logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विकास र समृद्धिको लयमा ओमसतिया–६


    २५ असोज २०८० , बिहिबार

    विकास र समृद्धिको लयमा ओमसतिया–६

    रुबिना थापा । पशुपति यादव। लुम्बिनीखबर
    भैरहवा, २५ असोज । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी नामबाट नामाकरण भएको लुम्बिनी प्रदेश नेपालको ऐतिहासिक, सांस्कृति, धार्मिक, शैक्षिक, सामाजिक र आर्थिक रुपमा महत्वपूर्ण प्रदेश हो ।
    रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको विकास र समृद्धि तर्फ अगाडि बढ्दै गरेको प्रदेशकै नमुना जिल्ला भित्र पर्दछ । उद्योग, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा यो जिल्लाले आफूलाई अब्बल सावित गरेको छ ।
    यो जिल्लाको ओमसतिया गाउँपालिका पनि विकास र समृद्धिको यात्रामा अगाडि बढेको पालिका हो । नेपालको संविधान २०७२ को व्यवस्था अनुसार गठन भएको स्थानीय तहको अवधारणा अनुसार यो गाउँपालिकाले जनताको चाहना र अपेक्षालाई मध्यनजर गरेर विभिन्न योजनाहरु बस्तीबस्तीमा पुराएको देखिन्छ । साविकका पड्सरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली र छोटकी रामनगर गाउँ विकास समितिहरुलाई समायोजन गरेर वि.स. २०७४ साल जेठ ११ गते ओमसतिया गाउँपालिको निर्माण भएको हो । यो पालिकामा ६ वटा वडा कार्यालयहरु छन् । ४८.५४ वर्ग किलो मिटर क्षेत्रफल यो पालिकाले ओगटेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या ४१,१४१ रहेको यो पालिकामा पुरुषको जनसंख्या २०,४५२ र महिलाको जनसंख्या २०,६८९ रहेको छ । नमुना गाउँपालिका बन्ने मार्गमा पुगेको यो गाउँपालिकाको वडा नम्बर–६ महत्वपूर्ण वडाको रुपमा परिचित छ । पालिकाको पूर्वक्षेत्रमा पर्ने यो वडाको कुल जनसख्या ६,०१७ रहेको छ । जसमा पूरुषको संख्या ३,०१९ र महिलाको संख्या २,९९८ रहेको छ । कृषि र पशुपालनको उर्भरभुमीको उपमा पाएको यस वडाको विकास र समृद्धिका लागि वडा पालिकाले महत्वपूर्ण योजनाहरु अगाडि सारेको देखिन्छ ।
    शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, पूर्वाधार विकास, खानेपानी र विद्युत्त विस्तारको क्षेत्रमा योजनावद्ध विकास गर्न सफल वडा नं. ६ ले नमुना वडा पालिकाको अवधारणा अनुसार अगाडि बढेको पाईन्छ । स्थानीय तहको गठन संगै वडा अध्यक्षमा निरन्तरता पाएका शिक्षित तथा क्रान्तिकारी युवा नेता शिवकुमार धवलले समाजमा देखिने समाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै समतामूलक समाजको निर्माण तर्फ आफ्नो अभियान अगाडि बढेको बताउनुहुन्छ ।
    उहाँले वर्गीय, जातीय, भाषिक, धार्मिक, लैंगिक र सबै प्रकारका छुवाछुतको अन्त्य गरी समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधार समतामूलक समाजको निर्माण गर्न वडा पालिले भुमिका खेलिरहेको वडा अध्यक्ष धवलको भनाई रहेको छ ।

    कविता – आमा – News for Lumbini Zone of Nepal (elumbinikhabar.com)
    बुद्धको जन्मस्थल लुम्बिनी मावली कोलिय वंश राज्य देवदहको मध्यभाग र बुद्धले शान्ति स्थापना गरेको क्षेत्र रोहिणी नदिको सामिप्यतामा रहेको वडा नं. ६ ले समाज रुपान्तरणका साथै वडाको उपलब्धी मुलक योजनाबद्ध विकासलाई महत्वका साथ अगाडि बढाएको देखिन्छ । जनतामा गरिने सेवा प्रवाहलाई प्राविधिक माध्यमबाट सहज, सरल, छिटो र छरितो गरिने माध्यमको विकास गरिएको वडापालिकाले जनाएको छ ।
    योजनाबद्ध विकास गर्न सफल यो वडापालिकाले आर्थिक, समाजिक विकासका साथै मानवीय विकासमा आमूल परिवर्तन गरेको देखिन्छ । महान जनयुद्धका साथै विभिन्न प्रकारका आन्दोलनका कारण नेपाली समाजको रुपान्तरण भएको बताउने वडा अध्यक्ष धवलले समावेसी, समानुपातिक र समानतामूलक समाजलाई संस्थागत गर्न अबको आवश्यकता रहेको बताउनुहुन्छ । स्थानीय सरकारको गठन संगै वडाका थुप्रै सामाजिक सूचकहरुमा बृद्धि भएको छ । वडापालिकाका अनुसार वडाले समग्र उन्नतिको लयमा हिड्नका लागि सकारात्मक सोचका साथ काम गरिरहेको छ । जनताको अपार माया र ममताको जनमत पाएर वडाको नेतृत्व गर्न आईपुगेका युवा नेता तथा वडा अध्यक्ष धवलको इच्छा शक्तीले विकास र समृद्धिलाई उच्च विन्दुमा पुराउनेमा जनताहरु दृढ देखिन्छन् । वडा पालिकाले दीर्घकालिन योजनाहरुको आधारपत्र तयार गरेर काम गरिरहेको वडा नम्बर ६ का वडा सदस्य पार्वती चौधरीले जानकारी दिनुभएको छ ।
    वस्तीहरुका गुरुयोजना तयार गरि समाज विकासको गुणात्मक लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ वडापालिकाले कार्यसम्पादन गरेको वडा सचिव यादवको भनाई रहेको छ । यस वडाले वृद्धवृद्धा, अशक्तका लागि विशेस सेवा सुविधा दिनुका साथै महिला, दलित र गरिवका लागि विभिन्न उत्पादन मूलक क्षेत्रमा स्वरोजगार तालिम तथा चेतनामूलक कार्यक्रमहरु गरिरहेको वडापालिकाले जनाएको छ । वस्तीवस्तीमा खानेपानी अभियान अन्र्तगत एकघर एक धारो तथा हेन्डपाइप वितरण वडापालिकाले गरेको छ । सरसफाई तथा शौचालय निर्माण र प्रयोगका लागि समेत विभिन्न कार्यक्रमहरु आयोजना वडा तहबाट हुने गरेको वडा सदस्य चौधरीले बताउनुभयो । वडा भित्र रहेका मठमन्दिर, गुम्बा र मस्जिदको संरक्षण तथा पुर्वाधार विकासमा प्राथामिकतामा राखेर काम गरेको वडा कार्यालयले जनाएको छ । धार्मिक तथा कृषि पर्यटकको प्रचुर सम्भावना रहेको यस वडामा होमस्टे संचालन तथा पर्यटकीय पार्क र स्थलहरुको विकासका लागि दीर्घकालिन योजना निर्माण वडा पालिकाको योजनामा देखिन्छ । खेलकुदका लागि रंगशाला तथा खेलमैदानको निर्माण गर्नुका साथै गाउँगाउँमा खेलाडी उत्पादनका लागि निःशुल्क रुपमा खेलकुदका सामग्री वितरणका कार्यक्रमहरु समेत वार्षिक रुपमा वडा पालिकाले गर्ने गरेको वडा सदस्य झपेन्द्र यादवले बताउनुभयो ।
    कृषिको उत्पादन क्षेत्रमा बढावा दिनका लागि बिउ तथा मलको सर्वसुलभ व्यवस्था, कृषि औजारमा अनुदान दिने र उत्पादन भएको कृषि उपजलाई बजारीकरण गर्ने कार्यमा समेत वडा पालिकाले प्रयास गरिरहेको वडा सदस्य शारदा हरिजनले बताउनुभयो । बस्तीबस्तीमा पशु तथा कृषिको पकेट क्षेत्रको विकास गर्ने योजनाहरु कार्यान्वयनको चरणमा रहेको समेत वडापालिकाले जनाएको छ । सवै वस्ती जोडने पक्की तथा ग्राभेल बाटो निर्माण, विद्युत्त, कृषि सडक, यातायात, संचारको सुविधा र फोहोर व्यवस्थापनमा वडापालिकाले गुरुयोजना निर्माण गरि काम गरिरहेको राजु कोहारले बताउनुभयो ।
    शिक्षा
    वडाको शैक्षिक वातावरण निर्माण र विकासका लागि वडा पालिकाले गुणस्तर तथा वैज्ञानिक र प्राविधि शिक्षा योजना कार्यान्वयन गर्ने वडापालिकाले जनाएको छ । जीवन उपयोगी र गुणात्मक शिक्षाको माध्यमबाट सुसंस्कृति र समुन्नत तथा गतिशिल समाजको निर्माणको अभियानमा वडापालिका लागेको देखिन्छ । सवैमा आधारभूत शिक्षा पुराउने लक्ष्य पनि वडाको छ । शिक्षालाई सवैको पहुँचमा पुराने तथा शैक्षिक दृष्टिले पिछडिएका वर्ग, समुह र महिलाहरुलाई विद्यालय सम्मको पुराउने कार्यक्रमहरु अगाडि वडापालिकाले सारेको छ । यस वडामा एक माध्यमिक विद्यालय श्री छोटकी रामनगर माध्यमिक विद्यालय, तिनवटा आधुरभुत विद्यालयहरु श्री सगरमाथा आधारभुत विद्यालय, श्री भविष्य निर्माण आधारभुत विद्यालय, श्री समशेर स्मृति आधारभुत विद्यालय रहेका छन् । यहाँ एक मदरसा कदारिया निजामिया अहले सुन्नत फैजुल उलुम रहेको छ । यसका अलवा केही नीजि क्षेत्रबाट संचालित बोडिङ् स्कुलहरु पनि रहेका छन् । जसमा गुणस्तर शिक्षाका लागि वडापालिकाले पहल गरिरहेको छ । गुणस्तर शिक्षा हाम्रो प्रमुख प्राथामिकता भएको वडा अध्यक्ष धवलले बताउनुभयो ।
    स्वास्थ्य
    कोभिडको समयमा महत्वपूर्ण भुमिका खेलेको छोटकी रामनगर स्वास्थ्य चौकी यस वडाको स्वस्थ्य उपचारको महत्वपूर्ण पिलर हो । यो स्वास्थ्य चौकीले वडा संगको सहकार्यमा जनताले प्रत्यक्ष सेवा पाउने प्रकारका विभिन्न स्वास्थ्य सम्वन्धी कार्यक्रमहरु गर्ने गरेको छ । बृद्धबृद्धा, सुत्केरी, अपाङ् र असक्तका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । समय समयमा बस्तीबस्तीमा पुगेर स्वास्थ्य शिविरहरु संचालन गर्ने र स्वास्थ्य सम्वन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्ने गरेको छ । यहाँको स्वास्थ्य चौकीले जनताको आवश्यकता अनुसार नयाँ नयाँ कार्यक्रम संचालन गर्ने र स्वास्थ्य सेवालाई निरन्तरता दिने गरेको देखिन्छ । यस वडामा ५ बेड सम्मको अस्पताल निर्माण तथा स्वास्थ्य बीमा कार्यक्रमहरु संचालन गर्ने वडापालिको योजना रहेको वडापालिकाले जनाएको छ ।
    निष्कर्ष
    विकास र समृद्धिको लयमा अगाडि बढेको ओमसतिया गाउँपालिकाले आफ्ना वडापालिकाहरुको विकासमा महत्वपूर्ण भुमिका खेलेको छ । शहर भन्दा ग्रामिण बस्ती बढि भएको क्षेत्र भएकाले यो पालिकाले ग्रामिण सडक तथा कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्ने गरेको छ । जनताको जिवनस्तर माथि उकास्नका लागि समेत पालिकाले आफ्नै लगानीमा विभिन्न रोजगारमुखी कार्यहरुलाई अगाडी बढाउने जनाएको छ । यहि प्रकृया अन्तर्गत वडा नम्बर ६ लाई समृद्धि वडाको रुपमा विकास गर्न ओमसतिया गाउँपालिकाका अध्यक्ष मनजीत यादव तथा उपाध्यक्ष सुनिता चौधरी र प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीको सकारात्मक सहयोग रहेको वडा अध्यक्ष धवलले बताएका छन् । वडाले आफ्ना कर्मचारीलाई पनि जनमुखी सेवा र सकारात्मक कार्यका लागि प्रोत्साहन गर्ने गरेको छ । यसले गर्दा यो वडा विकास र समृद्धिको लयमा अगाडी बढेको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.