असलम खान । लुम्बिनीखबर
मर्चवार, २ कात्तिक । नेपालीहरुको महान चार्ड विजय दशमी, शुभदिपावली तथा छठ पर्व लगायतका चार्ड पर्वहरुको चहल पहल यतिबेला हरेक टोल टोल र घरघरमा बढेको छ ।
नेपालीहरुको मुख्य पर्व दशैँको चहलपहल सुरु भइरहेका बेला किसानलाई यहि बेला वर्ष दिन खाने खेती धान भित्राउने चटारो पनि उत्तिकै छ ।
प्रतिकुल मौषम पनि बनिरहेका बेला खेतमा काटेर सुकाइको धान पानीले भिजाउने डर छ भने कतिपयले धान थ्रेसर लगाएर भित्राइसकेका छन् भने बाँकी कम्पाइन हारवेस्टरबाट धानको कटाई भइरहेको अवस्था छ ।
मर्चवारका अधिकाशं किसानले यस पटकको धान स्यार्न व्यस्त छन् । यस पटक मर्चवारको समग्रमा धान उत्पादन राम्रो रहने किसानहरुको अनुमान रहेको छ । मर्चवारको केही भागमा जिङ्क तत्वको कमीका कारण खैरा रोग देखिएको भए पनि सामान्यतया धान उत्पादनमा ह्रास नै आउने गरी असर नभएको स्थानीय किसानहरुले बताउछन् ।
किसानलाई धान रोप्ने बेलामा र धान भित्राउने बेलामा पनि मौसमले साथ दिएकाले अघिल्लो वर्षकै हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ । अहिले किसानहरु खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् ।
सोमबार रातिको वर्षा र हवाहुरीले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् ।
मर्चवारमा धान खेती हुने क्षेत्रहरु खास गरी मायादेवी, कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकामा मौसमी अवस्थाा हेरेर धान काट्ने तयारी छ । किसानले धान रोप्ने बेला रसायनिक मलको अभाव झेल्नुपर्ने बाध्यताका कारण पनि उत्पादनमा सोचे अनुसारको प्रतिफल पाउन नसकिरहेको अवस्था रहेको छ ।