
दीपक जैसवाल
सुर्यपूरा, १४ पुस । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ रुपन्देहीको गैडहवा गाउँपालिकामा सञ्चालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेल लगातारको वर्षाका कारण स्थगित भएको छ । हिजो रातीदेखि नै वर्षा भएपछि आज बुधबारको खेल स्थगित गरिएको क्लब अध्यक्ष पदम थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाका अनुसार पाँचौ दिनको खेल कपिलवस्तु-११ र न्यु एभरेष्ट युवा क्लब मैनहिया बीच हुने भनिए तापनी लगातारको वर्षाले दर्शक र खेलाडी आउन समस्या हुने भनि खेल स्थगित गरिएको हो । आज भनिएको उक्त खेल शुक्रबार हुने आयोजकले जनाएको छ ।
बिहिबार पनि मौसम अनुकुल नभएमा खेल स्थगित नै हुने र वर्षा कम भएमा खेल निरन्तर हुने क्लबका वरिष्ठ सदस्य प्रकाश ठकुरीले जानकारी दिनुभयो । यस्तै बिहिबार मुर्गिया एफसी मुर्गिया र फसर्टिकर क्लब बीच खेल हुने आयोजकले जनाएको छ ।
खेलमा क्रमश प्रथम हुनेले रु. १ लाख ११ हजार १ सय ११ र दोस्रो हुनेले रु. ५५ हजार ५ सय ५५, कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । पुस १७ गते शनिबार फाइनल खेल खेलाइ गैडहवा प्रथम अध्यक्ष कप समापन हुने बताइएको छ ।
खेल दैनिक दिउँसो दुई बजेदेखि संचालन हुँदै आएको छ । अध्यक्ष कपको आयोजक न्यु एभरेष्ट युवा क्लब, संरक्षक गैडहवा गाउँपालिका र सह-संरक्षक गैडहवा वडा नं. ८ रहेको छ ।