लुम्बिनीखबर
भैरहवा । निकै उत्साह र उमंगका साथ जेठ २ गते उद्घघाटन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएको छ । विमानस्थललाई लक्षित गरेर अर्बौं लगानी गरेका व्यवसायीहरु विमानस्थल संचालनमा आउँदा खुशी भएका थिए । तर, व्यवसायीको खुशी भने पछिल्लो समय निराशामा बदिलिँदै गएको छ । विमानस्थल संचालनमा आएको ७ महिनामै अन्तर्राष्ट्रिय उडान रोकिएपछि अहिले यस क्षेत्रका व्यवसायी चिन्तित छन् । खराब मौसमले भिजिविलिट नपुगेको भन्दै यहाँबाट उडान गर्दै आएका दुई बायुसेवा कम्पनीले सेवा नै रोकेका छन् । उडान रोकिएपछि मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अहिले विजनेशबिहीन बनेको छ । कर्मचारी फुर्सदिला भएका छन् भने निजी क्षेत्र निराश छ । विमानस्थलमा २ सय बढी कर्मचारी कार्यरत छन् । अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरु फुर्सदमा भएका हुन् ।
विमानस्थल उद्घाटनकै दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले व्यवसायिक उडान सुरु गरेको थियो । त्यसपछि भैरहवाबाट उडान गर्न एक दर्जन विदेशी एयरलाइन्स इच्छुक रहेको भनियो । तर, विमानस्थल संचालनमा आएको ६ महिनापछि हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गर्यो । अरु एयरलाइन्स भने आएनन् । पछिल्लो समय मौसमको कारण देखाउँदै गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान–अवतरण स्थगित गरेको छ ।
‘हामीले सुरुदेखि विमानस्थलबाट कनेक्टिभिटी बढाऔं । धेरै एयरलाइन्सहरु ल्याऔं भनिरहेका थियो । त्यो हुन सकेको थिएन । तर पनि अन्तर्राष्ट्रिय उडान हुँदा चहलपहल बढेको थियो, थोरधेर होटल तथा अन्य व्यवसाय चलेका थिए’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भन्नुभयोे, ‘अहिले त संचालनमा आएका उडान पनि रोकिएको छ । सरकारले यसमा ध्यान दिनुपर्छ ।’ उहाँले उडान रोकिएपछि निजी क्षेत्रमा सन्नाटा छाएको बताउनुभयो ।
यहाँका व्यवसायी र स्थानीयले लामो समयदेखि एयरलाइन्सहरु थप गरी भैरहवाबाट दिल्ली, थाइल्याण्ड, चीन लगायत बुद्धिष्ट मुलुकमा उडान गर्न माग गर्दै आएका थिए । व्यवसायीले यस्तो माग गरिरहँदा उल्टै संचालनमा रहेका विमान कम्पनीले पनि सेवा बन्द गरेपछि निराशा झनै थपिएको बताएका छन् । ‘उडान अबरुद्ध भएकै कारण लुम्बिनी आउनलाई टिकट बुकिङ गरेका तेस्रो मुलुकका पर्यटकले टिकट रद्ध गरिरहेका छन् । होटल बुकिङ पनि रद्ध भइरहेको छ’, पर्यटन व्यवसायी किशोर जोशीले भन्नुभयो, ‘पर्यटक नेपाल आउने सिजनमै उडान रद्ध हुँदा यसको मार व्यवसायीले नराम्रोसँग व्यहोर्नु परेको छ । यसले भविष्यमा व्यवसायीलाई संकटमा पार्नसक्छ ।’
उद्घाटनयता जजिरा एयरलाइन्सले एक सय ५४ वटा उडान र अवतरण गरेको थियो । यसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए । बीचमा केही समय दैनिक उडान पनि गरेको थियो । पछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो । जजिराले आफ्नो उडान अहिले काठमाडौं केन्द्रित गरेको छ । विमानस्थलका अनुसार इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम अथार्त् थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण संचालन नहुँदा हिमालय र जजिराले सेवा स्थगित गरेका हुन् ।
भैरहवामा साँझबिहान हुस्सुले ढपक्कै ढाक्छ । आइएलएस संचालनमा नआउँदा यस्तोमा जहाज उडान–अवतरण गर्न कठिन हुन्छ । मौसमकै कारण अहिले भिजिविलिटी नपुगेपछि भैरहवा आउने तयारीमा रहेका चार्टर्ड विमान पनि आउन सकेका छैनन् । आन्तरिकतर्फ दैनिक हुँदै आएका २० देखि २५ उडान पनि आधा घटेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले केही समयका लागि मात्रै उडान स्थगित भएको बताउनुभयो । ‘मौसमका कारण भैरहवामा अवतरण हुन नसक्दा अन्यत्र डाइभर्ट गर्नुपर्ने अवस्था आएपछि दुई–चार हप्ताका लागि जजिराले सेवा स्थगित गरेको हो’, उहाँले भन्नुभयो, ‘केही समय पछि पुनः सेवा सुरु गर्ने छ ।’ उहाँले आइएलएस संचालन सम्बन्धमा भने सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी विमानस्थललाई फुलफेजमा संचालन गर्नका लागि हरप्रयास गरिरहेका छौं’, उहाले भन्नुभयो, ‘केही समयमा यसले सार्थकता पाउला ।’ विमानस्थल निर्माण सुरु भएदेखि पर्यटन क्षेत्रमा ह्वात्तै लगानी बढेको थियो । विमानस्थललाई लक्षित गरेर ४ वटा तारे होटल यहाँ संचालनमा आइसकेका छन् । केही धमाधम बनिरहेका छन् ।