मो.असलम खान
मर्चवार । जिल्लाको कोटहीमाई गाँउपालिकामा दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
२० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेका छन्। बेपत्ता सन्तकुमारको खोजी भैरहेको प्रहरीले जनाएको छ । मृतक मध्यका अजयकुमार नाउँ प्रहरी जवान रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए। नाउँको पाल्पा दरबन्दी हो । अन्य डुबेकाहरूलाई बचाउका लागि खोलामा गएका नाउको पनि डुबेर मृत्यु भएको हो । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ। यहाँ विगतमा पनि दुर्गाको मुर्ती विर्शजन गर्दा मानिसहरुको डुबेर मृत्युहुने गरेको स्थानीयहरु बताउँछन् ।