बिशन गुरुङ्ग
सिद्धार्थनगर, कार्तिक १७ । पर्यटनक्षेत्रको उभारका लागि सिद्धार्थनगर नगरपालिकाले नयाँ योजनाका साथ कार्यक्रम शुरु गरेको छ । विशेष गरेर विदेशी पर्यटनलाई सिद्धार्थनगरमा भित्राउनका लागि नगरपालिकाले योजनाका साथ काम गरेको सिद्धार्थनगर नगरपालिकाको सूचना शाखाले जानकारी दिएको छ ।
नेपालमा सबैभन्दा धेरै पैदलमार्गबाट पर्यटक भित्रिने यो नगरले अब हवाई क्षेत्रबाटसमेत अत्याधिक पर्यटक भित्राउने पहल शुरु गरेको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईश्तियाक अहमद खानले जानकारी दिनुभयो ।
आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई चार्टर्ड विमानबाट आउनुभएका पर्यटकलाई स्वागत गर्दै यस्ता धेरै विमानहरु दैनिकरुपमा विमानस्थलमा अवतरण गराउने पहलमा आफूहरु रहेको नगरप्रमुख खानले बताउनुभयो । उहाँले नगरमा पर्यटनक्षेत्रको विकास महत्वपूर्ण रहेकाले सिद्धार्थनगरपालिकाले सहकार्य गरिरहेको जानकारी दिनुभयो ।
सयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गर्दा आफूलाई यो नगरको नगरप्रमुख भएकोमा गौरव लागेको बताउँदै आगामी दिनमा संसारका उच्च ओहोदाका व्यक्तित्वहरुलाई आमन्त्रण गरिने बताउनुभयो । सयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको आगमनसंगै लुम्बिनीमा पर्यटकको आर्कषण बढेको भन्दै सबैको सहकार्यमा पर्यटनक्षेत्रमा सफलता प्राप्त गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।
