परासी, २३ कार्तिक । परासी सूचना तथा सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको अध्यक्षमा राजकुमार रेश्मी सर्वसम्मत निर्वाचित हुनु भएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट रेश्मी आउँदो ४ वर्षकालागि सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस्तै संस्थाको उपाध्यक्ष पदमा नगेन्द्र अग्रहरी, सचिव पदमा तोरेन्द्र जिसी, कोषाध्यक्ष पदमा चन्द्रमणी चौधरी (सिएम) र सहसचिव पदमा गुरुदत्त पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै माधवप्रसाद पाण्डे, राज किशोर गुप्ता, विष्णुहरी नेपाल, उपेन्द्र गुप्ता, श्रद्धासुमन आचार्य र मुक्ति पौडेल सर्वसम्मत सदस्य पदमा निर्वाचित हुनु भएको निर्वाचन आयुक्त राजेन्द्र क्षेत्रीले ईलुम्बिनी खबरलाई जानकारी दिनु भयो ।
यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा पेउनारायण न्यौपाने, सदस्य पदमा तारादेवी शर्मा र गोविन्द न्यौपाने आउँदो ४ वर्षका लागि छैठौं अधिवेशनले सर्वसम्मतरुपमा चयन गरेको छ, भने जिल्ला सहकारी संघको प्रतिनिधिकोरुपमा शेयर सदस्य इन्द्रबहादुर क्षेत्रीलाई चयन गरिएको छ ।
यस अघि संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा साप्ताहिक कार्यक्रमको समापन तथा पुरस्कार वितरण गरेको थियो । सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा वक्तृत्वकला प्रतियोगितामा सफल विद्यालय र छात्रछात्रालाई पुरस्कृत गरिएको सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनु भयो ।