काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको बताएका छन् । सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा अख्तियार प्रमुख राईले भने– ‘भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो ।’
ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने गरेको उल्लेख गर्दै राईले भने– ‘अन्तर्राष्ट्रिय स्तरमा डिलिङ भएर हुने भ्रष्टाचारको प्रमाण सङ्कलन गर्न कठिन हुन्छ, प्रमाण सङ्कलन गर्न सक्ने गरी कानुनमा संशोधन गर्न आवश्यक छ ।’ अन्तर्राष्ट्रिय स्तरमा ठुला भ्रष्टाचारको डिल भएको सूचना आए पनि त्यसलाई प्रमाणको रूपमा ल्याउन नसकिएको उनले बताए । अख्तियार प्रमुख राईले भने– ‘एमएलए ट्रिटि छ तर, बाइल्याटरल एग्रिमेन्ट गरे मात्र सूचना आउने हुनाले त्यसबारे सरकारले सोच्नुपर्ने अवस्था छ ।’
भ्रष्टाचारको स्वरूप फेरिएर ‘करप्सन एउटाले गर्ने तर, पैसा अर्कोले लिने’ परिपाटी आएको राईले बताए । उनले भने– ‘भ्रष्टाचार एउटाले गर्छ तर, लेखनदासले पैसा लिन्छ ।’ लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने उनले बताए ।
यातायात कार्यालयमा बिचौलिया र भन्सार कार्यालयमा एजेन्ट मार्फत ‘घुस’ लेनदेन हुन थालेको उल्लेख गर्दै राईले भने– ‘अन्य माध्यमबाट भ्रष्टाचार हुन थालेपछि करप्सन कसरी पत्ता लाग्छ ?
राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियारको काम कारबाहीबारे सांसदहरूले छलफल गरेका छन् ।रातोपाटीबाट