिन्छ भन्ने कुराको प्रमाणित गरेको छ । नेपाल लगायत भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भेयतनाम बुद्ध दर्शनको विकास भएका मुख्य देशहरु हुन । यी बाहेक चिन, कोरिया, जापान, सिंगापुर पनि बुद्ध दर्शनले सिर्जित देश हुन । सिद्धार्थ गौतम बुद्धले सम्यकसम्बुद्धत्व प्राप्त गरेपछि ३५ बर्षको उमेर देखि ८० बर्षको उमेर सम्म विभिन्न स्थानहरुमा साधना तथा ज्ञानहरु बाडेको देखिन्छ । यि ज्ञान मध्यको एक विपश्यना पनि हो । विपश्यना बाट मानिसका करुण र शान्ति उत्पति हुन्छ भन्ने कुरा बुद्धले बताउनुभएको हो । बुद्ध दर्शन अंगिकार गर्नेहरु श्रावक बोधि प्राप्त गरी अर्हत भए, कोहि प्रत्येक बुद्ध भए , सम्यकसम्बुद्ध भएको बौद्ध अध्ययनले देखाउछ । बुद्ध ज्ञान प्राप्त गर्नेहरु संसार भरि शान्ति र अहिसांका मार्गमा निरन्तर हिडिरहे जसले सबैको भलोका निम्ति काम गरेका छन् । सम्पुर्ण प्राणीको भलो हुनु बुद्ध दर्शनको मुख्य उद्धेश्य हो । प्राणी जगतको उन्नति र मुक्तिको लागि यो दर्शनले लक्ष्य लिएको छ । साधनाको माध्यामले जगतको हित होस भन्ने कामना गर्नु हो । विपश्यना भनेको मुख्यतया मनलाई सहि मार्गमा परिवर्तन गर्नु हो । यसका लागि बुद्ध दर्शन सुन्नुपर्ने, पढ्नु पर्ने, चिन्तन गर्नु पर्ने र ध्यान तथा अभ्यास गर्नु पर्ने हुन्छ । मानिसले ध्यानका विषयमा जति अध्ययन गरेपनि यसको अध्यास नगरिकन विपश्यना पुरा हुदैन । विपश्यनाका लागि ६ कुरा जान्नु पर्दछ । १. ध्यानको कारण –फाइदा २. ध्यानको लक्ष्यण ३. ध्यानको बस्तु ४.ध्यानको चित्त ५. ध्यानको कर्म र ६. ध्यानको अंग हुन । ध्यान बस्दा खेरी यसको तत्काल फाइदा र भविस्यको फाइदाको विषयमा जान्नु पर्दछ । तत्कालका लागि ध्यान बस्दा आफ्नो मनलाई आफैले नियन्त्रण गर्नु हो । नियन्त्रित मनलाई सम्यक मार्गमा, प्रयोग मार्ग, दर्शन मार्ग, भावना मार्ग हिडाउन सक्नु पर्दछ । विपश्यना ध्यान बस्दा कुशल मनमा ध्यान गर्ने र अकुशल मनलाई त्याग गर्नुपर्ने हुन्छ । वास्तवमा ध्यान मानिसको शरिरले नभई चित्तले गर्नुपर्दछ । बुद्ध दर्शनमा चित्तमन नै मुख्य संकल्प मन हो । ध्यान गर्ने भनेको याद गर्नु र समथ गर्ने हो । स्थावीभावना र विचार भावना ध्यानका कर्म हुन । विपश्यना भनेको वि र पश्यना मिलेर बनेको शब्द हो । वि भनेको विशेस र पश्यना भनेको हेर्नु हो । विशेस रुपमा हेर्नु हो । हाम्रो मनलाई ध्यानको विधि बाट विशेस रुपमा हेर्ने कर्मलाई विपश्यना भनेको हो । विपश्यना गर्दा समथ ध्यान महत्वपुर्ण छ । शरिरलाई एकचित्त बनाउनका लागि समथ ध्यानको प्रयोग गरिन्छ । समथ ध्यानको विधि बाट मानिसले मनलाई नियन्त्रण गर्दछ । भावना फैलाएर निरन्तर चिन्तन मनन गर्दै हेर्नु पर्दछ । समथ भावनाले चित्त नियन्त्रण स्थिरता बनाउछ । विपश्यनाले अनित्य, दुःख, अनात्म देख्ने प्रज्ञा ज्ञान हो । विपश्यना गर्दा पञ्चस्कन्दको प्रयोग गरिन्छ । १. रुपस्कन्द २. वेदना स्कन्द ३. संज्ञा स्कन्द ४. शंस्कार स्कन्द र ५. चेतना स्कन्द हुन । यि मानिसको शरिरको शिर देखि पाइतला सम्म मन भित्र, आफन्तहरु साथी भाई र चेतना भित्रको विषयको अध्ययन तथा ध्यान हो । जसको माध्याम बाट ध्यान पुरा हुन्छ । हामीले ध्यान गर्दा मनलाई नियन्त्रण गर्ने र आफुले आफैलाई अध्ययन गर्ने विधि पनि हो । बुद्ध दर्शनका थेरावाद, महायान तथा बज्रयानमा ध्यान विधि मुख्य हो । यसको आधारमा मानिसले बुद्धत्व प्राप्त गर्न सक्ने कुराको व्याख्या गरिन्छ । यो एक मौलिक विधि पनि हो । जसको माध्याम बाट मानिसलाई परिवर्तन तथा आत्म निर्भर बनाउन पनि सहयोग पुराएको छ । विपश्यनामा मानिसलाई विभिन्न विधिहरुको प्रयोग गरि मानव जिवनको कल्याण तथा सम्पुण जगतको कल्याण र भलो गर्नु हो । बुद्धले प्राप्त गरेको बोधि ज्ञानले मानव जिवनमा दिएको शान्ति तथा अहिसांलाई विपश्यनाको माध्याम बाट अहिले संसारभर पुराउन सहयोग पुराएको छ । मानिसहरुमा हुने तनाव तथा अशान्ति चित्तलाई विपश्यनाको अभ्यास गराउदा शान्ति र करुणाको भावना जाग्ने हुदा यसको प्रभाव पनि मानव जगतमा निरन्तर परिरहेको छ । लुम्बिनीमा जन्मिएका गौतम बुद्धको यो शिक्षाले संसारलाई अहिले शान्ति र अहिसांका मार्गमा हिडाउन सहयोग गरेको छ ।

    विपश्यना
    आत्मनिरीक्षण द्वारा आत्मशुद्धिको अत्यन्त पुरातन साधना विधि हो । जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु,सम्झनु,बुझ्नु विपश्यना हो । लगभग २६०० वर्ष पूर्व भगवान गौतम बुद्धले संसारबाट विलुप्त भइसकेको यस पद्धतिलाई पुन अनुसन्धान खोज गरी यसलाई सार्वजनीन रोगको सार्वजनीन उपचार रूपमा सर्वसुलभ बनाए । यस सार्वजनीन साधना विधिको उद्देश्य चित्तमा विद्यमान सम्पूर्ण विकारहरूको निर्मूलन गरी परम–विमुक्तिको अवस्थालाई प्राप्त गर्नु हो। यस साधनाको उद्देश्य केवल शारीरिक तथा मानसिक रोगहरूलाई निको पार्ने मात्र नभई जीवनको सबै प्रकारको दुःखहरूबाट मुक्त हुनु हो। तसर्थ यो जीवन जिउने उत्तम कला हो । विपश्यना आत्मनिरीक्षण द्वारा गरिने आत्मशुद्धिको साधना हो । यस विधिमा आफ्नै शरीर र चित्तधारामा पल–पल भइरहने प्रत्येक परिवर्तनशील घटनाहरूलाई तटस्थभावबाट निरीक्षण गरी भौतिक एवं चैतसिक धर्महरूको यथार्थ स्वभावको बोध गर्न प्रयत्न गरिन्छ । यथार्थ ज्ञान (प्रज्ञा) का आधारमा विद्यमान राग, द्वष, क्लेश (विकार)हरू क्रमशः हटाउने, नयाँ क्लेश थप्न नदिने चित्तविशोधनको अभ्यास गरी मुक्त अवस्था सम्म पुग्न साधक प्रयत्नरत रहन्छ । यस यात्रामा साधकले मन (नाम धर्म) तथा भौतिक शरीर (रूप धर्म) का विविध पक्षहरूको प्राकृतिक नियमहरूका वारे स्पष्ट ज्ञान बोध गर्दछ । आफ्नो प्रत्यक्ष अनुभवबाट विकार कसरी बन्छ ?, संसारको बन्धनमा प्राणीहरू कसरी बाँधिन्छन् ? र यस वन्धनबाट कसरी छुटकारा पाउन सक्छ ? भन्ने वारे ज्ञानको प्राप्त हुन्छ । निर्वाण साक्षात्कार गर्नु यसको परम उद्देश्य हो भने यसको अभ्यासको क्रममा साधकले परम निर्वाण नै प्राप्त नभएता पनि प्राप्त ज्ञानको स्तर अनुसारको सुख शान्ति प्रितिको अनुभव गर्दछ । यसले ब्यक्ति एवं समग्र समाजमा शान्ति र सामञ्जस्य कायम गर्नमा मद्दत पुग्दछ । महामानव गौतम बुद्धको समय देखि यस ध्यान विधिले गुरू शिष्य परम्परा मार्फत अक्षुण्ण रूपमा निरन्तरता पाइरहेको छ । थेरवादी परम्परा अन्तर्गत हाल नेपालमा महाशी सयादो र आचार्य सत्य नारायण गोयन्काको गरी दुई परम्पराहरू प्रचलित छन् । यी दुवै परम्पराहरू अन्तर्गतका विपश्यना ध्यान केन्द्रहरू विश्व भरी फैलिएका छन् । नेपालमा महाशी सयादो परम्परानुसार लुम्विनीमा पण्डिताराम लुम्विनी अन्तर्राष्ट्रिय विपस्सना ध्यान केन्द्र र काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, शंखमूलमा केन्द्रहरू सञ्चालित छन् । यस्तै सत्यनारायण गोयन्का परम्परानुसार धम्म श्रृङ्ग (बुढानीलकण्ठ), धम्म कित्ति (किर्तिपुर), धम्म विराट (इटहरी), धम्म चितवन (चितवन), धम्म पोखरा, धम्म तराई (बीरगञ्ज), धम्म जननी (लुम्विनी) र धम्म सुरक्खेत (सुर्खेत) गरी जम्मा ८ स्थानमा केन्द्रहरू सञ्चालित छन् ।( विकिपिडिया¬)
    विपश्यना आवासीय सुविधा सहितको भिक्षु जस्तै जीवन ११ दिनसम्म विताउन लगाइन्छ । यसमा भिक्षुको जस्तै पहिरन लगायतका क्रियाकलाप नगराइए पनि अरुले दिएको दानमा १० दिनसम्म बाच्नु पर्ने हुन्छ । शिविर अवधीभर वाणी, इशाराबाट समेत एक अर्कासंग कुरा गर्न पूर्ण वर्जित गरीन्छ। यतिसम्मकी साधकहरुले एक अर्कासंग हात मिलाउने वा अनुहार हेर्ने समेत नगर्नु उपयुक्त मानिन्छ । यसलाइ आर्यमौन भनिन्छ । शिविरमै सात्विक भोजन प्राप्त हुन्छ जुन ठीक ठीक समयमा घण्टि लगाएर दिइन्छ । दिउसो १२ बजे उप्रान्त खाना खानु हुँदैन भन्ने मान्यता रहेछ । तर पहिलो चोटि ध्यानमा जानेहरुकालागि यो नियम कडाइका साथ लागु हुदैन । ध्यान कतै पनि नजाओस भन्नको लागि मोबाइल, पत्रपत्रिका, रेडियो, पढ्ने लेख्ने, अन्य पूजापाठ, ध्यान, योग आदि सबै वर्जित हुन्छ (तर खाली समयमा निश्चित क्षेत्रमा हिंडडुल गर्न भने सकिन्छ)। चौथो दिन पछि ध्यानमा अँझै कडाई थपिन्छ अर्थात् दिनको तीन पटक १÷१ घण्टा बिल्कुल हलचल नगरी ध्यान गर्नु पर्ने हुन्छ जुन ध्यान सकिए पछि साधकहरुको आत्मबलमा सहयोग गर्छ ।

    ध्यानको रुटिन
    बेलुकी ९ बजे देखि बिहान चार बजेसम्म ७ घण्टा सुत्नेनै समय हो । बाँकी दैनिक १७ घण्टा घडिको सुई र घण्टिको चालमा चल्नु पर्ने हुन्छ । बिहान ४ बजे उठेर फ्रेस हुन घण्टि लाग्छ, ४ः३० मा ध्यान गर्ने हलमा आइ पुग्नु पर्दछ । समयमा नआउनेहरुको कोठा कोठमा गई स्वयंसेवकहरु ढोका ढक्ढक्याउन आइपुग्छन् । २ घण्टा ध्यान, अनि साढे एक घण्टा खाजा र आराम, अनि ३ घण्टा ध्यान, २ घण्टा खाना र आराम, ४ घण्टा ध्यान, १ घण्टा नास्ता र आराम, साढे एक घण्टा ध्यान साढे एक घण्टा प्रवचन सुन्दा ९ बजेको घण्टि बजे पछि बिहान ४ बजे उठ्नु छ भन्दै सुत्न गै हाल्ने हो विपश्यना शिविरमा जुन विश्वभरमा विपश्यना ध्यान केन्द्रहरुमा एकै प्रकारको नियम लागु गरिएको हुन्छ ।( ५, २०७७, इलुम्बिनीखवर डटकम)
    ध्यान
    सधैं निश्चित आसनमा बुद्धका झैं सीधा बसेर आँखा चिम्लेर शान्तसंग बस्नु पर्दछ । पहिलो तीन दिनसम्म नाकभित्र, नाकका प्वाल र श्वास बाहिरिने जुँगाको मध्य क्षेत्रमा श्वास आवतजावत गरेको थाहा पाइराख्न लगाइन्छ र तीं भागहरुमा उत्पन्न हुने संवेदनाहरुको जानकारी राख्न लगाइन्छ । श्वास गन्ने, कुनै देवी देवता सम्झिने, कुनै आकार सम्झिने गर्नु हुँदैन । केवल कुनै प्रतिक्रिया नजनाई केवल आफ्नो श्वासप्रश्वासलाई द्रष्टा भावले महशूस गरीराख्नेमात्र हो । बीचमा कतै चिलायो भने पनि कन्याउँन हुँदैन किनभने शरीरका कुनै पनि घटना अनित्य हुन्छन्। जुन उत्पन्न हुन्छन् तीं अवस्य आफै नष्ट हुन्छन् । त्यस पछिका दुई दिनसम्म श्वास आवागमनको क्षेत्र साँघु¥याइन्छ अर्थात् नासिकाको प्वाल देखि जुंगाक्षेत्रसम्म मात्रै अवलोकन गर्न लगाइन्छ र उत्पन्न हुने संवेदनाहरुको जानकारी राख्न लगाइन्छ । १, २ मिनेट ध्यान ग¥यो कि मन उफ्रेर कि बिगतका घट्ना सम्झिन कि भविष्यका कुरा खेलाउन फुत्किहाल्दो रहेछ । त्यो मनलाई समातेर फेरी श्वासमै केन्द्रित गर्न लगाउनु पर्ने हुन्छ । त्यसपछिका ४ दिनसम्म ध्यानलाई शिर देखि पाउँसम्मका शरीरका प्रत्येक अंगहरुलाई शुक्ष्मरुपले अवलोकन गर्न लगाई त्यहाँ उत्पन्न हुने संवेदनाहरु महशूस गर्न लगाइन्छ । दर्शौ दिन यसै क्रियालाई दोहो¥याउंदै सबैको मंगल कामना गर्ने मंगलमैत्री कार्यक्रम पनि थपिन्छ र बाहिरको केहि निश्चित स्थानहरुमा मौनब्रत समाप्त हुन्छ । विपश्यनाको उद्देश्य रोगीहरुको उपचार गर्नु कतै होइन । यसले चित्तलाई शुद्धिकरण गरी राग र द्वेषमा समभावमा बस्न अभ्यास गराउने हो र क्लेशबाट मुक्त हुन कोशिश गर्ने हा े। शील पालन गरी राख्ने हो र सात्विक भोजन गर्ने हो भने धेरै रोगहरु हराउन लागेको थाहा पनि हुँदैन , तर ग्यारेण्टी भने लिइदैन । ( मिश्र, सिद्धराज, मंसिर २८, २०७४, अन्णपुर्ण पोष्ट)

    जिवन जिउन विपश्यना
    विपश्यना मानव जिवनलाई शान्त र अहिसांको मार्गमा हिडाउने प्रमुख मार्ग हो । विपश्यना ध्यान स्वर्य–अवलोकन मार्फत स्वयं–परिवर्तनको एक तरीका हो । यो दिमाग र शरीर बीचको गहिरो अन्तरक्रियामा ध्यान केन्द्रित गर्दछ । जुन शरीरको जीवनकोरुप बनाउँछ र दिमागको जीवन निरंतर जडान गर्दछ । यो अवलोकन आधारित, दिमाग र शरीरको सामान्य जडको लागि आत्म–अन्वेषण यात्रा हो । मानिसमा मानसिक अपमानको भंग गर्दछ । मानवलाई प्रेम र दया श्रृजना गरि संतुलिन मन बनाउन विपश्यनाले सहयोग पुराउछ । भौतिक संवेदनामा अनुशासनलाई बाधेर ध्यानले आन्नद अनुभव गर्दछ । शरीर जीवनको रुप बनाउँछ र दिमागको जीवन निरंतर जडान गर्दछ । यो अवलोकन आधारित, दिमाग र शरीरको सामान्य जडको लागि आत्मअन्वेषण यात्रा हो । आफ्नो मनलाई कसरी वशमा राख्न सकिन्छ भन्ने कुरा विपश्यना ध्यानमा सिकाइन्छ । मनको मालिक आफै हुने तर्फ ध्यानले सिकाउँछ । मनलाई एकाग्र बनाउन र आफ्नो नियन्त्रणमा राख्नको निम्ति थुप्रै उपायहरु छन् ।तर विपश्यना साधनाले आफुले ग्रहण गर्ने र त्याग गर्ने सासको अवस्थालाई नियन्त्रणमा लिएर मनलाई एकाग्र बनाउँछ । सासको जानकारी मात्र लिएर मनलाई एकाग्र बनाउने काम मात्र हो । मन स्वभावैले चञ्चल हुन्छ । विपश्यनाले विस्तारै मानिसको मनलाई एकाग्रतामा प्रवेष गराएपछि अन्तरमुखी हुने क्षमताका विकास गर्दछ । मानिसको मनमा सधै कुनै न कुनै तरङग चलिनै रहेको हुन्छ । विपश्यनाको निरन्तर साधना गरिसकेपछि भने अन्तरमुखी स्वभाव बढेर आउँछ । जसबाट शरिरमा के भइरहेको छ भन्ने कुराको विस्तारै जानकारी हुनथाल्दछ । मानिसको मनमा विभिन्न किसिमका विकारहरु छन् । ति विकारहरु विभिन्न शारीरिक समस्याको रुपमा साधनाको समयमा निस्कने गर्छन् । मानिसमा हुने मनका डरहरु विस्तारै हट्दै जान्छन् । मनको क्षमताको विकास हुन्छ । विपश्यनाको साधारण अर्थ बिना प्रतिक्रिया हेरिरहनु भन्ने हुन्छ । क्रोध, भय, इष्र्या, रोग लगायतका मानिसमा रहेका समस्याहरु हटाइ विपश्यनाले मानिसको मनमा भएका विकारहरु हटाउने गर्दछ । आफ्नो मनलाई भित्रबाटै सफा गर्ने यस विपश्यना प्रति पछिल्लो समय नेपालमा निकै आकर्षण बढेको छ । विपश्यना विधि कर्म संस्कार द्धारा चित्तलाई शुद्ध र निर्मुल गरी मुक्ति प्राप्त गर्ने हो । हामीले विगतमा गरेका कर्म बाट पाएको दुःखहरु विपश्यना विधिबाट नियन्त्रित र समस्याहरु घटाउदै जान्छौ । मनलाई शान्त बनाउने र मुक्ति मार्गमा हिडाउनका लागि विपश्यना महत्वपुर्ण मार्ग रहेको छ । (ज्योति,रुप, भदौ १२, २०७५, सेतो घर )
    विपश्यनाका चरणहरु
    विपश्यना पहिलो पटक लिने शिविर १० दिनको हुने गर्छ । दोस्रो चरण २० दिनको हुने गर्छ । २० दिनको शिविरमा सहभागि हुने १० दिनको ५ ओटा शिविरमा संलग्न हुनुपर्छ । अर्को चरणमा ३० दिनको शिविर हुन्छ । यसमा सहभागि हुन २० दिनका २ ओटा शिविरमा सहभागि भएको हुनुपर्छ । यसरी नै ४५ दिन र ६० दिन सम्मका शिविरहरु प्रचलनमा छन् । नेपालमा ४५ दिन सम्मका शिविर सञ्चालन भएको छ । यि शिविरमा नेपालका सेना, प्रहरी, सरकारी कर्मचारी, राजनेता, डाक्टर, विदेशी निकायमा कार्यरत व्यक्तिहरु, विद्यार्थीलाई अनिवार्य विपश्यना साधना गराउने व्यवस्था गर्नु पर्दछ । विपश्यना विधिले मानव जगतको मात्र नभएर लोक जगतलाई पनि सहि मार्गमा हिडाउन सहयोग पुराउने थियो । नेपाल लगाएत बुद्ध दर्शनको विकास भएका देशहरुमा विपश्यना ध्यानलाई सवै नागरिक सम्म अनिवार्य रुपमा पुराउनु पर्दछ । बुद्धले प्रतिपादन गरेका नियमहरुलाई पालना गराउन सके देश शान्ति र अहिसांको मार्ग अगाडी बढ्ने थियो । राज्य नेतृत्व देखी जनसेवामा खटिएका कर्मचारीमा पनि यो साधना आवश्यकता रहेको छ । विपश्यना साधनाले प्राणीजगतमा सकारात्मक सोच, धैर्यता र उन्नतिको पथमा लम्काउने काम गर्दछ ।(जेठ १०,२०७७, लुम्बिनीखवर, बौद्ध विधिशास्त्र)
    निष्कर्ष
    विपश्यना पराम्परागत पद्धती बाट मानव जिवनलाई शान्त पार्ने ध्यान हो । यसले मानिसमा नयाँ उर्जा तथा चमत्कारको विकास गर्दछ । महामानव गौतम बुद्धले २६ सय बर्ष पहिला यहि विधि मार्फत दिव्यज्ञान प्राप्त गरि प्राणी जगतको भलोको लागि गरेको महान कार्यहरुले अहिले सम्म मानव जगतले अगाल्न परेको छ । बौद्ध दर्शनमा बुद्धज्ञानले मानिसलाई अरुको हित र सत्यमार्गमा अगाडी बढ्न सिकाएको छ । जसले गर्दा मानिस तनावमुक्त हुन्छ भन्ने कुरा प्रमाणित गरेको छ । सवै कुरा अनित्य छन् । लोभ, द्धेष, मोहले मानिसलाई गलत मार्गमा दौगुराउछँ । स्वार्थले गर्दा मानिसको जिवनमा तनाव बढाउछँ । यस्ता कार्यहरु बाट आफुलाई टाढा राख्न सके हामीले मानिसको जिवनमा आन्नद र तनावमुक्त हुने मार्ग तय गरिने कुरा बुद्ध दर्शन तथा विपश्यनाले सिकाएको छ । विपश्यना एक मानव जिवनका लागि सत्यमार्ग अवलम्बन गर्ने विधि हो । यो बुद्धले प्रतिपादन गरेको सर्वोकृष्ट आध्यात्मिक ज्ञानको शैलि पनि हो । यसको प्रयोग र अभ्यास गर्दा मानिसहरु शान्त र अहिसांको मार्गमा अगाडी बढ्न सहयोग पुराउछँ । विपश्यनाले सत्यमार्ग, अपराधमुक्त समाज र आन्नद जिवनको कल्पना गर्दछ । मानिसहरु विपश्यनालाई अहिले संसारभर अभ्यास गराउने गरेका छन् । यसको माध्याम बाट मानसिकरुपमा विभिन्न प्रकार मानशिक समस्या देखि शारिरीक तनावलाई मुक्त बनाउने एकमात्र मार्गको रुपमा रहेको छ । नेपालमा पनि विपश्यना ध्यानले मनलाई काबुमा ल्याउने अस्त्रको रुपमा लिएको छ । तनावयुक्त र हतास मनस्थितिमा रहेका मानिसको मनलाई एकागै बनाई जीवन जिउने कला सिकाउने माधयम विपश्यना भएको बौद्ध दर्शनले पनि प्रमाणित गरेको छ । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान गर्न आवश्यक छ । हतास र आत्तिएको चित्तलाई शान्त गर्न विपश्यना ध्यान बाट मात्र सम्भव छ । ध्यानले मानिसको चित्तलाई दमन गर्छ । सांसरिक जीवनमा हुने राग,द्धेष र मोहबाट मुक्त गराउने साधन एवं माध्म पनि विपश्यना हो । संसारमा यसको प्रयोग बढदो छ । आर्य–मौनको माध्यमबाट शिरदेखि पाउसम्म आफुले आफैँलाई पढने र पाउदेखि शिरसम्म अध्ययन निरीक्ष्ँण गर्ने हुनाले पनि मानिसको मनलाई वशमा राख्न सकिने उत्तम मार्ग विपश्यना हो । आध्यात्मिक सुखशान्तिका लागि गरिने साधनाले चित्त निर्मल र शुद्ध बनाउने कर्म विपश्यना हो । चित्तमा हुने नराम्रा प्रवृत्ति त्यग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ । आफुले आफैँलाई चिन्न सिकाँउछ । विपश्यना आफूलाई चिन्ने, आफुलाई हेरेर अनित्यको बोध गर्ने र वस्तुनिष्ठ सत्यताको विकास गर्ने हो । पहिला आफ्नो अन्तरात्मालाई चिन्ने अनि वाह्य संसारलाई शुन्यतामा बुझ्ने नै विपश्यनाको काम हो । हामीले खोज्ने भौतिक सुखले वाह्य संसारमा सुख देखिए पनि आन्तरिक मनमा यसले कुनै फरक पार्दैन । भौतिक सुखले एकछिन आनन्द दिएपनि एकपछि अर्को इच्छा उत्पन्न हुँदै जाने तृष्णाले तनाव सिर्जना गराँउछ ।वास्तविक सुखको अनुभूति मनलाई राग,द्धेष र मोह वाट टाढा राख्न सक्नु हो । विपश्यना शरीरभित्रको विकार हटाउने तथा सुख र शान्तिले जिउने कला पनि हो । यो अहिले सबै धर्म समुदायको साझा भएको छ । प्राणी हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने , व्यभिचार नगर्ने र मध्यपान नगर्ने भन्ने पञ्चशील पुर्णरुपमा पालना गर्नाले समाधि (साधना)प्राप्त हुन्छ । साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ । चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छ । दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने मार्ग छ , दुःख निवारण हुन्छ । आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक, प्रयास, सम्यक स्मृति र सम्यक समाधि जस्तै दुःख निरोध गर्ने मार्ग पनि विपश्यना ध्यान पद्धती हो । शारीरिक र मानसिक रोग बाट मुक्त पनि ध्यानले गराँउछ । विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधि हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना ( शरिरका लागि) ,वेदनानुपस्सना (भावका लागि), चित्तानुपस्सना, (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । विपश्यना शिविरम गुरुको मार्गनिर्देशनमा विशेष प्रकारले गरिन्छ । घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेटी कसेर बसी आनापाना (सास लिने र फाल्ने) विधिले गर्न गर्नु पर्दछ । विपश्यनाले सादा खाना खानुपर्ने, शिललाई मान्नुपर्ने, चित्तलाई बाँध्नुपर्ने हुन्छ । सवै मानिस शान्ति र आनन्दको खोजमा दौडिरहेका हुन्छन् । त्यसलाई पाउन बुद्ध वचनको पालन गर्नुपर्छ । मन, वचन र शरीरले गर्ने १० अकुशल कार्य नगरे मानिसमा शान्ति र आनन्द आउने बुद्ध वचनले पनि प्रमाणित गरेको छ । मनमा हुने ३ अकुशल कार्य लोभ, प्रतिहिसां र असत्य ज्ञान त्याग्नु पर्दछ । वचनबाट हुने अकुशल कार्यहरु झुटो वचन, चुक्ली, कटुवचन र व्यर्थ वचन हुन । शरीरबाट हुने शरीरबाट हुने अकुशल कार्य हत्या, चोरी, व्यभिचार हुन् । साधना गर्दा यी काम नगर्ने प्रतिज्ञा गरेमा मानिसमा स्वतः शान्ति र आनन्द प्राप्त हुन्छ ।

    सन्दर्भग्रन्थ सूची
    पराजुली, पुण्यप्रसाद, जुन ११, २०१९, नेपाल बुद्धिष्ट न्युज डट कम
    रायमाझी, कमल, असार ५, २०७७, इलुम्बिनीखवर डटकम, बौद्ध ध्यान र अभ्यास
    ज्योति, रुप, भदौ १२, २०७५, सेतो घर ,नेपाल प्रमुख विपश्यना केन्द्र
    विकिपिडिया डट कम
    मिश्र, सिद्धराज, मंसिर २८, २०७४, अन्णपुर्ण पोष्ट, विपशयना–एक अदभुत ध्यानयोग
    रायमाझी, कमल, जेठ १०,२०७७, लुम्बिनीखवर, बौद्ध विधिशास्त्र : नेपालमा शान्ति र समृद्धीको आधार
    दावा, घिसेलोब्साङ, अगस्त १२,२०१९, बौद्ध ध्यान, घिसेलोब्साङ यूटुव
    रायमाझी,कमल, जेठ ११, २०७७, विपश्यना गरौँ, बन्दाबन्दी जितौँ, राष्ट्रिय समाचार समिति

    प्रकाशित मिति २०७७ मंसीर २०

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.