logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नवलपरासीमा सम्बन्ध विच्छेद गर्नेहरु बढ्दैं


    १४ असोज २०८० , आइतबार

    नवलपरासीमा सम्बन्ध विच्छेद गर्नेहरु बढ्दैं

    सम्बन्ध विच्छेदका लागि तीन वर्षमा ९ सय १२ वटा मुद्दा दर्ता
    ज्ञानेश्वर साहनी । लुम्बिनीखबर
    नवलपरासी, १४ असोज । नवलपरासीमा सम्बन्ध विच्छेद गर्नेहरुको सख्यामा बृद्धि भएको छ । श्रीमान–श्रीमती बीचको बैवाहिक नाता सम्बन्ध कानूनी रूपमा अन्त्य हुने क्रम बढ्न थालेपछि पारिवारिक विखण्डनले प्रश्रय पाउन थालेको देखिन्छ । जिल्लाको तिन आर्थिक वर्षको तुलना गर्दा सम्बन्ध विच्छेद गर्नेहरुको सख्या बढ्दो देखिएको हो । आर्थिक वर्ष २०७७ देखि २०७९ सम्मको सम्बन्ध विच्छेद गर्नेको ग्राफलाई हेर्दा उकालो तिर लागेको देखिन्छ ।

    जिल्ला अदालत नवलपरासीमा सम्बन्ध विच्छेदका लागि आर्थिक वर्ष ०७७ देखि ०७९ सम्म ९ सय १२ वटा भएको जसमा ७ सय ९६ फैसला भएको र १ सय २६ बाँकी रहेको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार(उपसचिव) जानकी रमण यादवले बताउनुभएको छ । आर्थिक वर्ष ०७७।०७८ साउन १ देखि असार मसान्त सम्म सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको संख्या २२७ रहेको जसमा २२७ वटा फर्चोट वा फैसला भएको तथ्याङ्कले देखाएको छ ।

    आर्थिक वर्ष २०७८।०७९ सालमा सम्बन्ध विच्छेदका लागि दर्ता भएका मुद्दाको संख्या ३१४ जसमा २९७ फर्चोट भएको र १७ वटा बाँकी रहेको तथ्याङ्ले देखाएको छ । त्यसै गरी आर्थिक वर्ष ०७९।०८० मा मुद्दा दर्ता संख्या ३७१ रहेको छ । जसमा २७२ फैसला भएको र १०९ बाँकी रहेको जिल्ला अदालत नवलपरासीले जनाएको छ । यसरी नवलपरासीको ३ वर्षे सम्बन्ध विच्छेदको तथ्याङ्कलाई हेर्दा हरेक वर्ष बढोत्तरी गति लिएको देखिन्छ ।

    यस किसिमको नवलपरासीमा चालु आर्थिक वर्ष ०८०।०८१ साउन देखि भदौ सम्म अर्थात दुई महिना भित्र ७३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन भने जस मध्ये ५४ वटा फैसला भईसकेको र ३९ वटा बाँकी रहेको जिल्ला अदालत नवलपरासीको तथ्याङ्कले देखाएको छ । नवलपरासीमा विभिन्न कारणले सम्बन्ध विच्छेद गर्नेहरुको सख्यामा बृद्धि हुन थालेपनि स्थानीय सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका छन् ।

    सम्बन्ध विच्छेद हुनुको मुख्य कारण भनेको एक्लोपन, प्रतिबद्धता पुरा नगर्नु, नजीकता, मनमुटाव, सानै उमेरमा विवाह भएको, धोखाधडी, आर्थिक अवस्था वा गरिबी, दुव्र्यवहार , अव्यवहारिक र बालबच्चा भएको समाजशास्त्रीहरु बताउँछन् । दाम्पत्य जीवनमा एक आपसमा समय नदिनु सम्बन्ध विच्छेदको प्रमुख कारण हो । विवाह गर्दा कसैले पनि पति पत्नीले एक आपसमा गरेको प्रतिबद्धता बिर्सने र सहयोग नहुदा सम्बन्ध विच्छेद हुनेगरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    बिस्तारै समयले कोल्टे फेरे पछि एकअर्कामा सहयोग सर्मपणको भावना हराउदै जान्छ । विदेशमा गएका प्रायः सबैको दाम्पत्य जीवनमा नजीकता नभएका कारणले विदेशमा भएका व्यक्तिको पति वा पत्नी यहाँ अन्य व्यक्ति सँग सम्बन्ध राख्नु र यसबाट पति पत्नीमा आत्मीयता कम भएको र एक आपसमा शंका बढाएको कारणले सम्बन्ध विच्छेद हुने गरेको जानकारहरुको भनाई छ ।

    दाम्पत्य जीवनमा सामान्य कुरा बढ्दै गएमा ठूलो मनमुटाव हुने गर्दछ । सानो विषयमा बेलैमा सचेत भएर समस्या समाधान नगर्दा प्रायः सम्बन्ध विच्छेद भएको एक स्थानीयले बताएका छन् । केही श्रीमतिहरुले विदेशबाट पतिले पैसा पठाएको तर नेपालमा पत्नीले परपुरूषसँग शारीरिक सम्बन्ध राखेर पतिले पठाएको पैसा सकेको पनि केस अदालतहरुमा फेला परेको देखिन्छ त्यसैले यो धोखाधडी पनि सम्बन्ध विच्छेदको प्रमुख कारण बनेको समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक उमेशचन्द्र रिजालले बताउनुहुन्छ ।

    लुम्बिनीखबरका नवलपरासी संवाददाता पत्रकार ज्ञानेश्वर सहानीका अनुसार– अहिले सामाजिक सञ्जाल र अनेक कारणबाट सानो उमेरमा मायाकोजालमा पर्ने र विवाह गर्ने चलन बढेको छ । यसरी भविष्य बनाउने समयमा विवाह गर्दा धेरै श्रीमान श्रीमति विच मनमुटाव बढेको र अन्तमा सम्बन्ध विच्छेद समेत भएको छ । आर्थिक अवस्था कमजोर वा गरीवी पनि सम्बन्ध विच्छेदको प्रमुख कारण हो । प्राय पति रक्सीको कुलतले पैसा सक्ने र जागिर समेत नगर्ने गरेको कारणले घरमा श्रीमान अथवा श्रीमति परपुरुष वा महिला संग सम्बन्ध राखि सम्बन्ध विच्छेद गरेको पत्रकार सहानीले बताउनुभयो ।

    अव्यावहारिक कारण पनि एक महत्वपूर्ण सम्बन्ध विच्छेदको कारण हो । फिल्मको जस्तो सधैं रेस्टुरेन्ट, फिल्म हेर्न जाने र धेरै उपहारको माग गर्ने र सोचेको जस्तो नभएको कारणले गर्दा सम्बन्ध विच्छेद गर्न खोजेको हनेको संख्या दिनप्रति दिन बढदै गएको देखिन्छ । नेपालमा सम्बन्ध सुधारका लागि आपसी समझदारी आवश्यक पर्दछ । सम्बन्ध सुधारका लागि मेलमिलापको अवसर आवश्यक देखिन्छ ।

    नेपालमा सम्बन्ध विच्छेदको प्रावधान प्राचीन समय देखि नै रहेको पाईन्छ । औपचारिक रूपमा भने वि.सं. १९१० को मुलुकी ऐनमा यस सम्बन्धी व्यवस्था रहेको थियो । उक्त व्यवस्था नयाँ मुलुकी ऐन २०२० मा पनि गरी लागु गरिएको थियो । वि.स २०७४ साल सम्म महिलाले मात्र सिधै अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउने व्यवस्था रहेकोमा मुलुकी देवानी संहिता २०७४ मा लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउने सुनिश्तिता दिएको हो ।

    सम्बन्ध विच्छेद गर्न कानुनी हदम्याद भित्र उजुर गर्नुपर्दछ । त्यसै गरी श्रीमानले श्रीमति संग सम्बन्ध विच्छेद गर्ने आधार अंश लिई छुट्टिई बसेमा, अलग बसेमा, घरबाट निकाला गरेमा, शारीरिक वा मानसिक कष्ट दिएमा उजुरी गर्न पाउने रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.